बुढीगण्डकी जलाशययुक्त विद्युत आयोजनाबारे छलफल नहुने

चीनमा केके गर्दैछन् परराष्ट्रमन्त्री ज्ञवालीले?

चीन भ्रमणमा जानुअघि पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली। तस्बिर: दीपा दाहाल

काठमाडौं – विवादास्पद बुढीगण्डकी जलाशययुक्त विद्युत आयोजना निर्माणको ठेक्का चीनलाई दिने/नदिने भन्नेबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको चीन भ्रमणमा कुनै छलफल नहुने भएको छ।

शेरबहादुर देउवा सरकारले उक्त विद्युत आयोजना चीनको गेजुवालाई बनाउन दिने निर्णय रद्द गरेको थियो। तर प्रधानमन्त्री केपी ओली लागयत एमाले र माओवादी केन्द्रका नेताहरुले चुनाव प्रचारप्रसारका क्रममा र चुनावको नतिजा आइसकेपछि सर्वाजनिकरुपमा उक्त निर्णय उल्ट्याउने चेतावनी दिएका थिए।

सरकारले १२ सय मेगावाटको उक्त विद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको थियो। २ खर्ब ६३ अर्ब रुपैयाँ लागतको उक्त आयोजना निर्माणको जिम्मा सरकारले विद्युत प्राधिकरणलाई दिएको छ।

चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गर्नु अघि सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले भने,’ बुढीगण्डगी जलाशययुक्त आयोजनाबारे सरकार आफैले अध्ययन गरिरहेको छ। अध्ययनपछि सरकारले उचित निर्णय लिनेछ तर यो भ्रमणका बेला चीनसँग यसबारे छलफल हुने छैन ।’

तातोपानी नाका खुलाउन पहल
परराष्ट्रमन्त्री ज्ञवालीले चीन भ्रमणका बेला तातोपानी नाका खुलाउनेबारे आफ्नो समूहले चिनियाँ पक्षसँग कुरा उठाउने बताए।

‘तातो पानी नाका हजारौं नेपालीको जीवन र चीनको मित्रतासँग पनि जोडिएकाले महत्वपूर्ण छ । यसबारे चीन भ्रमणका बेला हामी कुरा उठाउने छौ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने।

२०७२ साललमा गएको गोरखा भूकम्पका कारण क्षतिग्रस्त बनेपछि नेपाल र चीनबीचको ऐतिहासिक तातोपानी नाका बन्द छ ।
उक्त नाका बन्द भएपछि नेपालीको व्यापारव्यवसायमा ठूलो धक्का लागेको छ । चीनले सुरक्षाका कारण नाका बन्द गर्नु परेको स्पष्टीकरण दिँदै आएको छ।

पूर्व सम्झौता कार्यान्वयनमा जोड
राजनीतिक संक्रमणले चीनसँगका पूर्व सम्झौता कार्यान्वयनमा ढिलाई भएको स्वीकार गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले उक्त विषय पनि उच्चस्तरीय भेटवार्तामा उठाउने प्रतिवद्धता जनाए।

परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग यसअघि भएका सबै सम्झौताले ऐतिहासिक महत्व राख्ने भएकाले प्रभावकारी कार्यान्वयमा जोड दिने बताए।नेपाल र चीनबीच भएका रेलमार्ग निर्माण लगायत आर्थिक विकासका सम्झौताहरु भएको लामोसमयसम्म कार्यान्वयनमा आउन सकेका छैनन्।  दुई वर्ष अघि प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएका बेला भएको पारवहन सम्झौताको ‘प्रोटोकल’मा नेपाल र चीन दुवैले हस्ताक्षर गर्न बाँकी छ।

आफ्नो चिनियाँ भ्रमणबारे जानकारी गराउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली। तस्बिर: दीपा दाहाल

यस्तै पारवहन सम्झौता भएको एक वर्ष पुगिसकेको अवस्थामा नेपालले ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ बीरआरआई कार्यान्वयमा हस्ताक्षर गरे पनि लगानी भित्राउन ढिलाई भएको छ।

