सदियौँदेखि गौमाता पूजिँदै आएको देशमा गाई काट्ने प्रपञ्च

म जन्मजात बुद्धिस्ट, अनि हिन्दु धर्म र परम्परासँगै हुर्कें बढेँ, ५ महिनापछि ६० पार गर्दैछु। म मासु खान्छु, बीचमा १८ देखि २३ वर्षको लक्का जवानीमा ५ वर्ष पुरै शाकाहारी पनि बनेँ। बच्चैदेखि राँगा, कुखुरा, हाँस, खसीबोकाको मासु र माछा खाइन्थ्यो। मान्दै आएको धर्म र संस्कृतिकै कारण भनौँ, नेपालमा चल्ने बँडेल/बँगुर/सुँगुर खाइन्नथ्यो।

म भर्खरको केटो हुँदा बेलाको सम्झना छ, मेरो बा र बाको साथी अनि मेरी कान्छी आमालाई बँडेल चल्थ्यो। त्यसबखत माघे संक्रान्तिको अघिपछिबँडेलको मासुको सिजन हुन्थ्यो। वर्षको एकपटक बा र साथी मिलेर हाम्रो घरको छिँडीमा छुट्टै पकाएर खानुहुन्थ्यो र भाँडाकुँडा आफैँ सफा गर्नुहुन्थ्यो। मेरी आमा, भाइहरु र मलाई चल्दैनथ्यो। मलाई कहिल्यै खाउँखाउँ पनि लागेन। गाईको मासु त घरमा कसैबाट उच्चारणै हुन्नथ्यो। तर थाहा थियो, मुस्लिम समुदाय र केही जनजातिका तामाङ, शेर्पालगायतका समुदायमा गाई गोरु र खासगरी उच्च पहाडी भेगमा चौंरीगाईको मासु चल्छ भन्ने। तर हिन्दुराज्य नेपालमा गाई गोरुको बध गर्न नपाउने हुँदा भवितब्य परेर वा भीडबाट लडेर मरेका गाई गोरुहरुको मासु खानका लागि प्रयोग हुन्थ्यो। त्यसमा कसैलाई एतराज थिएन। जात र धर्मले पाएको खान्छन् भनिन्थ्यो। यो हो, नेपाल विश्वकै एउटैमात्र हिन्दु राष्ट्र हुँदा बखतको कुरा । अहिले धर्म निरपेक्ष राष्ट्र, अनि धर्म र धर्मको आडमाविभिन्न बादविवाद र घोचपेचचलिरहेछ।

मैले माथि भनेँ, म बँगुर/बँडेल खान्नथेँ। नखानुको मुख्य कारण कहिल्यै नखाएको पनि एउटा थियो। मेरै कार्यालयको मेसमा पनि कहिलेकाहीँ बगुर/बँडेलको मासु पाक्थ्यो। मेरा एकजना मित्रले हाकिमले फर्माएको कारण पहिलो पटक खानु भएछ। म तिनलाई कहिलेकाहीँ जिस्क्याउँथे, हाकिमले भनेपछि नखाने कुरा पनि खाने भनेर।

३३ वर्षअघि हाम्रो एउटा टिम पूर्वी भेगमा बाली रोग सर्वेक्षणमा गयौँ। एक महिनाको सर्वेक्षण सकेर धरानमा आइपुग्दा खाजा खान एउटा पसलमा पस्यौँ। थुक्पा मगायौँ र खायौँ, मिठो लाग्यो। मैले खाइसकेपछि मेरा मित्र (जसलाई म माथि उल्लेखित कुरालाई लिएर जिस्क्याउथेँ) ले यो के हो भनेर मासुको चौटा देखाएर सोधिन्। त्यो रहेछ, धराने कालो सुंगुरको मासु। मलाई राम्रैसँग बदला लिइन्। त्यसपछि बँगुर/बँडेल खान थालेँ। बँडेल भनेपछि हिजोआज ठूला भोजमा विशेष फर्मायसमा पर्छ।

