सिरिया युद्ध

अमेरिका चिढिएको पुटिनका यी परम मित्र

राष्ट्रपति बनेपछि बसर अल–असद । तस्बिर: गेट्टी इमेज

सिरियामा भइरहेको गृहयुद्धले विश्वलाई फेरि दुई ध्रुवमा बाँडेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस्सले त विश्वमा शीतयुद्ध फर्किएको र पहिलोभन्दा प्रतिशोधात्मक देखिएको बताइसकेका छन्। अमेरिका, बेलायत तथा फ्रान्सका सेनाले सिरियामा हवाई आक्रमण गरेका छन्। अर्को तर्फ रुस सिरियाली सेनाको साथमा छ।

अमेरिका र उसका सहयोगी देशले सिरियाली राष्ट्रपति बसर अल–असदले बिद्रोहीको कब्जामा रहेको पूर्वी गुटाको डुमामा रसायन आक्रमण गरेको आरोप लगाएका छन्। सिरिया तथा रुसले यो अस्वीकार गर्दै आएका छन्।

यो विवादको खेलमा एउटा अनुहारको निकै महत्वपूर्ण भूमिका छ र ती व्यक्ति हुन् सिरयाली राष्ट्रपति बसर अल–असद।

५२ वर्षका बसर अल–असद, जसले सात वर्षभन्दा लामो समयदेखि चलेको गृह युद्धका बाबजुद पनि आफ्नो सत्ता टिकाउन सफल छन्।

जसको सरकारले पूरै विश्वलाई ठूलो अकल्पनीय संघर्ष तर्फ डोर्‍याएको छ।

सिरियाली राष्ट्रपति बसर अल–असद र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन। तस्बिर: गेट्टी इमेज

नरुचाइएको सत्ता बिरासत
परिवारमा अप्रत्यासित विपद नआएको भए सायद बसर अल–असद नेत्रविज्ञ बन्ने थिए। उनका दाइ बासिल अल–असदको दुर्घटनामा ज्यान नगएको भए बसर अहिले सायद नेत्रविज्ञ हुने थिए।

खासमा असदको परिवारको सिरियामा गएको चार दशकभन्दा लामो समयदेखि शासन रहेको छ। बसरका पिता हफिज अल–असदलाई आधुनिक सिरियाका शिल्पीका रुपमा लिने गरिन्छ। सिरिया दशकौँदेखि धोका र धोकाले सिर्जिएको संघर्षमा जुधिरहेको थियो। सन् १९७० मा हफिज अल–असदले सिरियाली वायुसेनाका कमाण्डर र रक्षा मन्त्रीबीच बनाएको नेटवर्कको सहयोगबाट सत्ता हत्याए।

हफिजले यस्तो व्यवस्थालाई प्रोत्साहन दिए, जसबाट राज्यको नियन्त्रण अधिकांश रुपले उनमा पुग्यो। हफिजका जेठो छोरा बासिललाई उनका राजनीतिक उत्तराधिकारी मान्ने गरिएको थियो। उनी राष्ट्रपतिको सुरक्षा प्रमुख थिए। औपचारिक कार्यक्रममा उनी सैन्य बर्दीमा उपस्थित हुने गर्थे।

तर, सन् १९९४ मा भएको कार दुर्घटनामा बासिलको ज्यान गयो र बिरासतको जिम्मा हफिजका कान्छो छोरा बसर अल–असदको काँधमा आयो।

बसर र उनका पिता। तस्बिर: गेट्टी इमेज

राष्ट्रपति बने बसर
बसर अल–असदले सन् १९८८ मा दमासकस विश्वविद्यालयबाट नेत्र विज्ञानको अध्ययन गरेका थिए। उनी थप अध्ययनका लागि सन् १९९२ मा लण्डन गएका थिए। जब दाइको कार दुर्घटनामा ज्यान गयो उनी त्यसबेला लण्डनमै थिए। सत्ता सञ्चालनमा उनको रुचि कम थियो। तर बासिलको ज्यान गएपछि सत्ता सम्हाल्ने तयारीका लागि बसरलाई हफिजले फिर्ता बोलाए।

सन् १९९४ मा बसर ट्यांक बटालियन कमाण्डर बने, त्यसपछि सन् १९९७ मा लेफ्टिनेन्ट कर्णेल बने अनि सन् १९९९ मा कर्णेल भए।

सन् २००० मा बुवा हफिजको निधन भएपछि बसर अल–असद सिरियाका राष्ट्रपति बने। उनलाई एक नियन्त्रित तथा दमनकारी राजनीतिक व्यवस्था बिरासतमा मिल्यो। सिरियली शासकका नजिकका मानिसमा अलावी शिया समुदायका सदस्य थिए र बसरको परिवार पनि यही समुदायको हो। ७४ प्रतिशत सुन्नी समुदायको बसोबास रहेको सिरियामा अलावी शिया समुदायको बसोबास मात्रै ५ देखि १० प्रतिशत मात्रै छ।

आधुनिकतावादी एजेण्डामा काम गर्न पाएनन्
राष्ट्रपति भएका बेला आधुनिकता र इन्टरनेटको समर्थन गरेका बसरले देशमा नयाँ सिराबाट स्वतन्त्रता ल्याउने र सिरियाली बजारलाई खुल्ला गर्ने वचन दिएका थिए।

