संस्थानहरुबाट मात्र घट्यो २ अर्ब ४२ करोड राजस्व

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा सरकारी संस्थानहरुले गत वर्षको तुलनामा २ अर्ब ४२ करोड रुपैयाँ कम राजस्व तिरेका छन्।

नेपाल आयल निगम र नेपाल टेलिकमको नाफामा उच्च गिरावट आउँदा सरकारी संस्थानहरुले गत वर्ष भन्दा ४२.४५ प्रतिशत कम राजस्व बुझाएका हुन्।

गत वर्षको पहिलो ९ महिनामा ५ अर्ब ७० करोड रुपैयाँ राजस्व तिरेका सरकारी संस्थानले चालु आर्थिक वर्षको ९ महिनामा ३ वर्ष २८ करोड रुपैयाँ मात्र तिरे। २ वर्ष अगाडि पहिलो ९ महिनामा १ अर्ब ५९ करोड रुपैयाँ राजस्व तिरेका थिए।

आयल निगमले गत वर्षको तुलनामा १ अर्ब २० करोड रुपैयाँ र नेपाल टेलिकमले पनि करिब १ अर्ब रुपैयाँ कम राजस्व बुझाएको हो।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आउँदा नाफा घटेको जनाएको छ। यस्तै नेपाल टेलिकमले भाईबर, म्यासेन्जर लगाएतका सामाजिक सञ्जालको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय र आन्तरिक कलमा आएको गिरावटले नाफा घटेको जनाएको छ।

पुँजीगत लाभ करमा पनि गिरावट

आन्तरिक राजस्व विभागले पुँजीगत लाभ कर गत वर्षको तुलनामा २३ करोड रुपैयाँ कम सङ्कलन गरेको छ।

घर जग्गा कारोबार र सेयर बजारमा आएको गिरावटले गत वर्षको तुलनामा ४.५१ प्रतिशत कम पुँजीगत लाभ कर सङ्कलन भएको आन्तरिक राजस्व कार्यालयको भनाई छ।

गत वर्षको ९ महिनामा ५ अर्ब ११ करोड रुपैयाँ पुँजीगत लाभ कर सङ्कलन हुँदा चालु आर्थिक वर्षको ९ महिनामा ४ अर्ब ८८ अर्ब रुपैयाँ मात्र राजस्व सङ्कलन भएको छ।

२ वर्ष अगाडी ९ महिनामा ४ अर्ब ९० करोड रुपैयाँ पुँजीगत लाभ कर सङ्कलन भएको थियो।

गत वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा पब्लिक लिमिटेड कम्पनीको ६.२९ प्रतिशत बढी कर तिर्दा प्राइभेट लिमिटेड कम्पनीले भने १२.६४ प्रतिशत बढी कर तिरेका छन्।

बैंक वित्तीय संस्थाको नाफामा गिरावट आउँदा पब्लिक लिमिटेड कम्पनीको ग्रोथ सुस्त बनेको आन्तरिक राजस्व विभागले जनाएको छ।

गत वर्षको ९ महिना सँग तुलना गर्दा पब्लिक लिमिटेड कम्पनीले १ अर्ब ४९ करोड रुपैयाँ र प्राइभेट कम्पनीले २ अर्ब ८५ करोड रुपैयाँ बढी कर हुन्।

गत वर्षको ९ महिनामा २३ अर्ब ८१ करोड रुपैयाँ कर तिरेका पब्लिक लिमिटेड कम्पनीले चालु आर्थिक वर्षको उक्त अवधिमा २५ अर्ब ३० करोड रुपैयाँ तिरेका छन्।

यस्तै गत वर्षको ९ महिनामा २२ अर्ब ५० करोड रुपैयाँ कर तिरेका प्राइभेट कम्पनीले चालु आर्थिक वर्षको उक्त अवधिमा २५ अर्ब ३५ करोड रुपैयाँ तिरेका छन्।

नेपालको व्यवसायमा प्राइभेट कम्पनीको ठुलो हिस्सा हुँदा पनि आयकर भने पब्लिक कम्पनी बराबर नै तिरेका छन्।

आन्तरिक राजस्व विभागका उच्च अधिकारी पनि प्राइभेट कम्पनीले कर छली गर्ने गरेको बताउँछन्।

आयकर लक्ष्य भन्दा ८ प्रतिशत कम उठ्यो

सार्वजनिक सस्थांको नाफामा आएको र पुँजी गत लाभ करमा उच्च गिरावट, पब्लिक र प्राइभेट लिमिटेड कम्पनीमा भएको अपेक्षा भन्दा कम वृद्धिले गर्दा आयकर सरकारी अपेक्षा अनुसार वृद्धि हुन् सकेको छैन।

गत वर्षको ९ महिनाको तुलनामा ९ अर्ब ६९ करोड रुपैयाँ बढी आयकर सङ्कलन हुँदा पनि लक्ष्य भन्दा ८ अर्ब २ करोड कम सङ्कलन हुन् सक्यो।

सरकारले चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब ४ अर्ब रुपैयाँ आयकर सङ्कलन गर्ने लक्ष्य लिएकोमा ९६ अर्ब ६७ करोड रुपैयाँ मात्र सङ्कलन भएको हो।

गत वर्ष भने उक्त अवधिमा ८६ अर्ब ९२ करोड रुपैयाँ आयकर सङ्कलन भएको थियो।

आन्तरिक तर्फको मूल्य अभिबृद्धि कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा कर लक्ष्य भन्दा कम सङ्कलन हुँदा सरकारी राजस्व लक्ष्य नपुगेको हो।

आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको ९ महिनामा लक्ष्य भन्दा ७ अर्ब रुपैयाँ कम सङ्कलन गरेको छ। विभागको लक्ष्य २ खर्ब १२ अर्ब रुपैयाँ भएकोमा २ खर्ब ५ अर्ब रुपैयाँ मात्र सङ्कलन हुन् सक्यो।

बैशाख ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्