बालश्रमिकलाई लक्ष्यित गर्दै भर्ना अभियान सुरु

नेपालगञ्ज– नेपालगञ्जमा बालश्रमिकलाई विद्यालय प्रवेश गराउने अभियान थालिएको छ । देशैभर भर्ना अभियान चलिरहँदा नेपालगञ्जमा बालश्रमिकलाई ‘लक्षित’ गरिएको हो ।

उमेर समूहका बालबालिकालाई विद्यालयमा ल्याउन स्थानीय निकायहरुले अभियान चलाइरहेका छन् । गरिवीका कारण आफ्ना बालबालिकालाई श्रममा लगाएका अभिभावकलाई ‘सहयोग’ गरेर बालश्रमिकलाई विद्यालय भर्ना गरिएको हो ।

परिवारको आयस्तर बढाउनुसँगै आफ्ना बालबालिकालाई विद्यालय पठाउने शर्तमा सय जना परिवारलाई १६ हजारको सहयोग गरिएको हो। यो रकम बालश्रमिकका परिवारले भनेबमोजिम पसल सञ्चालन, बाख्रापालन र मेसिन खरिदमा लगाइएको छ ।

बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत यस्तो रणनीति अपनाइएको हो । सहयोग पाएका परिवारले भने बमोजिमको काम (आफ्ना बालबालिकालाई विद्यालय भर्ना) गरेको छ कि भन्ने बुझ्न उपमहानगरपालिकाको टोलीले स्थलगत निरीक्षण गरेको छ । उपमेयर उमा थापा, सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी टोलीले घरघरमै गएर निरीक्षण गरेको थियो ।

नगरमा कुनै पनि बालबालिका विद्यालयबाट बाहिर नहुन् भन्ने उद्देश्यले घरपरिवारलाई समेत सहयोगको कार्यक्रम ल्याइएको सामाजिक विकास अधिकृत जोशीले बताए । जोशीका अनुसार, चार वटा संस्थासँग मिलेर यो कार्यक्रम गरिएको छ ।

यसैबीच, जिल्लाका सबै स्थानीय निकायले भर्ना अभियानलाई जोडतोडका साथ अगाडि बढाएका छन् । स्थानीय निकायका प्रमुखहरु घरघरमै गएर बालबालिकालाई भर्ना गर्न अनुरोध गरिरहेका छन् । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले दुई जना बालबालिकाको आफैले भर्ना गरेका छन् । डुडुवाका अध्यक्ष नरेन्द्र चौधरी घरघरमै पुगेर बालबालिकालाई विद्यालय प्रवेश गराउन अनुरोध गरिरहेका छन् । नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साह शुरुदेखि नै बालबालिकाको पढाईमा बढी केन्द्रित भइरहेका छन् ।

नेपालगञ्ज वडा नं. ७ का अध्यक्ष जुमन खाँले सोमबार विहानभरी घरदैलो गरेर दुई दर्जन बालबािलकालाई विद्यालय प्रवेश गराएको बताए ।

‘म पढेकाले त वडाध्यक्ष भए । नपढेको भए कहाँ हुन्थे, भर्ना अभियानका क्रममा अभिभावकसमक्ष पुगेका वडाध्यक्ष खाँले भने, बालबालिकालाई पढाइएन भने अगाडि बढ्न सक्दैनन् । पढाई नै सबैभन्दा ठूलो अस्त्र हो ।’

बैशाख ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्