ह्वात्तै घट्यो राजस्व, यी हुन् सात कारण

काठमाडौँ- चैत मसान्तसम्ममा लक्ष्यभन्दा १५ अर्ब रुपैयाँ कम राजस्व सङ्कलन भएको छ। सरकारले उक्त अवधिमा ४ खर्ब ९२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ४ खर्ब ७७ अर्ब रुपैयाँ मात्र सङ्कलन भयो।

गत वर्ष बजेट बनाउँदा करका दर र दायरा नबढाई हचुवाका भरमा राजस्व सङ्कलनको उच्च लक्ष्य राखिँदा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भइरहेको अर्थ मन्त्रालय स्रोतको भनाई छ। आन्तरिक राजस्व विभागले बजार अनुगमन गर्न नसक्दा आयकर सङ्कलनमा पनि गिरावट आएको उनको भनाइ छ।

व्यवसायीले बुझाउने आय व्यय विवरणमा आन्तरिक राजस्व विभागले छानबिन नगर्दा आयकर कर छली बढेको श्रोतको दाबी छ। २ हजार ५ सय रुपैयाँको कर चुक्ता प्रमाणपत्रका आधारमा बैंक वित्तीय संस्थाबाट करोडौं ऋण लिँदा पनि आन्तरिक राजस्व विभागले अनुगमन गर्न नसकेको अर्थ मन्त्रालयकै कर्मचारी बताउँछन्।

यता आन्तरिक राजस्व विभागका उप महानिर्देशक यज्ञ प्रसाद ढुंगेलले आयल निगम, बैंक वित्तीय संस्था र दुर-सञ्चार कम्पनीको नाफामा गिरावट आउँदा लक्ष्य अनुसारको कर सङ्कलन हुन् नसकेको बताएका छन्।

भन्सार विभाग श्रोतले सन्दर्भ मूल्य सूचीमा कडाइ गरिँदा भन्सार राजस्व घटेको बताएको छ। यस्तै बैंक वित्तीय संस्थाले हायर पर्चेज कर्जामा कडाई गर्दा गाडीको आयात घटेकाले पनि भन्सार राजस्वमा गिरावट आएको श्रोतको भनाइ छ।

वीरगञ्ज भन्सार सीमामा भन्सार क्लियर नगरी गाडीहरु राखिएको वीरगञ्ज भन्सार श्रोतले जनाएको छ। गाडीको आयातमा गिरावट आउँदा वीरगञ्ज भन्सारले लक्ष्य भन्दा ५ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ।

चालु आर्थिक वर्षका ९ महिनामा सरकारले पुस बाहेक कुनै पनि महिनामा लक्ष्य बमोजिम राजस्व सङ्कलन गर्न सकेको छैन। फागुन मसान्तसम्ममा लक्ष्य भन्दा ११ अर्ब रुपैयाँ कम सङ्कलन भएको थियो। सरकारी अधिकारीले चैत मसान्तमा आयकरको तेश्रो किस्ता सङ्कलन हुने हुँदा लक्ष्य बमोजिम राजस्व सङ्कलन हुने दाबी गरेका थिए।

पुस मसान्तमा आयकरको दोश्रो किस्ता सङ्कलन हुँदा समग्र राजस्व लक्ष्य पुरा नहुँदा पनि पुस महिनाको लक्ष्य पुगेको थियो। तर चैत मसान्तमा सरकारी अनुमान बिपरित आयकर सङ्कलनमा ठुलो गिरावट आएको छ।

चैत मसान्त सम्म आन्तरिक राजस्व विभागलाई २ खर्ब १२ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिइएकोमा २ खर्ब ५ अर्ब रुपैयाँ मात्र सङ्कलन भएको छ।

करको आन्तरिक श्रोत कमजोर हुनु अर्थतन्त्रका लागि चिन्ताको बिषय भएको अर्थशास्त्रीहरुले बताएका छन्।

भन्सार विभागले भने लक्ष्य भन्दा १५ अर्ब कम राजस्व उठाएको हो। चैत मसान्त सम्म भन्सार विभागलाई २ खर्ब ३४  अर्ब रुपैयाँ लक्ष्य दिइएकोमा २ खर्ब १९ अर्ब रुपैयाँ मात्रै सङ्कलन भएको छ।

गैर कर राजस्व भने लक्ष्य भन्दा ७ अर्ब बढी सङ्कलन भएको छ। चैत्र मसान्तसम्म गैर कर राजस्व लक्ष्य  ४६ अर्ब रुपैयाँ भएकोमा ५३ अर्ब रुपैयाँ सङ्कलन भएको छ।

चैतमा मात्र लक्ष्य भन्दा १२ अर्ब कम राजस्व उठ्यो

चैत महिनामा सरकारले ८२ अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ७० अर्ब ६९ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ।

आन्तरिक राजस्व विभागलाई ३७ अर्ब ९४ करोड रुपैयाँ  राजस्व सङ्कलनको लक्ष्य दिइएकोमा ३६ अर्ब ३१ करोड मात्र सङ्कलन भएको छ।

यस्तै भन्सार विभागको लक्ष्य २९ अर्ब ३१ करोड रुपैयाँ भएकोमा २६ अर्ब ८८ करोड रुपैयाँ मात्र सङ्कलन हुन् सक्यो।

चैतमा फागुन मसान्तसम्म उच्च दरमा उठिरहेको गैर कर राजस्वमा पनि गिरावट आएको छ। फागुनसम्म लक्ष्य भन्दा १४ अर्ब रुपैयाँ बढी कर सङ्कलन भएकोमा चैतमा भने लक्ष्य भन्दा ७.५ अर्ब रुपैयाँ कम राजस्व सङ्कलन भयो। चैतमा १५ अर्ब रुपैयाँ गैर करको लक्ष्य भएकोमा ७ अर्ब ५० करोड रुपैयाँ मात्र सङ्कलन हुन् सक्यो।

राजस्व सचिव शिशिर ढुंगानाले कर सङ्कलनमा गिरावट आएका बिषयमा सूक्ष्म अध्ययन गरिरहेको बताए। उनले भने, ‘कर लाग्ने सामग्रीको आयातमा गिरावट हुँदा भन्सार राजस्वमा गिरावट आए पनि आन्तरिक राजस्व विभागले लक्ष्य बमोजिम कर सङ्कलन गर्न नसक्नु चिन्ताको बिषय हो।’

उनी चालु आर्थिक वर्षको ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्न सरकार प्रतिवद्ध भएको बताउँछन्।

तर अर्थ सम्बद्ध अधिकारीहरुले चालु आर्थिक वर्षमा लक्ष्य बमोजिमको राजस्व सङ्कलन हुन् कठिन भएको बताएका छन्।

बैशाख २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्