ऊर्जामा लगानी गर्न ब‌ंगलादेशले माग्यो आयोजना

काठमाडौँ – नेपालमा ऊर्जामा लगानी गर्न ब‌ंगलादेशले आयोजना मागेको छ । सोमबार उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसँगको भेटमा नेपालका लागी ब‌ंगलादेशी राजदूत मस्फी विन्ते साम्सले नेपालले नै आयोजना छनौट गरेर दिए लगानी गर्न तयार रहेको बताएकी हुन्।

ब‌ंगलादेशी राजदूतले सन् २०२१ सम्म वङगलादेशलाई १३ हजार मेगावाट विजुली आवश्यक रहेको भन्दै नेपालको लागी ब‌ंगलादेश वैकल्पिक बजार हुन सक्ने बताइन् ।

‘सरकार मात्र होईन, हाम्रो निजी क्षेत्र समेत नेपालको जलविद्युतमा लगानी गर्न तयार छ, तर तपाईहरुले हामीलाई राम्रो परियोजना दिनुपर्ने हुन्छ’, भेटमा राजदूत साम्सले भनिन् । साम्सले ब‌ंगलादेश नेपालको पावर सेक्टरमा सहकार्य गर्न तयार रहेको भन्दै त्यसका लागी ब‌ंगलादेशी उर्जामन्त्री नेपाल भ्रमणमा आउन ईच्छुक रहेको बताइन् ।

मन्त्री पुनले ठूला आयोजना छनौट गरेर मन्त्रालयको च्यानलबाट जानकारी दिने भन्दै आफ्ना समकक्षी ब‌ंगलादेशी उर्जामन्त्रीको नेपाल भ्रमणमा त्यसबारेमा टुंगो लगाउने बताए । सार्क फ्रेमवर्कभित्र रहेर काम गर्न नेपाल ईच्छुक रहेको भन्दै मन्त्री पुनले ऊर्जा क्षेत्रमा लगानी गर्ने उपयुक्त वातावरण रहेको बताएको उनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

राजदूत साम्सले पावर सेक्टरमा नेपाल, भारत र ब‌ंगलादेशबीचमा सहकार्य हुनुपर्नेमा जोड दिइन् । ‘उर्जा क्षेत्रमा तपाईहरु सहकार्य गर्न तयार हुनुभयो भने हामी भारतलाई पनि सहयोगका लागि आग्रह गर्छौ, हाम्रो देशको प्रधानमन्त्रीको भारत भ्रमणमा समेत पावरको क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारतले सहयोग गर्ने भन्ने सहमती भएको छ’, राजदूत साम्सले भनिन् ।

बैशाख ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्