३० वर्षअघि एउटा तालिममा भाग लिन १ महिनाको लागि अमेरिकाको नर्थ क्यारोलिना गएको थिएँ। पुगेको भोलिपल्ट बिहान बे्रकफास्टको लागि नजिकैको म्याकडोनाल्ड छिरेँ। के लिउँ भन्ने थियो, बिफ (गाईको मासु) पर्ला भन्ने डर थियो। यसो मेनु हेरेँ, ह्यामबर्गर लिने बिचार गरेँ, किनकि ‘ह्याम’ भनेको बिफ होइन। त्यसअधि कहिल्यै म्याकडोनाल्ड देखेको थिइन र ह्यामबर्गर पनि खाएको थिइन। त्यही दिन साँझ अमेरिकामा अध्ययनरत ईश्वर देवकोटाज्यू (पञ्चायतकालिन वरिष्ठ नेता स्वर्गीय राजेश्वर देवकोटाको छोरा) ले लिन आउनु भयो। पहिले चिनजान थिएन। उहाँ दुई छोरासहित सपरिवार हुनुहुन्थ्यो। घर पुगेर सामान्य चिनजानपछि भाउजुले के खानुहुन्छ भनेर सोध्नु भयो। मैले बिफचाहिँ खान्न भनेँ। आज के खानु भयो भनेर सोध्नु भयो, ह्यामबर्गर भनेँ। बल्ल थाहा भयो, ह्यामबर्गर त बिफको रहेछ। त्यसपछि फेरि ह्यामबर्गर खाइन।

त्यसको तीन वर्षपछि अध्ययनको लागि डेनमार्क गएँ। गएकै हप्ताको एक साँझ एकजना डेनिसकहाँ अरु नेपालीसहित डिनरको लागि निम्तो मान्न पुगियो। मासुसहित विभिन्न प्रकारका खाना थिए। तीमध्ये आफूलाई ठम्याउन गाह्रो भएकोलाई केको भनेर सोधेँ। एकजना नेपालीले भन्नु भयो – मन नपरे नखाने, सोध्नचाहिँ हुन्न भन्नु भयो। सोध्नै नहुने कस्तो होला भन्ने लाग्यो। वादविवादखासै गरिन। पछि थाहा भयो, कुन के भनेर। बिफचाहिँ खाइन। अरु नेपालीमध्ये कसैले खाए, कसैले खाएनन्। कुरा के भने, कोही खान इच्छा गर्ने तर खाएको अरुले थाहा नपावस् भन्ने। अर्कोथरी सोधीखोजी नगरी जे पायो त्यो खाने । कोही नखाने नै।

डेनमार्कको बसाईमा केही डेनिस परिवार र साथीहरु घनिष्ठ भए। ती सबैलाई राम्ररी थाहा थियो कि म र मेरो परिवारले बिफ खाँदैनन् भन्ने। त्यहीअनुसार उनीहरुले दिने निमन्त्रणामा बिफ राखिन्नथ्यो वा राखे पनि अलग्गै हुन्थ्यो। ती घनिष्ठमध्ये एउटा यस्तो पनि थिइन् जसलाई मैले बिफ नखाएको खासै मन नपर्ने। उनीकहाँ मैले थाहा पाएसम्म त खाइन। तर झुक्किएर/झुक्याएर कतिपटक खाएँ/खुवाए थाहा छैन।

एक पटक दशैंको बेला केही साथीहरुलाई मकहाँ निम्तो गरेँ। तिनै मित्रलेचाहिँ बिफ बोकेर आइछन्। तिनलाई राम्ररी थाहा थियो, दशैं हिन्दुको ठूलो चाड हो र हिन्दुलाई बिफ चल्दैन भन्ने। मैले टाढैबाट चिनिहालेँ, त्यसलाई अलग गरियो। धेरै वर्षपछि एक दिन उनले मुखै खोलेर भनिन् – हीरा, यु नेभर चेन्जड् (तिमी कहिल्यै परिवर्तन भएनौ)। सोधेँ किन र ? जवाफ थियो –तिमीले बिफ खाएनौ। त्यसैमा थपिन् – मासु भनेको मासु हो, नेपालमा तिमी बफ (राँगाको मासु) खान्छौ, गाई र भैंसी एउटै परिवारका हुन्। मलाई अब मुख खोल्न करै लाग्यो। मैले भनेँ– पक्कै पनि मासु मासु नै हो। मैले यो कुरा अरुबाट पनि धेरै पटक सुनेको छु। त्यसो भए कुकुर, बिरालो, बाँदरको मासु पनि मासु नै हो।

