विद्यालय उमेरका बालबालिका होटलमा श्रमिक

लमहीमा बालश्रमिकको तथ्यांक संकलन गर्ने क्रममा भेटिएका बालश्रमिक । तस्बिरः दशरथ घिमिरे/देश सञ्चार

दाङ– सरकारले सबै बालबालिका शिक्षाबाट वञ्चित नहुन् भनेर विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । तर लमही क्षेत्रका होटलहरुमा विद्यालय जाने उमेरका बालबालिकाहरु काम गरिरहेका छन् । स्थानीय सरकारले होटलमा मजदुरको रुपमा काम गरिरहेका बालबालिका देखे पनि उनीहरुलाई व्यवस्थापन गर्न ध्यान दिएको छैन ।

बेलाबेला होटलमा श्रमिकको अनुगमन गर्ने बाहेक व्यवस्थापनका काम भएका छैनन् ।

बालश्रमिकले विद्यालय जाने रहर भएपनि घरको आर्थिक अवस्था कमजोर भएकै कारण श्रममा लाग्नुपरेको बताएका छन् । होटलमा श्रम गरिरहेका बालबालिका जिल्ला बाहिरका धेरै छन् ।

प्यूठान, बर्दिया, रोल्पा लगाएत जिल्लाका बालबालिका दाङका होटलमा काम गरिरहेका छन् । जिल्ला शिक्षा कार्यालय दाङले दिएको जानकारी अनुसार १२ सय बढी विद्यार्थी विद्यालय बाहिर छन् । सडक बालबालिका, होटलमा काम गर्ने बालश्रमिक र अनेत्रबाट बसाई सराई गरेर आएका अभिभावकका छोराछोरी विद्यालय बाहिर छन् ।

विद्यालय जाने उमेरका बालबालिकालाई होटलमा कामदारको रुपमा राखिएको छ । यसरी उमेर नपुगेका बालबालिकालाई कामदारको रुपमा राख्नु कानूनी अपराध भए पनि होटल सञ्चालकले बालबालिकालाई श्रमिकको रुपमा राखेको पाइएको जिल्ला शिक्षा अधिकारी रमेश प्रसाद मैनालीले बताए ।

बालबालिकालाई कामदारको रुपमा राख्दा थोरै पैसामा धेरै काम गराउन सक्ने भएकाले होटल सञ्चालक बालबालिकाालाई राख्न जोड गर्छन् । १८ वर्ष माथिका कामदार राखे ज्याला धेरै दिनुपर्ने भएकाले होटल सञ्चालक कामदारका रुपमा बालबालिका खोज्छन् ।

नेपालको संविधानमा प्रत्यक नागरिकलाई आधारभुत शिक्षामा पहुँचको हक हुनेछ भने स्पष्ट उल्लेख गरेको छ । तर संविधानमा उल्लेख भएको अधिकार विपरित बालबालिकाहरुलाई श्रममा लगाएर शिक्षाको पहुँचबाट टाढा राख्न खोजिएको छ ।

केही दिन अघि लमहीका २० वटा होटलमा गरिएको अनुगमनको क्रममा १२ जना बालबालिकाहरु श्रमिकको रुपमा भेटिएका छन् । जस मध्य ५ जना १४ वर्ष भन्दा मुनिका छन् । लमही नगरपालिका भित्र विभिन्न क्षेत्रमा झण्डै एक सय बालवालिकाहरु श्रममा लागेको हुन सक्ने अनुमान गरिएको छ ।

होटल संचालक उमेर ढाँट्न लगाउँछन्

होटलमा कामदारको रुपमा रहेका बालबालिकालाई अनुगमनमा आउने टोलीसँग उमेर ढाँट्न होटल सञ्चालकले नै लगाउने गरेका छन् । कम उमेरका बालबालिकाले अनुगमनमा आउने टोलीसँग १८ वर्ष भन्दा माथि उमेर बताउने गरेका हुन् । होटलमा खाना पकाउने, भाँडा माझ्ने लगाएतको काम गर्ने बालबालिकाले सञ्चालकको डरले उमेर समेत ढाँटेको पाइएको छ ।

दाङ देउखुरी होटल व्यवसायी समिति ईकाइ लमहीका अध्यक्ष हिमन्तप्रसाद पाण्डेले आफ्नो कार्यक्षेत्र भित्रका होटहरुमा श्रमिकका रुपमा बालबालिका प्रयोग नगर्न बारम्बार आग्रह गरिएको बताए ।

तर, होटल व्यवसायी समितिमा आवद्ध पदाधिकारीकै होटलमा बालश्रमिक रहेका छन् । लमही नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिमवहादुर केसीले लमही क्षेत्रमा बालश्रम धेरै देखिनु चिन्ताको विषय भएको भन्दै यसलाई हल गर्नको लागि आफूहरुले योजना बनाउने बताए ।

श्रमिक बलबाललिकाले आफूहरुले बाध्यता र समस्याकै कारण श्रम गर्न बाध्य रहेको बताइरहँदा स्थानीय तहले श्रमिक बालबालिकालाई कसरी व्यवस्थापन गर्ने र उनीहरुलाई श्रमबाट कसरी छुटकारा दिने भन्ने विषयमा योजना बनाउन आवश्यक रहेको अधिकारकर्मी निर्मल नेपालीले बताए ।

अहिले नै बालबालिकालाई पेशाबाट निकाल्दा उनीहरुको सुरक्षा नहुने भन्दै यस विषयमा आफू संवेदनशिल रहेकाले छिट्टै हल खोज्ने लमही नगरपालीकाका प्रमुख कुलबहादुर केसीले प्रतिबद्धता जनाए ।

बैशाख ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्