कथा

यो वैशाख, त्यो प्रेम

बैशाख पूर्णिमा मनाउन ऊ गाउँ आएकी छे।

‘देउता पनि पूज्छन् रे?’

‘अनि के तिमीचाहिँ अल्लाहा?’

‘नाम पो फरक हो सबै देउतै त हुन्?’

बिहानको घामसँगै त्यो घरअघिको धारामा मस्तसँग नुहाइरहेकी थिई।

कतिबेला माथि चौतारमा उक्लिसकिछे। पत्तै पाइनँ।

‘तँ त बड्डो भैगेछस् जेठा?’

माथिल्लो घरकी बोईले मलाई किन बुढो देखिन्?

नजिकै त्यो छे, जो मलाई अझैं तन्नेरी ठान्छे।

‘रौं सेता भए भनेर हुन्छ ?’ केटीसँग गफ गर्न लाग्या बेला बुढो? सुढो भन्दिरै’छिन्।’

एकचोटि त झनक्क रिस पो उठ्यो।

‘धेरैपछि नेपाल आयौ नि?’

‘तिमीलाई भेट्न नि?’

आहा! उसका मसिना दाँतहरु कति मिलेका।

सिक्स प्याकवाला टाइगर सर्राफको अंगालोमा हाँसिरहेकी श्रद्धा कपुरजस्तै। नेपाल र इन्डियाभरिका तरुना तन्नेरीहरुको दिलदिमागमा घुमिरहेको थियो ‘बागी।’

‘सिनेमा त खुब हेर्छ्यौ नि?’

‘हो?’

‘बागी स्टाइलका लभचक्कर?’

उसले कपाल झट्कारी। पानीका मसिना थोपाजति मलाइ स्पर्श गरे।

‘मालुम छैन ।’

सायद त्यसलाई कसैले पागलपन भन्छ होला जसलाई म प्रेम भन्छु ।

तर यतिबेला त मेरो आकाश रित्तिएको छ। ताराहरु चम्किन छाडेका छन्। फेरि यस्तो लाग्थ्यो यो पृथ्वी पनि उल्टिदैं छ।

म के गर्दाे हुँ त्यतिबेला? तर, मेरो अघि त्यो धर्ती छ, जसले मेरो लाखौं जीवन धान्नसक्छ। म निर्धक्क छु।

उसका आमा, बा सुकुम्वासी हुन्। हामीजस्तै।

उनीहरुसँग पनि एक टुक्रा जमीन छ, घर छ। चारहाते आँगनमात्रै।

ऊ जन्मिँदा उसकी आमाले धेरै पिर्टाई खानुपर्‍यो। थुप्रै पीडा दिए उसका बाबुले। कारण ऊ छोरी थिई । त्यसको चोट आमालाई पो!

‘छोराछोरी दुवै बराबरी…’ हामी सँगै स्कूलमा त्यो नारा घोक्थ्यौं। घर जाँदा थोत्रो लाग्थ्यो।

त्यसै बेला हो, अहिले पनि याद ताजै छ। गर्मीको बेला बिहानै लाग्ने स्कूलमा हामी ‘नयाँ’ गहुँका रोटी लैजान्थ्यौँ। मध्यान्तरमा, आधा रोटी मलाइ नदिई उसले कहिल्यै आफूले खाइन। म जति दिन स्कूल गइँन, त्यत्ति दिनसम्म उसले मेरो नामका रोटीका टुक्राहरु सम्हालेर राखेकी हुन्थी।

आज त्यो निकै राम्री भएकी छे।

‘कुनै राजकुमार माग्न आए पनि मेरी छोरी त दिन्नँ ।’

अघिल्लो दिन भट्टीमा थिए उसका बाबु। धेरैपछि ‘इन्डिया’बाट आएका छन्, कस्को कति तागत ? देखाउने ठाउँ त्यही भट्टी थियो।

‘तर मैले त आफैं उठाएर लैजान्छु।’

म पनि के कम ? त्यसमाथि मैले उसको बाबुमाथि लगानी गरेको थिएँ। दशवाला तीनवटा ‘गिलास’ भरेर।

‘छ्या बिहानै बिहानै कस्तो कुरा गरेको।’

‘तिम्रा बाबु पट्टीइसके।’

म उसको हात समाउने प्रयासमा छु ।

‘कू हू….. कू हुँ ….’ त्यो कोइलीलाई फेरि त्यति बेलै कराउनुपर्ने? ‘पट्याउने मलाई कि ? बा?लाई ?’

