दुई बालबालिकाको अभिभावक बन्दै विद्यालय पुगे मुख्यमन्त्री गुरुङ

फाइल तस्बिर

पोखरा- विपन्न वर्गका बालबालिकालाई शिक्षाको पहुँच पुर्‍याउन प्रदेश ४ मा पनि आइतबार राष्ट्रिय भर्ना अभियान सुरु गरिएको छ।

प्रदेश नंं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुृई बालबालिकाको विद्यालय भर्ना गराएर कार्यक्रमको शुभारम्भ गरे।

उनले पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा एक कक्षामा ५ वर्षीय शिला जिरेल र अभिषेक नेपाली भर्ना गराएर अभिभावकत्व ग्रहण गर्दै कार्यक्रमको शुभारम्भ गरे। कार्यक्रममा बोल्दै उनले कुनै पनि बालबालिका कुनै पनि बहानामा पढाइबाट बञ्चित हुन नहुने धारणा राखें। राष्ट्रिय भर्ना अभियानले शिक्षाको पहुँच बाहिरका बालबालिकालाई समेट्ने विश्वास उनको थियो। ‘आज दुई बालबालिकाको अभिभावक भएको छु, निकै खुशी लागेको छ। उनीहरुले पढ्न चाहे सम्मको सम्पूर्ण खर्चको प्रबन्ध म गर्नेछुु,’ उनले सरकारी विद्यालयको शिक्षमा सुधार ल्याउन अभिभावकहरु पनि लाग्नु पर्ने बताए।

दुई बालबालिकालाई मुख्य मन्त्रीले आफैँ डोर्‍याएर विद्यालय पुर्‍याएका थिए। जिरेलका अभिभावक दोलखामा भूकम्पले घर भत्किएपछि पोखरामा मजदुरी गर्दै आएका छन् भने दरौंसिरुवारी घर भई हाल पोखरा बस्दै आएका नेपालीका बुबा दीर्घरोगी छन् भने आमा मजदूरी गर्छिन्।

कार्यक्रममा उपजिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले सरकारी विद्यालयको गुणस्तरीय बनाउन विविध कार्यक्रमका साथ अघि बढ्नु पर्ने बताए। उनले विद्यालय सुधारका लागि सरकारसँगै अभिभावक र शिक्षकको संयुक्त प्रयास आवश्यक रहने औँल्याए। महानगरपालिका ७ का वडाध्यक्ष रामचन्द्र बरालले भर्ना अभियानले सरकारी विद्यालयमा विद्यार्थीको संख्या बढाउने र अभिभावकमा पनि सरकारी स्कुलप्रति विश्वास बढ्दै लैजाने विश्वास ब्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीले विद्यालयमा कक्षा ८ सम्म अंग्रेजी माध्यममा पढाइ सञ्चालन भएको र कक्षा १० सम्मै अंग्रेजी शिक्षा बनाउने बताए। विद्यालयमा ४ सयभन्दा बढी विद्यार्थी छन्। अहिले ६० जना नयाँ विद्यार्थी भर्ना भएको विद्यालयका प्राध्यापक केदारनाथ अधिकारीले जानकारी दिए।

बैशाख २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्