९ महिनामा नेपाल आयल निगमको नाफा ६ अर्बले घट्यो  

फाइल तस्बिर।

काठमाडौं- चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल आयल निगमले ६ अर्ब रुपैयाँ कम कमाएको छ। गत वर्ष ९ महिनामा करिब ९ अर्ब रुपैयाँ नाफा कमाएको निगम चालु आर्थिक वर्षमा ३ अर्बमा सिमित भएको हो।

नाफामा आएको गिरावट सँगै आयल निगमले चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको तुलनामा १ अर्ब २० करोड रुपैयाँ कम आयकर तिरेको हो।

निगमको नाफामा गिरावट आउँदा सरकारको राजस्व सङ्कलनमा पनि प्रत्यक्ष प्रभाव परेको छ।

आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको ९ महिनामा लक्ष्य भन्दा ७ अर्ब रुपैयाँ कम सङ्कलन गरेको छ। विभागको लक्ष्य २ खर्ब १२ अर्ब रुपैयाँ भएकोमा २ खर्ब ५ अर्ब रुपैयाँ मात्र सङ्कलन हुन् सक्यो।

गत वर्ष चैत मसान्त सम्म २ अर्ब १० करोड रुपैयाँ आयकर तिरेको निगमले चालु आर्थिक वर्षको ९ महिनामा ९० करोड रुपैयाँ मात्र आयकर तिरेको छ।

आयल निगमका प्रवक्ता विरेन्द्र गोईतले नाफामा गिरावट आउँदा सरकारलाई बुझाउनु पर्ने आयकर घटेको बताए।

गत आर्थिक वर्षमा १२ अर्ब रुपैयाँ नाफा कमाएको निगमले ३ अर्ब रुपैयाँ आयकर बुझाएको थियो।

निगमले चालु आर्थिक वर्षमा ४ अर्ब रुपैयाँमा नाफा सिमित हुने प्रक्षेपण गरेको छ।

जस अनुसार चालु आर्थिक वर्षमा सरकारलाई करिब १ अर्ब रुपैयाँ मात्र आयकर तिर्नु पर्नेछ।

९० करोड रुपैयाँ कर बुझाईसकेकाले अब १० करोड रुपैयाँ मात्र कर तिर्नु पर्ने निगमको अनुमान छ।

 किन घट्यो निगमको नाफा?

आयल निगमका प्रवक्ता गोइतले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य गत वर्षको तुलनामा बृद्धि हुँदा निगमको नाफा घटेको बताए।

निगमले पछिल्लोपटक गरेको मूल्य समायोजन पछि प्रति लिटर पेट्रोलमा ३.१ रुपैयाँ, आन्तरिक तर्फको हवाई इन्धनमा १५.२ रुपैयाँ, मट्टीतेलमा १७.३२ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा ३४.५७ रुपैयाँ नाफा हुँदा डिजेलमा प्रति लिटर ०.९६ रुपैयाँ र प्रति सिलिण्डर ६२.५२ रुपैयाँ घाटा रहेको छ।

मूल्य समायोजन पछि मासिक निगमले मासिक ४० करोड रुपैयाँ नाफा कमाईरहेको गोइतले जानकारी दिए। उनले भने, अन्तर्राष्ट्रिय बजारमा मूल्य परिवर्तन भए निगमको नाफा पनि परिवर्तन हुन्छ।

बैशाख ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्