चीनमा, कोरियामा, फिलिपिन्समा कुकुरको मासु खान्छन्, के तपाईं खानुहुन्छ, ती देशमा जानु भयो भने? आखिर मासु नै हो। मानिसको आ–आफ्नै धर्म, आस्था, संस्कृति, परिवेश, इच्छा, रुचि हुन्छ। त्यति भनेपछि उनी चुप भइन् कहिल्यै फेरि बिफको कुरा आएन। सायद्, मेरो कुरामा चित्त बुझ्यो होला भन्छु। हामीबीचको घनिष्ठता अहिले पनि छ।

एउटा समुदाय वा जातिले खाने मासु वा परिकार अर्को समुदाय वा जातिलाई बर्जित हुन सक्छ। त्यो व्यक्ति विशेषको स्वाद र इच्छाअनुसार पनि फरक पर्न सक्छ। कहिल्यै पहिले नदेखेको हो भने घिन पनि लाग्न सक्छ। त्यसको नजिकै पुग्दा रअरु खाने कुराको सँगसँगै रहेका छन् भने आफुले खाने गरेको पनि अरुचि हुन सक्छ। तर क्रमैसँग हेर्ने र देख्ने बानी पर्दै जाँदा घिन लाग्न छोड्छ। जस्तै, मलाई बिफ देख्दा केही फरक पर्दैन। एउटै प्लेटमा झुक्किएर बिफ पर्न गयो र त्यो थाहा पाएँ भने बिफचाहिँ खान्न, अरु बाँकी खान्छु। बिफ नखाने वा मैले खान हुन्न भन्ने भन्दा पनि म जुन धर्म र संस्कृतिमा हुर्कें बढें त्यसले मभित्र त्यसप्रति इच्छा नै जागेन। यो कसैले बलजफ्ती गरेको होइन। त्यो भनेको भित्रैदेखिको आस्था हो । यसलाई कसैले अन्यथा लिनुहुन्न। तथापि बिफ नखाने कुरा होइन, खानेले खान्छन्।

डा. हिराकाजी मानन्धर

विदेशमा अरु मासुभन्दा बिफ महँगो छ। नेपालमा बिफ नखाने नेपालीहरु विदेशमा जाँदा खाएको छु, खान्छु भन्ने धेरै भेटेको छु। विदेशमै बसोबास गर्ने धेरैले खान्छन् पनि। चीनमा बिफ नमिसाएको खानाको परिकार पाउनै गार्‍हो हुन्छ रे। त्यसैले होला हाम्रा बाबु बाजेका पालामा कोही विदेश गएर फर्केपछि पशुपति नुहाएर चोख्याउँथे रे। अब त्यो चलन छैन। उहिलेउहिले सात समुन्द्र पार गरेर विदेश जाने भनेपछि खासै राम्रो मान्दैनन्, बिटुलो भएर आउँछन् भनेर। अहिले विदेश जाने भनेपछि महत्व नै अर्को।

बिफको मात्र कुरा किन, बफकै पनि कुरा गरौँ न। नेपालमै बाहुन क्षेत्रीलगायतले बफ खाँदैनन्। घर परिवारमा पुरै बर्जित छ। केहीले घरबाहिर खान्छन्। खानेलाई छोयला, कचिला, ममः आदि स्वादिष्ट हुन्छ र छ पनि। खानेको संख्या बढ्दै गइरहेको छ। त्यो बेग्लै कुरा हो। विफ नखाने नेपाली विदेश जाँदा बिफ खाएजस्तै हो । मुस्लिमले पोर्क खाँदैनन्, किनकि कुरानले बर्जित गरेको छ । तर कुरानले यो पनि भन्छ – भोखमरी भएको छ र पोर्कमात्र खानलाई उपलब्ध छ भने खान सक्छौ । नेपालमै मुसहर जातिले मुसा खान्छन्,अरुले खाँदैनन् ।कतिपय अवस्थामा कहिल्यै नखानेले औषधिको रुपमा खान्छन् । म बच्चा हुँदा मलाई लामै समयसम्म आँउ परेछ । बा आमाले औषधिको रुपमा मुसाको मासु पोलेर खुवाएछ । निको भयो रे । मैले थाहा पाएको भए खान सक्दिन थिएँ होला । भन्ने गरिन्छ, बाथ रोग हुनेलाई स्यालको मासु औषधि लाग्छ रे। स्याल र कुकुर नजिकका नातेदार हुन् । चिप्लेकीरा धेरैलाई छुन पनि घिन लाग्छ होला, तर यो औषधिजनक भएकोले केराभित्र राखेर निल्छन् ।

