मातातिर्थ औँसीका केही तस्बिर

अरुको लाखभन्दा आमाको काख

काठमाडौं – वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी सोमबार मनाइँदैछ ।

यस वर्षको आमाको मुख हेर्ने औँसी सोमबार परेको छ ।

आजको दिन दिवंगत आमाको सम्झनामा काठमाडौंको थानकोटमा रहेको मातातीर्थमा मेला लाग्छ । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गरेका छन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’ को मूर्ति पनि स्थापना गरिएको छ । यसले गर्दा मातातीर्थको आकर्षण बढाएको छ ।

मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित एउटा कथा यस्तो छ । कथा अनुसार धेरै वर्ष पहिले त्यस ठाउँमा गाईबस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्काे टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो ।

अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेको रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए । कथाअनुसार पहिलोचोटी रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो ।

दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेहरूले औँसीका दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाइ त्यसको नाम मातातीर्थ राखे ।

यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो ।

 

बैशाख ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्