हार्‍यो म्यानचेस्टर युनाइटेड, उल्झनमा खेलाडी

जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको महत्वपूर्ण खेलमा पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा पुछारको वेष्ट ब्रोमसँग अप्रत्यासित रुपमा १–० ले युनाइटेड पराजित भएसँगै म्यानचेस्टर सिटीले उपाधि पक्का गरेको छ । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ७३ औँ मिनेटमा जे रोड्रिग्वेजले गरेको गोल नै वेष्ट ब्रोमको जितमा निर्णायक बन्यो ।

यो जित वेष्ट ब्रोमका लागि भन्दा पनि सिटीका लागि फाइदाजनक बन्यो । उपाधिका लागि एक जित वा म्यानचेस्टर युनाइटेडको हारको खाँचो रहेको सिटीले लिगका पाँच खेल बाँकी हुँदै उपाधि पक्का गर्न सफल भयो ।

रेलिगेशनमा पर्ने लगभग पक्का जस्तै रहेको पुछारको टिम वेष्ट ब्रोमसँग दोस्रो स्थानमा रहेको युनाइटेड अप्रत्यासित रुपमा घरेलु मैदानमै पराजित भएको हो ।

हारपछि युनाइटेडका प्रशिक्षक मोरिन्होले आफ्ना खेलाडी गम्भीर उल्झनमा रहेको बताएका छन् । रामेलु लुकाकुले हेडर मार्फत गोल गर्ने प्रयास गरेका थिए । तर वेष्ट ब्रोमका गोलरक्षकले सुन्दर बचाउ गरे ।

हारपछि युनाइटेड पाँच खेल बाँकी हुँदा उपाधि पक्का गरेको सिटी भन्दा १६ अंकले पछि रहेको छ । सिटीको ८७ अंक छ भने युनाइटेडको ७१ अंक छ । लिग अन्तर्गत आइतबार राति नै भएको अर्को खेलमा आर्सनल न्युक्यासलसँग २–१ पराजित भयो ।

बैशाख ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्