कुकुरको मासु कोरिया, चीन, फिलिपिन्समा विशेष मान्छन् । जहाँ पायो त्यहाँ पाइन्न र अरु मासुभन्दा धेरै महँगो पनि हुन्छ । नेपालमै पनि सुन्ने गर्छाैं, काम विशेषले कोरियनहरु बस्ने गाउँ ठाउँमा भुस्याहा कुकुर हराउने गर्छन् रे । कुनै अफ्रिकन जातिले बाँदर खान्छन् । मलाई लाग्दैन जोकोही नेपालीलाई नेपालमा कुकुर, बिरालो, बाँदर खाने कुरा पाच्य हुन्छ । एक पटक चीनको चाङ्सामा स्थानीय बजार घुम्दा हामीकहाँ खसी बोकाजस्तो सिंगै कुकरलाई टाउकोसहित डे«सिङ गरेर राखेको देखेँ । त्यो देखेपछि अलि गाह्रो भयो । किनकि त्यो हाम्रो सोचाइ र रुचिभन्दा धेरै टाढाको कुरा हो ।

फेरि एकपटक डेनमार्ककै कुरा । क्रिसमसको समय, म अध्ययन गर्ने इन्स्टिच्यूटमा क्रिसमस पार्टीको आयोजना थियो । हामी अध्ययन गर्ने सबै विदेशी थियौँ । पार्टीमा सपरिवार निम्तो थियो । त्यसबखत मेरी आमा पनि हामीसँगै हुनुहुन्थ्यो । पार्टी टेबलमा को कहाँ बस्ने भन्ने लेखेको हुन्थ्यो । आमा अर्कैतिर पर्नु भयो । सबैसँग चिनजान भएको र हाउभाउ बुझ्ने भएकोले समस्या थिएन । खाने क्रममा आमाले थाहा नपाएर बिफ खानु भएछ । त्यो आमाले पछि थाहा पाउनु भएछ । मानसिक भनौँ या के भनौँ संयोगवश बायाँ हातको नाडीमा चिलाउने (एलर्जी) शुरु भएछ । त्यो वर्षौ रह्यो र आमाले त्यही बिफलाई दोष दिनुहुन्थ्यो, अहिले पनि कहिलेकाहीँ सम्झिनु हुन्छ।

नेपाल विभिन्न जातजाति, धर्म र सम्प्रदायको थलो हो । यहाँ बोक्सी डंकिनीजस्ता केही अन्धविश्वास अनि छुवाछुतजस्ता कुप्रथाबाहेक हामी सबै एकआपसमा मिलेर बस्दै आएका छौं । आर्थिक शोषण, लैङ्गिक र वर्ग विभेदलगायत अरु सामाजिक अन्याय अत्याचारका मुद्दा बेग्लै छन् । यी कुरामा चर्चा गर्नु यस लेखको उद्देश्य होइन । मुख्य कुरा एकले अर्काको धर्म र आस्थामा आघात पार्ने क्रियाकलाप गर्नुहुन्न भन्ने नै हो । धर्म निरपेक्षता भनेको धर्म–धर्मबीच प्रतिस्पर्धा गर्नु वा एकले अर्कोलाई जिस्क्याउनु होइन । यसले नेपाललाई अरुको खेलभूमि बनाउनसक्छ र बनाउन खोजिरहेको देखिन्छ । यसतर्फ हामी सबै सचेत हुनैपर्छ । सदियौँदेखि गोमाता मान्दै पुज्दै आएको गाईलाई काट्न पाउनुपर्छ जो कसैले भन्दैन र भन्नुहुन्न । जुन विवादास्पद कुरा खासगरी पछिल्लो समय प्रदेश ३ का उपसभामुख माननीय राधिका तामाङसँग जोडिएर आयो, त्यो अफवाह हो, गलत प्रचार हो । मुलुकमा धर्म विशेषलाई अस्त्र बनाएर अशान्ति मच्चाउन हुन सक्ने प्रपञ्चमा राज्यका प्रत्येक निकाय र हामी सर्वसाधारण सबै सजग रहनु जरुरी छ ।

बैशाख ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्