बीआरआई परियोजना कुन मोडालीटीमा कार्यान्वयन गर्ने भन्नेमा काम भइरहेको समेत उनले बताए।  उनका अनुसार पारवहनका सम्झौताको ‘प्रोटोकल’का सम्बन्धमा गत अगस्टमा नेपालले तयार पारेको बुझाएको खाका चीनीयाँ पक्षले अध्ययन गरिरहेको र त्यसको प्रतिक्रिया आउनसाथ हस्ताक्षरको प्रक्रिया अघि बढ्ने छ।

क्रस बोर्डर ट्रान्समिसनको सम्बन्धमा प्रारम्भिक अध्ययनले चिलिमे, कोरला लगायत ठाउँ उपयुक्त हुने देखाएको र त्यसमा थप अध्ययन भइरहेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

मित्रता र सम्बन्ध सुदृढ गराउने ध्येय
गत चैत २३ गते प्रधानमन्त्री केपी ओलीसँग भारत भ्रमण सम्पन्न गरेर फर्खेका परराष्ट्रमन्त्री ज्ञवालीले छिमेकी चीनसँग पनि मैत्रिपूर्ण र सन्तुलित सम्बन्ध कायम राख्ने बताएका छन्।

‘सबैसँग मित्रता र कसैसँग पनि वैरभाव नलिने हाम्रो परराष्ट्रनीतिको उद्देश्य हो। आपसी सम्मान, अहस्तक्षेप, सार्वभौमिक समानता लगायतमा आधारित सम्बन्धले नै मित्रता र असल सम्बन्धलाई मजबुत र प्रगाढ बनाउँछ भन्ने हाम्रो मान्यता हो र त्यसै अनुसार अघि बढ्छौं,’ उनले भने ।

२०१८ मा उच्चस्तरीय भ्रमण वर्ष
प्रधानमन्त्री केपी ओलीले चीन भ्रमण गर्नु हुन्छ कि हुन्न भन्ने पत्रकारको प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘यो वर्ष हाम्रा निम्ति उच्चस्तरीय भ्रमण वर्ष रुपमा गणना हुने छ । स्वाभाविकरुपले चीनमा नेपालको तर्फबाट उच्चस्तरीय भ्रमण हुने छन् तर अहिले नै मिति भन्न म असमर्थ छु।’ परराष्ट्रमन्त्री ज्ञवालीले यसअघि प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण छिट्टै हुने बताएका थिए।

राष्ट्रिय हितमा लगानी भित्रने
नेपालको विकास र समृद्धिका लागि चिनियाँ लगानी भित्र्याउन आफूले भ्रमणका बेला जोड दिने परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ।

तर लगानी भित्राउदा नेपालको सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता लगायतमा विषयमा ध्यान दिने परराष्ट्रमन्त्री ज्ञवालीले थपे।

उनले चीनीयाँ लगानी भित्राउँदा सडक, रेलमार्ग र ट्रान्समिसनलाई प्राथमिकता दिने बताए। परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण दलमा चीनका लागि नेपाली राजदूत, परराष्ट्र मन्त्रालयका अधिकारी र दुतावासका अधिकारीहरु सामेल हुने छन्।

  • परराष्ट्रमन्त्री ज्ञवाली चीन भ्रमणका बेला केके गर्दै छन्?
    -समकक्षी वाङ यि संग औपचारिक द्विपक्षीय भेटघाट
    -दुईले संयुक्तरुपमा प्रेसलाई संवोधन
    -उच्च राजनेतासँग भेटघाट
    -चाइनिज थिङ्कट्यांकको राउण्डटेबल बैठकलाई सम्बोधन
    -सिचुआँनको छेन्दु शहरमा उच्च नेतृत्ववर्गसँग भेटघाट
    -सिचुआँन विश्वविद्यालयको कार्यक्रमलाई संवोधन
बैशाख ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्