राष्ट्रिय गौरवका आयोजना छिटो सक्न ऊर्जामन्त्री पुनको निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

२०७४/०७५ को दोस्रो चौमासिक प्रगति समस्या तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पुनले मन्त्रालय अन्र्तगतका राष्ट्रिय आयोजना समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

नीतिगत तहका कर्मचारी सहभागी उक्त बैठकमा मन्त्री पुनले राष्ट्रिय गौरवका आयोजना समयमै पुरा नभएको गुनासो बढ्दै गएकाले अब कुनै पनि बाहानामा आयोजना रोकिन नहुने बताए ।

उनले मन्त्रालयमा भएको समस्या समन्वयात्मक ढङ्गबाट समाधान गरेर अगाडि बढ्ने बताए। उनले भने,‘राष्ट्रिय गौरवका आयोजना रोकिनु भएन, बजेटको समस्या भए मन्त्रालयबाट समाधान हुन्छ।’

मन्त्री पुनले आयोजना समयमै सम्पन्न गर्दा आउने समस्या आफुलाई सिधै बताउन आग्रह गर्दै अन्य बाहानामा आयोजना ढिला सुस्ती नगर्न निर्देशन दिए ।

मन्त्रीपुनले अबको समय मुलुकको विकास र समृद्धि भएकाले यसमा सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए । माओवादी नेता समेत रहेका मन्त्री पुनले मुलुकले स्थिर सरकार पाएकाले पहिला जस्तो अनेक समस्याले विकासका आयोजना पन्छाउने जस्ता कार्य अब नहुने बताए ।

मन्त्रीपुनले नीति र नेतृत्वको निरन्तरताले अब कामहुने बताउँदै सबै बिच समन्वय हुनुपर्नेमा जोड दिए ।

समितिको बसेको पहिलो बैठकमा मन्त्री पुनले यस्ता बैठक नियमित हुनुपर्ने बताउँदै कर्मचारीबीच नीतिगत विषयमा छलफल र समिक्षा आवश्यक भएको बताए ।

बैशाख ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्