सकियो सिरुवा

विर्तामोड – पूर्वी नेपालमा बसोबास गर्न आदिवासी समुदायले नयाँ वर्षको अवसरमा मनाउने सिरुवा पर्व धुमधामका साथ मनाएर सम्पन्न गरेका छन्।
राजवंशी, धिमाल, ताजपुरिया लगायतका आदिवासी समूदायले वैशाख १, २ र ३ गते पानी, हिलो र रंग छ्यापछ्याप गरेर सिरुवा मनाए।
झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने आदिवासी बहुल क्षेत्रहरु सिरुवामय बनेका थिए। पर्वका अवसरमा ठाकुरबिसरी, ठाकुरब्रह्माणी, घाटोसरीसहित कूल देवीदेवताको पूजा गर्ने प्रचलन छ।
सिरुवा पर्वको अन्तिम दिन रंग सिरुवामा सोमबार झापाको कचनकवल गाउँपालिकास्थित बनियानीमा आयोजित हजारौँ आदिबासीहरुको सहभागिता थियो। कार्यक्रममा प्रदेश नम्बर-१ का मुख्यमन्त्री राईको प्रमुख आतिथ्यता थियो।
उनी दिनभर विभिन्न स्थानमा आयोजित सिरुवाका कार्यक्रमहरुमा सहभागी भए। कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सिरुवा पर्वलाई प्रदेश सरकारले मान्यता दिएर सार्वजनिक बिदा समेत दिने प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्री राईले आदिबासी जनजातिको संरक्षणका लागि प्रदेश सरकार विशेष कानुन र नीति बनाएर अघि बढने बताए।
आदिवासी समाज विकास समितिले सिरुवा पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले आदिवासी जनजातिको भाषा, संस्कृति, लिपि तथा रीति रिवाजलाई संरक्षण गर्न प्रदेश सरकारले विशेष नीति र बजेट प्रस्तुत गर्ने बताए।