सगरमाथा शिखर चुम्न हिँडेका यी पाँच साहसी युवती

काठमाडौँ– केही महिना अगाडिसम्म नाम कतै सुनेको, कहिलेकाँहि झँल्यास्स देखेको अनुहार अहिले असाध्यै नजिकको भएको छ। त्यतिबेला तीनैले केही गरेको सुन्दा ‘ए’ भनेर टार्ने उनीहरु यतिबेला भने एकले अर्काको सानो सानो चालढाललाई ध्यान दिएर हेर्छन् ताकि कुनै कमजोरी नहोस्।

हो, गएको ८ महिनादेखि फरक आमाका ५ छोरीहरु अहिले एकै कोखबाट एकैपल्ट जन्मिएका दिदीबहिनी झैँ बसेका छन्। फरक ठाउँ, परिवेशका यी युवतीहरु एउटा साझा सपना बोकेर यात्रा गर्दैछन्, सगरमाथाको चुचुरो टेक्ने यात्रा।

विज्ञापन

लाजिम्पाटमा डाँडा चढ्ने, डोरी समात्ने, ढुंगामा उक्लने, भित्ता चढ्ने लगायतका सिप सिकेको, आरोहणको लागि खर्च जुटाउन गरिएको कसरतपछि अब बल्ल विश्वको सर्वोच्च शिखरको यात्रा सुरु भएको छ। बुधबार बिहान साढे ६ बजे रोशा बस्नेत, प्रियालक्ष्मी कार्की, देउराली चाम्लिङ, कल्पना महर्जन र रोजिता बुद्धाचार्य लुक्ला जाँदैछन्, सगरमाथा चढ्न।

कसरी बन्यो योजना

समाचार संस्था राष्ट्रिय समाचार समितिकी पत्रकार रोशा बस्नेतले हिमालको रिर्पोटिङबाट फर्केकी अर्की पत्रकार सृष्टि काफ्लेको अनुभव सु्निन्। हिमालको कथा, हिमालको व्यथा।

उनलाई एउटा जोश आयो, सबैले सम्झने खालको काम गर्ने। महिला पत्रकारको टोलीले सगरमाथा चढे भनेर सबैलाई सुनाउने। सल्लाह गरिन् उनै सृष्टिसँग जसले उनलाई हिमालको यात्राले रोशालाई लालायित बनाएको थियो। सगरमाथाको चुचुरोमा पुग्न जान्नुपर्ने सिपभन्दा पनि त्यहाँ पुग्न लाग्ने खर्च जुटाउनु ठूलो चुनौती थियो। किनकी चार पाँच महिनाको तबल जम्मा गरेर सगरमाथा पुग्न सम्भव हुने कुरा थिएन।

देशसञ्चारसँगको कुराकानीमा बस्नेतले भनिन्, ‘पहाड फोर्न जत्तिको गारो भयो।’ बस्नेतले योजनाको रुपरेखा त सजिलै तयार पारिन् तर योजनालाई सफल पार्न चाहिएको समूह बनाउन फलामको चिउरा चपाएजत्तिकै भयो । उनले अठोट लिइन्, ‘साहसी महिला पत्रकारको एक टोली बनाउँछु।’ र, उनको अठोट पूरा भयो।

यसरी भयो भेट

अहिले भेट भएका पाँच जना विभिन्न मिडियामा काम गर्ने महिला पत्रकार हुन्। सगरमाथा आरोहण गर्ने अवधारणा निकाल्ने रोशा बस्नेतले मिडियाहरुमा गुपचुप खबर पुर्‍याइन्। सञ्चारमाध्यमले पनि आफ्ना इच्छुुक महिला पत्रकारलाई भेटायो।

यसै क्रममा स्वतन्त्र पत्रकार देउराली चामलिङ र न्यूज ट्वान्टी फोरकी प्रियालक्ष्मी कार्की लगायत केही साथी भेटिए। त्यसपछि उनीहरु मेघा टेलिभिजनकी कल्पना महर्जनको हिमाल आरोहण गर्दाको अनुभव सुन्न गए। महर्जन सन् २०१४ मा सगरमाथा चढ्नलाई तालिम लिने क्रममा दुर्घटनामा परेर ७ दिन कोमामा पुगेकी थिइन्।

