प्रदेश १ : प्रदेशसभा बैठक बस्दै

विराटनगर – प्रदेश नम्बर १ को प्रदेशसभा बैठक दिउँसो बस्दैछ । पछिल्लो बैठकहरु भन्दा यस बैठकमा सरकार र प्रतिपक्षि दलबिच दोहोरी चल्ने देखिएको छ ।

यस क्रममा प्रतिपक्षि दल नेपाली कांग्रेसले पछिल्लो समय घटेका घटनाको विषयमा सरकारसमक्ष तत्काल जवाफ माग गर्ने जनाएको छ ।

साथै प्रदेश नम्बर १ को आर्थिक वर्ष २०७४/७५ को तीन महिनाको बजेटप्रति असन्तुष्ट जनाएको नेपाली कांग्रेस मङ्गलबार बस्ने प्रदेशसभा बैठकमा सुरक्षाप्रति कुरा उठाउने भएको छ ।

प्रदेशसभा बैठकमा बजेटसँगै पछिल्लो समय प्रदेशमा विभिन्न स्थानमा भएका आपराधिक क्रियाकलापप्रति सुरक्षा अवस्था खस्किएको जनाउँदै प्रतिपक्षि दलले असुन्तष्टी जनाउने भएको हो ।

प्रतिपक्षि दलका प्रमुख सचेतक केदार कार्कीले भने, “पछिल्लो पन्ध्रदिनदेखि अस्थायी राजधानी विराटनगरमा अपराधिक क्रियाकलाप भइरहेको छ । तर, प्रदेश सरकारले त्यसलाई नियन्त्रण गर्न वा अपराधमा संलग्नलाई कारवाही गर्न नसक्ने अवस्थामा देखिएको छ ।”

हाल प्रदेश १ मा वाम गठबन्धनको दुई तिहाई बहुमत रहेको अवस्थामा अपराधको दायरा न्यून हुनुपर्ने भए पनि, त्यसअनुरुप गतिविधि नदेखिएको सचेतक कार्कीले बताए ।

गत चैत्रमा धर्मगुरु श्री निवासाचार्यमािथ गोली प्रहार भएको यतिका समय बितिसक्दा समेत घटनामा संलग्नलाई सार्वजनिक गर्न नसक्नु सरकारको लाचारीपन भएको उनको भनाई छ ।

त्यसैगरी प्रतिपक्षि दल कांग्रेसले बैठकमा भारतीय दूतावासको सम्पर्क कार्यालय भवन परिषरमा भएको बम विस्फोट, इलामको चुलाचुली गाउपालिकामा भएको विस्फोट, सुन्दरहरैचामा भेटिएका बम लगायतका विषयमा सरकारको स्पष्ट जवाफ माग गर्ने भएको छ ।

यस्तै लगानी मैत्री वातावरण बन्दै गएको अवस्थामा उद्योगी व्यवसायीमाथि चन्दा आतंक सुरु भएको बताएका उपनेता कार्कीले भने, “यहा ब्यवसायहरुमाथि विभिन्न किसिमको चन्दा आंतक सुरु भएको छ, त्यसलाई सरकारले हेर्न सकेको देखिएन । डर, त्रास तथा धम्कीको राजनीति फेरि मौलाएको छ । यसै विषयमा बैठकमा कांग्रेसले सरकारको तत्काल जवाफ माग गर्नेछ ।”

बैशाख ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू