सामाजिक सञ्जाल

फेसबुक आइडी नभए पनि तपाईंको जानकारी फेसबुकसँग !

फेसबुकले प्रत्यक्ष रुपमा आफ्नो वेब साइट वा एप्लिकेशन प्रयोग नगरेको वा अनलाईन नरहेको अवस्थामा पनि व्यक्तिको वैयक्तिक विवरण संकलन गर्ने गरेको छ ।

अहिलेसम्म यसको प्रक्रिया के हुन्छ भन्ने सामाजिक सञ्जाल फेसबुकले सार्वजनिक रुपमा बताएको थिएन ।

तर पछिल्लो पटक क्याम्ब्रिज एनालिटिकाले ८ करोड ७० लाख भन्दा बढी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी गरेको र त्यो जानकारी राजनीतिक उद्देश्य पूर्तिका लागि प्रयोग भएको कुरा सार्वजनिक भएपछि फेसबुकले आफूलाई प्रयोगकर्ता माझ पारदर्शी बनाउन खोजी रहेको छ ।

यसै क्रममा फेसबुकले सोमबार अबेर कम्पनीको व्यक्तिगत विवरण संकलन सम्बन्धी प्रक्रियाका बारेमा एउटा ब्लग प्रकाशित गरेको छ

फेसबुकले आफ्ना प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले अमेरिकी सिनेट समक्ष पछिल्लो आरोपका बारेमा सुनुवाई गरेको एक हप्ता पनि बित्न नपाउँदै प्रयोगकर्ताको विवरण संकलन सम्बन्धी प्रक्रिया बारे जानकारी दिएको हो ।

सिनेटरसँगको सुनुवाईको क्रममा फेसबुकका सिइओ मार्क जुकरबर्ग । तस्बिर : जिम वाट्सन/एएफपी/गेट्टी इमेज

फेसबुकका सिइओ जुकरबर्गले सुनुवाईको क्रममा जवाफ दिन नसकेका वा नमिलेका प्रश्नको जवाफ चाँडै दिने बताएका थिए । फेसबुकका प्रोडक्स म्यानेजमेन्ट डाइरेक्टर डेविड बासरले लेखेको ब्लगमा आफ्ना प्रयोगकर्ताको मात्र नभई तेस्रो पक्षसँग उनीहरुका प्रयोगकर्ताको जानकारी कसरी फेसबुकले लिने गरेको छ भन्ने खुलाइएको छ ।

फेसबुकले आफ्नो वेब साइट वा एप्लिकेशन प्रयोग नगर्नेहरुको जानकारी पनि तेस्रो पक्षबाट लिएर उनीहरुको फेसबुक प्रोफाइल छ कि छैन भन्ने हेर्ने गरेको छ ।

यसरी जानकारी दिने पक्षलाई फेसबुकले उनीहरुका विज्ञापन र त्यसलाई प्रयोगकर्ताले कसरी लिएका छन् वा प्रभाव कस्तो परेको छ भन्ने बारे जानकारी दिने गरेको ब्लगमा खुलाइएको छ ।

फेसबुक प्लगिङ्स वा फेसबुक एकाउन्ट मार्फत लग इन गर्न सकिने वेब साइट वा एप्लिकेशनबाट फेसबुकले यस्तो जानकारी लिने गरेको छ ।

यस्तै आफ्ना उत्पादनको प्रचार प्रसारका लागि फेसबुकको प्रयोग गर्ने वा एनालिटिका टुल्सको प्रयोग गर्ने वेब साइटबाट पनि फेसबुकले यस्तो जानकारी लिने गरेको छ ।

फेसबुकले यस्तो जानकारी आफ्नो वेब साइटको बिस्तार तथा आफ्नो विज्ञापनका लागि प्रयोग गर्ने गरेको छ । यसरी पाउने जानकारीमा वेब साइट वा एप्लिकेशनको नाम, आइपी एड्रेस, ब्राउजर, अपरेटिङ्ग सिस्टम र तेस्रो पक्षको वेब साइट प्रयोगको प्याट्रन रहेको फेसबुकले जनाएको छ ।

यस्तो जानकारी फेसबुक प्रोफाइलसँग दाँजिने, यदी छ भने र छैन भने त्यस्तो जानकारी फेसबुक प्रोफाइल बनाउनका लागि प्रयोग नगरेको दाबी फेसबुकले गरेको छ ।

जुकरबर्गले कांग्रेसमा सुनुवाईको क्रममा फेसबुकमा एकाउन्ट नभएका व्यक्तिको जानकारी पनि आफूहरुले संकलन गर्ने गरेको बताएका थिए । यो भनाईपछि फेसबुकमा एकाउन्ट नभएकाहरुको जानकारी लिएर फेक आइडी बनाइएको पो छ कि भन्ने चासो बढेको थियो ।

तर फेसबुकले त्यस्तो जानकारीबाट आफूहरुले कुनै पनि फेक वा स्याडो प्रोफाइल नबनाएको दाबी गरेको छ ।

बासरले ब्लगमा आफूहरुले मात्रै नभएर अरु वेब साइटले पनि यसरी नै जानकारी संकलन गर्ने गरेको दाबी गरेका छन् । सबै वेब साइटमा लाइक र सेयरको बटन उस्तै रहेको र त्यसरी नै जानकारी संकलन हुने गरेको बताएका छन् ।

बैशाख ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्