ऊ फेरि हाँसी।

कतिपछि उसलाई मैले नजिकैबाट हेर्न पाएको छु।

लाग्थ्यो मानौं मैले आकाशै पाएछु, चन्द्रमालाई मुसारीरहन।

न त म सेक्सपियर हुँ न त, ऊ मेरो लागि ‘समरर्स डे’।

र, पनि लाग्थ्यो, मेरो हृदयमा सधैं झङ्कृत भइरहने एउटा सुन्दर कविता थिई ऊ। तर, म के थिएँ?

म त्यही चाहन्थेँ कि त्यो कविता कसैले पनि पढ्न नसकून्। त्यसैले त त्यो कविताको पाण्डुलिपी मुटुको एक कुनामा छ अझैँ पनि। हरफहरु जीवन्त लाग्छन् तर, म त्यसलाई प्रकाशन गर्नेछैन कहिल्यै।

आज त्यो बोल्दैने। हाँस्छे मात्रै। किन हो कुन्नी?

त्यो एउटा नयाँ साल थियो। थाहा छैन त्यो अहिले कस्ती छे।

तर, त्यतिबेला त भर्खरै उदाएकी जुन थिई त्यो।

आज उसलाई जिन्दगीको कुनै क्षण ‘मालुम’ छ कि छैन कुन्नी तर, म भने हरेक बैशाखमा त्यो बैशाख सम्झिन्छु।

म किन त्यो ‘भूपू’ प्रेममा कल्पिरहँदो हुँ?

अनि किन त्यसैलाई सम्झिरहन्छु?

कहिले त, लाग्छ त्यो हत्या भइसकेको प्रेमलाई सम्झिनुको कुनै अर्थ छैन। तर, फेरि घाइते मन छ। मलम त उसैले लिएर गई।

पारिबाट एक हुल गाई, गोरु आउँदैछन्।

‘जाउँ देख्छन्।’

उसले मेरो हात तानी। अब म तुरुन्तै हिंड्ने पक्षमा थिइनँ, ताकि उसको स्पर्श नटुटोस्।

त्यो पहिलो स्पर्श थियो, हाम्रो। मैले त चाहेको मात्रै हो। तर, त्यो इच्छा उसले पूरा गरिदिई।

अब त, लाग्यो उसले पनि पक्कै मलाई माया गर्दिरै’छे।

आज त लाग्छ, एकपालि कसैले छुँदैमा मायाप्रिती गाँसिन्न रै’छ। प्रेम हुन त मन पो छुनुपर्ने रै’छ त।

आज वैशाख १ गते।

म त्यो स्मृतिमा निकैं डुबेको छु। उफ्रेर पनि कहाँ जाउँ? म फेरि त्यहीं खसिदिन्छु।

‘गाउँ त अर्कै भएछ है?’

प्रत्येक सालका अंकहरु फेरिन्छन्। त्यहाँका पालुवाहरु फेरिन्छन्। क्यालेन्डरका पानाहरु फेरिन्छन् अनि फेरिन्छन् तन र मनहरु। फेरि फेरिन्छन्, जीवनहरु। तर, ऊ प्रतिको मेरो त्यो प्रेम सधैं बैशाख बनिरहेको छ, फेरिन्न कहिल्यै पनि।

र, पनि फेरिएका छन्, उसको र मेरो जीवन।

आज जीवनको कुनचाहिँ डिलमा ऊ सुस्केरा हालेर बसिरहेकी होली।

सुने त म दौडेर जानेथेँ अनि भन्नेथे ‘किन नेपाल आउँदिन्यौ?’

‘जोडी त खुब मिल्या छ नि जेठो?’

गाउँघरको साइनोमा ती मेरी फुपु नाता पर्छिन्, जहिलेदेखि नाता लाएँ उनलाई मैले घाँस र, दाउराको भारीसँग मात्रै भेटेको छु।

उनले मुन्टो माथि फर्काएकी छिन्।

‘भारी खस्ला नि ?’ मैले कुरा मोड्न खोजेँ। सायद बितेको वैंशमा उनी पनि कम्ती थिइन्, भनिहालिन् ‘अलि पर जाओ देख्लान नि अरुले?’

ऊ लजाई। मानौं बाऊ, आमा लगेर म उसलाई ‘हेर्न’ गएको छु।

यो वैशाख पूर्णिमा मनाउन ऊ गाउँ आई कि आइन् कुन्नी म नगएको धेरै वैशाख बितिसके।

सुनेथेँ ऊ अब बिहे गरेर आमा पनि बनिसकी छ।

अब त हाम्रो विगत उसलाई ‘क्या मालुम?’

त्यसो त म पनि छु। ऊ आमा बनी। म बाबु। तर उसको छोरीको बाउ अर्कै हो, मेरो छोराका आमा अर्कै। तर, उसलाई गर्ने प्रेम त्यही। यही बैशाखजस्तै।

बैशाख ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्