शिक्षामन्त्रीले भने, जीवन र मानवतामुखी शिक्षा आवश्यक

गणितको डिक्सनरी र अमर पुस्तक विमोचन गर्ने क्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल र पुस्तकका लेखकलगायत। तस्बिर: देशसञ्चार

काठमाडौँ- शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले जीवन, देश र मानवतामुखी शिक्षा आजको आवश्यकता भएको बताएका छन्।

ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै उनले आइतबार भने, ‘हामीले त शिक्षक नदेखेरै पढ्दै आयौँ, पुरानो कुरा नगरौँ, सबै कुरा बदलिएको छ, अब शिक्षा प्रणाली पनि बदलिनु पर्छ।’

शिक्षा कुनै क्याप्सुल नभएको भन्दै उनले कुन विधिले दिँदा विद्यार्थीले सिक्नसक्छ त्यो प्रणालीले शिक्षा दिनुपर्ने बताए। गुणात्मक शिक्षा र त्यसको सिकाइका पक्षमा सरकार रहेको र त्यो निर्माणको पक्षमा आफू रहेको पनि उनले बताए।

यसलाइ पूरा गर्न सकिन्छ त? आफूमाथि उनको प्रश्न थियो।

सिकाइ समूहले प्रकाशन गरेको हरिनारायण उपाध्यायको ‘गणितको डिक्सनरी’ र मोहनकुमार दाहालले अनुवाद गरेको ‘अमर पुस्तक’ विमोचन कार्यक्रममा बोल्ने अधिकांशले पाठ्यक्रमबिनाको शिक्षा प्रणाली सुरु गर्नु पर्नेमा जोड दिएका थिए।

‘जुम्लाको विद्यार्थीले पाठ्यक्रममा भएको चितवनको बारेमा पढ्छ तर पाठ्यक्रममा नभएका कारण जुम्लाको आफ्नै बारेमा भने पढ्न पाउँदैन,’ एक प्रधानाध्यापकको तर्क थियो।

लेखक उपाध्यायले ‘गणितमा सबै छ सबैमा गणित छ’ भन्ने मेरो विचार हो भन्दै २०५२ सालबाट यो किताब लेख्न सुरु गरेको बताए। किताब ६ देखी १२ कक्षासम्मका विद्यार्थीलाइ उपयोगी हुने उनले बताए।

किताबमा चित्रसहित गणितको सुत्र तथा त्यसको प्रयोगको बारेमा खुलाएर लेखिएको छ। यो किताबले पाठ्यक्रमबाहेक विद्यार्थीलाइ गणित सम्बन्धी थप जानकारी दिने उनले बताए।

कार्यक्रममा सम्बोधन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेल। तस्बिर: देशसञ्चार
बैशाख २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्