नसुल्झिएको रहस्यमय मृत्यु- न हत्या, न आत्महत्या

सांकेतिक तस्बिर

काठमाडौँ– काठमाडौंको ज्ञानेश्वरका बबिनसिंह गड्तौलाको भनाइ मान्ने हो भने उनको घरमा काम गर्दै आएकी सिन्धुपाल्चोककी एक किशोरीको झुन्डिएर आत्महत्या गरेकी हुन्।

तर, टिचिङ अस्पतालको पोस्टमार्टम रिपोर्टमा १७ वर्षीय रीता थामीको निधनको कारण झुन्डिएर नभएको उल्लेख छ। त्यसो भए कसरी निधन भयो त रीताको ? यसको जवाफ पनि पोस्टमार्टम रिपोर्टले दिन सकेको छैन। त्यसपछि भएका भिसेरा परीक्षणमा पनि थामीको मृत्युको कारण खुल्न सकेको छैन।

घरधनी गड्तौला परिवारको पोलिग्राफ टेस्टमा पनि उनीहरुले झुट नबोलेको उल्लेख छ।

घटना भएको एक महिना बितिसक्दा पनि मृतक किशोरीका आफन्तको चित्त बुझ्न सकेको छैन। ‘यदि झुन्डिएर मरेको हो भने पोस्टमार्टममा किन देखिएन? घटनामा प्रहरीले राम्रो अनुसन्धान गरेन,’ पीडित पक्षको दाबी छ। मृतक बालिकाका आफन्तहरु अझै पनि न्याय खोज्दै टेकुस्थित काठमाडौं प्रहरी परिसर धाईरहेका छन्। थामी समाजले घटनाको सत्यतथ्य पत्ता लगाउन दबाब दिइरहेको छ।

के भन्छन् घरबेटी?
‘घटना भएको दिन म बाहिर गएको थिएँ। घरमा श्रीमान र सासुमात्र हुनुहुन्थ्यो। सासु बुढी भइसकेको कारणले गर्दा तलमाथि धेरै गर्न नसक्ने हुँदा माथि नै धेरै बस्नुहुन्छ। म बजारबाट आएपछि सबै जनाले चिया खाने कुरा गर्‍यौँ। त्यसपछि बालिकालाई चिया पकाउन लगायौं। उसले चिया पकाएर ल्याई, हामीलाई पनि दिई, त्यसपछि तँ पनि खा भन्यौं। हुन्छ भनी उक्त कोठाबाट बाहिर निस्की, धेरै बेरपछि बालिकालाई काम परेर बोलाउँदा बालिका बोलिनन्। घरको वरपर तलमाथि सबै खोज्यौं, केही पनि देखिएन।

त्यसपछि बालिकाले प्रयोग गर्ने बाथरुम घरको पछाडि भएकाले बाथरुम पो गई कि भनी खोज्न जाँदा बाथरुममा बत्ति बलेको देखियो। त्यसपछि बालिकाको नामले रीता रीता भनी बोलाउँदा नबोलेपछि बाथरुमको ढोका धकेलेर चुकुल निकालेर हेर्दा बालिका झुन्डिएको अवस्थामा भेटियो। बालिकाले भुवा भएको चाइनिज तन्नाले घाँटीमा पासो  लगाएको देखियो। त्यसपछि मैले र मेरो श्रीमान भएर पासो फुकायौं र अन्य घरका सदस्यहरुलाई खबर गरी बालिकाको ढुकढुकी बाँकी भएको देखी हिमाल अस्पताल लिएर गयौं। घटना करिब चार बजेतिर भएको हो। अस्पतालमा पुर्‍याएको केही समयपछि नै मृत्यु भइसकेको भनि अस्पताल भन्यो’, बबिनसिंह गड्तौलाकी श्रीमती शान्ति गड्तौलाले बयानमा भनेकी छिन्।

के भन्छ अस्पताल ?
‘२६ फागुनको दिन रीता तामाङ भनी मृत अवस्थामा ल्याइएको हो। हाम्रो अस्पतालले दिनको ३ बजेर ४० मिनेटमा क्लिनिकल डेथ भएको घोषणा गरेको हो। कुनै पनि उपचारको प्रकृया अगाडि बढाउनुपर्ने अवस्था नै रहेन। भिजिटरले निजको उमेर १९ वर्ष भनेको र बाथरुममा अनकन्सियस अवस्थामा देखेर ल्याएको भनी भनिएको थियो’, हिमाल अस्पतालकी उपनिर्देशक अर्चना थापाले बयानमा भनेकी छिन्।

