दुई घन्टासम्म इमर्जेन्सीमा डाक्टर नजाँदा बिरामीको मृत्यु

  • अस्पतालको लापरवाही: आफन्त
  • दरबन्दी अभावले सेवा दिन सकिएन: अस्पताल व्यवस्थापन समिति

सुर्खेत– वीरेन्द्रनगर–१० का लोकबहादुर बिसी ब्लड प्रेसर र सुगरका विरामी थिए। जिल्लास्थित निजी अस्पतालमा उनले पटक–पटक उपचार गराउँदै आएका थिए। उनी मंगलबार एक्कासी विरामी परेपछि जेठा छोरा यादव बिसीले निजी अस्पताल भन्दा गुणस्तरीय सेवा पाउने आशमा क्षेत्रीय अस्पताल कालागाउँ पुर्‍याए।

‘घरमा बेहोस भएपछि बुबालाई क्षेत्रीय अस्पताल ल्याएँ,’ यादवले भने, ‘समयमा भरपर्दाे सेवा दिनुपर्ने प्रदेशकै ठुलो अस्पतालमा दुई घण्टासम्म उपचार गर्न डाक्टरहरु कोही आएनन्।’ समयमा उपचार गर्ने डाक्टर नआउँदा बुबाको ज्यान गुमाउनु परेको उनको आरोप छ। विरामी बुबालाई इमर्जेन्सी वार्डमा भर्ना गरेका यादवले दुई घण्टासम्म पनि उपचार गर्ने डाक्टर नपाएको गुनासो गरे।

विरामीलाई समयमा उपचार दिन नसक्नु अस्पतालको लापरवाही भएको भन्दै उनले ड्यूटीमा रहेका डाक्टरहरु माथि कारवाही हुनुपर्ने माग गरेका छन्।  ‘इमर्जेन्सी वार्टमा विरामी रोगसँग लडिरहेको बेला डाक्टर आउँदैन भने यसलाई के भन्ने’, उनले आक्रोश पोख्दै भने, ‘उपचार नगरेर मान्छे मर्नुपर्ने भए इमर्जेन्सी लेखिएको बोर्ड फालिदिए हुन्छ।’

लोकबहादुरको मृत्युको कारण डाक्टर अभावले समयमा सेवा दिन नसक्नु भएको अस्पताल प्रशासनले स्वीकार गरेको छ । २९ जना दरवन्दी भएको क्षेत्रीय अस्पताल कालागाउँमा हाल सात जना विशेषज्ञ डाक्टर कार्यरत छन्। ‘इमरजेन्सी र ओपिडीका लागि दुई जना डाक्टरमात्रै छन्,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले भने, ‘कर्मचारी अभावले एक जना विदामा बस्दा स्वास्थ्य सेवा नै प्रभावित हुन्छ, हामीसँग पर्याप्त जनशक्ति नहुँदा गुणस्तरीय र प्रभावकारी सेवा दिएर जनता खुसी पार्न सकेका छैनौं।’

मंगलवार ओपिडी र इमर्जेन्सी हेर्ने डाक्टर एक जना मात्रै थिए। उनी ओपिडीमा विरामीको उपचार गरिरहेका बेला इमर्जेन्सीमा विरामीले उपचार दिन सकेका थिएनन्। हाल काजका कर्मचारी, करार दरवन्दी सृजना गरी काम चलाउ जनशक्ति व्यवस्थापन गरिएको डा. खड्काले बताए।

‘हाल तीन सय ५० शैया सञ्चालन गर्न सकिने भौतिक संरचना तयार गरिँदै छ,’ डा. खड्काले भने, ‘भौतिक संरचनाले अव्वल भएपनि जनशक्ति अभाव विगतदेखि झेल्दै आएका छौं।’

५० शैयाँ सञ्चालनको स्वीकृति पाएको अस्पतालमा हाल एक सय २५ शैया सञ्चालन गरी स्वास्थ्य सेवा दिइएको छ । अस्पतालको क्षमता विस्तार गर्ने उद्देश्यले भवन निर्माण तीव्र पारिएको छ । करिव एक वर्षदेखि नयाँ अस्पताल भवनबाट सेवा प्रवाह गरेको अस्पतालले प्रदेशस्तरकै अस्पतालका रुपमा विकास गर्न आवश्यक भौतिक संरचना निर्माण थालिएको हो । तर, अस्पतालमा दक्ष जनशक्ति पर्याप्त नहुँदा कर्णालीका दश जिल्लाबाट सेवा लिन क्षेत्रीय अस्पताल कालागाउँ पुग्ने विरामीहरुले गुणस्तरीय र सुलभ सेवा पाउन सकेका छैनन्। न्यूनतम जनशक्ति नहुँदा कर्णालीबासीलाई गुणस्तरीय स्वास्थ्य उपचार दिन नसकिएको उनले बताए।

अस्पताल व्यस्थापन समितिका सभापति नारायण सापकोटाले केन्द्र सरकारको वेवास्ताका कारण क्षेत्रीय अस्पतालले डाक्टर अभावको समस्या झेल्नु परेको बताए। उनले अस्पतालमा पर्याप्त डाक्टरहरु नहुँदा गुणस्तरीय सेवा प्रवाह गर्न नसकिएको बताए। ‘अस्पतालमा कार्यरत डाक्टरहरुको संख्या कम छ’, उनले भने, ‘सरकारले वेवास्ता गर्दा दरबन्दी अनुसारका डाक्टर नै आइपुगेका छैनन्।’ स्वास्थ्य मन्त्रालय, विभागलगायतका सरोकारवाला निकायमा पहल गर्दासमेत कुनै सुनुवाइ नभएको बताए।

‘समयमा उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने बाध्यताबाट कर्णालीबासीले मुक्ति पाउन सकेका छैनन्’, प्रतिनिधिसभा सदस्य नवराज रावतले भने, ‘नागरिकलाई गुणस्तरीय स्वास्थ्य उपचार पाउने अधिकार दिएपनि कार्यान्वयन गर्न नसक्नु सरकारको कमजोरी हो।’ उनले कर्णालीका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न केन्द्र सरकारसँग पहल गर्ने बताए।

बैशाख ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्