उनले ठूलो संख्यामा राजनीतिक कैदी बन्दीलाई रिहा गरे भने सञ्चारमाध्यममा लाग्दै आएको लगामलाई पनि केही खुकुलो बनाए। यो बीचमा उनले राजनीतिक बहस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्भिक भएर बोले असद।

बसर अल–असद र सिरियाका तत्कालीन राष्ट्रपति तथा असदका पिता हफीज परिवारका साथमा। यो तस्बिर सन् १९९० तिरको हो। तस्बिर: गेट्टी इमेज

तर, उनको खुलापनसहितको सुधारवादी प्रयास लामो समय चल्न पाएन। फेरिँदै गएको परिवेशबाट सेना, उनको पार्टी बाथ तथा अलावी सिया समुदाय निराश थिए। असुरक्षाको डर तथा अफ्नो प्रभाव कम हुने आशंकालाई मध्यनजर गर्दै उनीहरुले असदलाई सुधारवादको नीति त्याग्न दबाब दिए। त्यसपछि परिवर्तनको गति सुस्त मात्रै भएन, धेरै हदसम्म परम्परागत पुरानै स्थिति आयो।

विदेश नीति
विदेश नीतिको मामिलामा बसर अल–असदले आफ्नै बुवा हफिजको बाटो लिए। उनले इजरायलमाथि कठोर विदेश नीति लिए। उनले जबसम्म कब्जा भएको आफ्नो जमिन पूर्ण रुपले फिर्ता हुँदैन, तबसम्म शान्ति स्थापना नहुने कुरामा जोड दिए। उनले इजरायल विरोधी बिद्रोही समूहलाई साथ दिने क्रम जारी राखे।

सन् २००३ मा इराकमा अमेरिकाको नेतृत्वमा सुरु भएको सैन्य कारवाहीको उनले कडा आलोचना गरे। सिरियाले इराकका बिद्रोही समूहलाई समर्थन थियो । यसले गर्दा अमेरिका सिरियासँग रिसायो।

सन् २००५ मा लेबनानका पूर्व प्रधानमन्त्री रफीक हरिरीको हत्या भएपछि अमेरिका र सिरियाबिचको सम्बन्ध थप तनावपूर्ण बन्यो।

रफिकको हत्यामा सिरियाली राष्ट्रपति असद, उनको नजिक रहेका शिया बाहुल्य इनर सर्कल र सिरियाली सुरक्षा सेवाको हात रहेको आरोप लाग्यो।

असदलाई रुस, इरान र इरानको समर्थन रहेको लेबनानको बिद्रोही समूह हिजबुल्लाहबाट बलियो कुटनीतिक तथा सैन्य सहयोग प्राप्त भइरहेको थियो।

युद्धले भग्नावशेष बनाएको सिरियाली शहर। तस्बिर: एएफपी

अरब अपराइजिङ्गले के गर्‍यो?

सन् २०११ मा अरब अपराइजिङ्गले ट्युनिसिया र इजिप्टमा सत्ता परिवर्तन गर्‍यो। त्यसको प्रभाव सिरियामा पनि आन्दोलन सुरु भयो। असदले सिरियामा यस किसिमको आन्दोलन सुरु नहुने बताएका थिए। तर २०११ को मार्चमा आन्दोलन सुरु भयो।

ठूलो संख्यामा मानिसहरु असदको विरोधमा बाटोमा आए। त्यसक्रममा दुई हजारभन्दा बढीको ज्यान गयो। असदले प्रदर्शनकारीको माग पूरा गर्न मानेनन्। प्रदर्शनकारीलाई दबाउन हिंसाको सहारा लिए। यसले प्रदर्शन गृह युद्धमा परिणत भयो।

असदको सेना अहिले पनि सुरुमा प्रदर्शन गरेका र त्यसपछि हतियार उठाएका बिद्रोही अनि इस्लामिक स्टेट आइएससँग लडिरहेका छन्।

सात वर्षभन्दा बढी समयदेखिको गृह युद्धका कारण एक करोड भन्दा बढी मानिस विस्थापित भएका छन्। असद अहिले पनि सत्तामा आफ्नो पकड कामय राखिरहनका लागि संघर्षरत छन्।

सिरियाको आन्तरिक मामिलामा अहिले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्तिले दखल दिएका छन्। इरान तथा रुसले सिरिया सरकारलाई सैन्य तथा आर्थिक सहयोग गरिरहेका छन्। सुन्न समुदायको बाहुल्य रहेको सिरियाली विपक्षीलार्य खाडी देश, टर्की र पश्चिमी देशले साथ दिँदै आएका छन्।

पक्ष र विपक्षमा रहेकाले यो युद्धको अन्त्य राजनीतिक वार्ताबाट गर्न सकिने बताउने गरेका छन्। तर त्यसका लागि युद्ध विरामको प्रयास भने असफल हुँदै आएको छ । संयुक्त राष्ट्रसंघले पास गरेको युद्ध विराम प्रस्ताव पनि लागु हुन सकेन।

यसले सिरियाली गृह युद्धको अन्त्यका लागि असद सत्ताको अन्त्य नै एकमात्र विकल्प रहेको एक पक्षको मत छ भने अर्को पक्षले उनको साथ दिँदै आएको छ । धेरै जानकारले बसर वास्तविक रुपमा सुधारवादी रहेको तर उनको वरिपरि रहेका उनका पिताका परम्परावादी गुटका कारण उनी विवश रहेका छन् ।

स्रोत: बिबिसी

बैशाख २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्