मृतकका दाजु के भन्छन् ?
‘पछिल्लो पटक १०/१२ दिन अघि उन (रीता)ले मेरो भेना राजु थामीलाई सम्पर्क गरेकी थिई, त्यतिबेला राम्रै कुरा भएको भनी बताउनु भएको थियो। २०७४ साल फागुन २६ गते मेरो आमा चन्द्रकुमारी थामी र बुबा आइतमान थामीलाई प्रहरीले तपाईँको छोरी रीता थामीको करिब २ बजे मृत्यु भएकोले लाश हेर्न आउनू भनी जानकारी दिएको हुँदा मिती २०७४/११/२७ गते काठमाडौं आएका थियौं। मेरो बहिनीको लाशलाई एक जना आफन्त पनि रोहबरमा नराखी अस्पताल पुर्‍याएको हुँदा निजको मृत्यु शान्ती गड्तौला, बबिन सिंह गड्तौला लगायतको कर्तब्यबाट भएको हो, त्यसैले निजहरुलाई समेत अनुसन्धानको घेरामा राखी अनुसन्धान गरी उक्त घटनामा घटनामा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी, दोषीलाई हदैसम्मको कारबाही गरी पाउँ’ कमल थामीले जाहेरीमा लेखेका छन्।

मृतकका आफन्तले प्रहरीले किटानी जाहेरी नलिएको आरोप लगाएका छन्। यता उनीहरुले आरोप लगाएका गड्तौला परिवार भने प्रहरीको नियमित सम्पर्कमा छ। मृतक किशोरीको परिवारका केही गम्भीर शंका छन् जसको जवाफ प्रहरी अनुसन्धानले दिन सकेको छैन। उनीहरुको प्रश्न छ, ‘चाइनिज तन्ना (पातलो ब्ल्यांकेट)ले मान्छे कसरी झुन्डिएर मर्न सक्छ? यदि झुन्डिएको हो भने पोस्ट मार्टम रिपोर्टमा किन झुन्डिएर मरेको भन्ने देखिएन ?’

यता गड्तौला परिवारको भनाइ छ, ‘जे छ अनुसन्धानबाटै पत्ता लागिहाल्छ, तर बालिका झुन्डिएको देखेपछि पहिला हामीले उनलाई बचाउनैतिर लाग्यौं। यतिबेला बालिकाको आफन्तलाई अगाडि ल्याउनेभन्दा बालिकालाई बचाउनेतिर हाम्रो ध्यान गयो।’

पोस्टमार्टमा रिपोर्टमा मृतक रीताको शरिरमा कुनै चोट तथा घाउ नभएको उल्लेख छ। मृत्युको कारण ‘अन आइडन्टीफाइड’ भनिएको छ।

दुई वर्षअघि महाभुकम्प गएको करिब ११ महिनापछि गड्तौला परिवारले रीतालाई सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाबाट ल्याएको थियो। रीता सौतेनी आमासँग बस्दै आएकी थिइन्। परिवारमा निकै दुख थियो। त्रिपुरा सुन्दरीकै सीता भुजेल गड्तौला परिवारले चिनेका एक परिवारको घरमा काम गर्थिन्।

उनै सीतामार्फत रीतासँग उनीहरुको सम्पर्क भएको थियो। पढाउने सहमतिमा रीतालाई ल्याइए पनि रीताले स्कुल जान नमानेको शान्ति गड्तौलाले आफ्नो बयानमा उल्लेख गरेकी छिन्। सम्पन्न गड्तौला परिवारका बबिसिंह, उनकी श्रीमती, भाउजु र आमा त्यस घरमा बस्थे। रीताको मृत्युपछि प्रहरीलाई उनका परिवारका सदस्य पत्ता लगाउन समेत निकै गाह्रो भएको थियो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी मोहन थापा अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको बताउँछन्। ‘हामीसँग उपलब्ध स्रोत र साधनबाट हुन सक्ने सबै किसिमका बैज्ञानिक परिक्षण हामीले गरेका छौं। त्यसमा हत्या भन्ने देखिदैन। नत आत्महत्या नै देखिन्छ। गड्तौला परिवारका सदस्यको समेत बैज्ञानिक परीक्षण गर्दा उहाँहरुले झुटो नबोलेको पाइएको छ,’ थापा भन्छन्। पोलिग्राफ परीक्षण भनेको ब्यक्तीले झुट बोलेको छ कि छैन भनि परीक्षण गरिने प्रविधि हो। बबी र शान्ति दुवैको यो परीक्षण गरिएको थियो।

प्रहरीका अनुसार चिकित्सकले झुन्डिएर हुने कतिपय आत्महत्या, पोस्टमार्टममा झुन्डिएर भएको नदेखिन पनि सक्छ। ‘यो दुर्लभ घटना हो। चिकित्सक हरिहर वस्तीसँग कुरा गर्दा मोटो डोरीबाट हुने आत्महत्या पोस्टमार्टम रिपोर्टमा झुन्डिएर आत्महत्या भएको नदेखिन पनि सक्ने बताउनु भयो’, डीएसपी थापाले भने। तर प्रहरीको भनाइबाट पीडित पक्ष सन्तुष्ट हुन सकेको छैन। न त उनीहरुले चिकित्सकलाई राखेर छलफलसमेत गराएका छन्।

घटना भएको एक महिनाभन्दा बढी समय भइसक्दा आफन्तले मृतक किशोरीको शव बुझेका छैनन्। बस, हरेक दिनजसो उनीहरु प्रहरीकहाँ धाइरहेका छन्। प्रहरीलाई हरेकदिनजसो फोन आइरहन्छ।

बैशाख ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्