ओली र दाहालको छलफलले अघि बढाउला पार्टी एकता ?

फाइल फोटो।

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता बारेमा सोमबार छलफल हुँदैछ। लामाे समयदेखि अलमलमा रहेकाे  पार्टी एकताका विषयमा  दुई नेताबिच छलफल सुरु भएकाे हाे ।

यद्धपी, प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालको छलफलपछि पनि पूर्व घोषित मिती वैशाख ९ गते नै पार्टी एकता हुनेमा भने आंशका कायमै छ।

माओवादी अध्यक्ष दाहाल सिन्धुपाल्चोकको सुकुटेमा एक रात आराम गरेपछि प्रधानमन्त्री केपी ओलीलाई भेट्न ओली निवास बालुवाटार पुगेका छन्।

आरामका लागि दाहाल सुकुटे पुगेपछि आइतबार बिहान हुने भनिएको एमाले र माओवादी वार्ता पनि स्थगित भएको थियो।

गत चैत २१ गते वाम गठबन्धनका शीर्ष नेताहरुले वैशाख ९ गते पार्टी एकीकरणलाई औपचारिकता दिने घोषणा गरेका थिए।

त्यसपछि प्रधानमन्त्री ओलीको भारत भम्रण, काठमाडौं फर्खेपछि बढेको उनको व्यस्तता र रारा भ्रमणले पार्टी एकताबारे माओवादी अध्यक्ष दाहालसँग छलफल हुन सकेको थिएन।

प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि एकतामा बाधक बनिरहेका प्राविधिक विषयमा थप छलफल गरी सहमतिमा पुग्नका लागि डाक्ने भनिएको एकता संयोजन समितिको बैठक समेत बस्न नसकेपछि तोकिएकै मितिमा एकता हुने आशंका उब्जिएको हो।

चुनाव चिह्न, विधानको प्रस्तावनामा जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने दुवै दलका सदस्य संख्या लगायत विषयमा एमाले र माओवादीबिच सहमति हुन नसकेको बताइएको छ।

बैशाख ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्