आइपिएल : दिल्ली फेरि हार्‍यो, सन्दिप खेल्न पाएनन्

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार बेलुका भएको खेलमा कोलकाता नाइट राइटर्स विजयी भएको छ । कोलकाताले दिल्ली डियरडेभिल्सलाई ७१ रनले हराएको हो । कोलकाताको यो दोस्रो जित हो भने दिल्लीको तेस्रो हार ।

कोलकाताले प्रस्तुत गरेको २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले १४ ओभर २ बलमा अल आउट हुँदै मात्रै १२९ रन बनाउन सक्यो ।

कोलकाताका कुलदीप यादव र सुनिल नरिनले समान तीन तीन विकेट लिए । दिल्लीका लागि ग्लेन म्याक्सवेलले २२ बलमा ४७ तथा ऋशव पन्तले २६ बलमा ४३ रन बनाए पनि हार टार्न सकेनन् ।

दिल्लीका अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यसअघि पहिले ब्याटिङ्ग गरेको घरेलु टोली कोलकाताले ९ विकेटको क्षतिमा २०० रन बनायो ।

उसका लागि नितिश राणाले ३५ बलमा ५९, आन्द्रे रुसेलले १२ बलमा ४१, रोबिन उथप्पाले १९ बलमा ३५ तथा क्रिस लिनले २९ बलमा ३१ रन बनाए । जितपछि दोस्रो स्थानको कोलकाताको चार अंक भएको छ । दुई अंक जोडेको दिल्ली पुछारबाट दोस्रो स्थानमा छ ।

बैशाख ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्