यात्रा अनुभव सुनाइरहँदा कल्पनालाई पनि इच्छुक भए समूहमा आउनसक्नुहुन्छ भन्ने प्रस्ताव आयो र उनी पनि यो अभियानमा जोडिइन्।

पाँचजनामध्येकी अर्की यात्री रोजिता बुद्धाचार्यलाई नाटक हेर्न जाँदा चिने र पत्रकार हो भन्ने थाहा पाएपछि सगमाथा यात्रा गर्ने महिला पत्रकारको समूहमा सामिल गराए। सुरुमा १३ जना छनौट भए, तालिम गर्न जाने बेलासम्म ७ जना र अहिले सामूहिक रुपमा सगरमाथा चढ्ने समूहमा छाँटिएर पाँच जना भएका छन्।

रोशा बस्नेत

राष्ट्रिय समाचार समितिकी पत्रकार हुन् रोशा बस्नेत। १३ वर्षको उमेरदेखि नै मिडिया क्षेत्रमा आबद्ध थिइन्। अहिले २९ वर्षसम्म आइपुग्दा देशका धेरै जिल्ला पुगिन्, पश्चिम नेपालको पहाड उक्लने मौका पाइन्।

यात्रा अनुभव गरिन्, यात्राको अनूभूति सुनिन्। हिमाल रिपोर्टिङबाट फर्केकी सृष्टि काफ्लेको अनुभव सुनेपछि हिमालसँगै जोडिएर केही गर्न मन लाग्यो, जसलाई अरुले स्मरण पनि गरुन् र उत्प्रेरित पनि हुन्। एक्लै जाने आँट गर्नुभएन भन्ने प्रश्नमा उनले उत्तर दिइन्, ‘एकले गर्दा गुञ्जन हुन्छ भने धेरैले गर्दा गर्जन,’ उनलाई समूहमा नै केही गर्नु छ। साथ दिने सहकर्मी पनि भेटेकी छिन्।

प्रियालक्ष्मी कार्की

सगरमाथा चढ्ने भन्ने बित्तिकै आफूलाई शारिरीक रुपमा बलियो बनाए पुग्छ भन्ने लागेको थियो प्रियालक्ष्मीलाई। सगरमाथा चढ्ने न हो जस्तो लागेको थियो, अहिले भइरहेको तालिम, खर्च जुटाउने प्रयासमा लागि पर्दा मात्र थाहा भयो, अलि गम्भीर काम गर्न लागिएछ। हाँस्दै उनले भनिन्, ‘सगरमाथा चढ्नु मात्र होइन, ठूलो जिम्मेवारी पूरा गर्नु हो र यहा आफूलाई दिमागी रुपमा पनि तयार गर्न आवश्यक छ।’

न्यूज ट्वान्टी फोरकी सञ्चारकर्मी कार्की हिम्मत र आँटको सवालमा कहिले पछि परिनन्। सानैदेखिको रहरलाई यसरी राष्ट्रिय गौरवका साथ पूरा गर्न पाउनु उनका लागि महत्वपूर्ण कुरा हो।

उनी ६ महिनादेखि कार्यलयको काममा भन्दा यता दत्तचित्त भए्र लागिपरेकी छिन्। तालिम लिने बेलामा दोलखाको रोल्वालिङको चुचुरोमा उक्लिएकी कार्कीलाई टुप्पामा पुग्दा लाग्यो, ‘यो एक किसिमको ध्यान हो, साधना हो । त्यहाँ पुगेर के बोल्छु भन्नुभन्दा पनि पुग्ने कसरी भन्ने ध्याउन्न रहन्छ।’

देउराली चामलिङ

२०५० सालको बैशाख १० गते पासाङ ल्हामु शेर्पाले सगरमाथाको चुुचु्रोमा पाइला टेकेर इतिहासमा आफ्नो नाम लेखाइन्। उनी चुुचुरोमा पुग्न सफल त भइन् तर सकुशल फर्कन सकिनन्। उनको निधन भएको खबर रेडियोले फुक्दा देउरालीकी आमाले भन्नुभएको थियो रे, ‘कोही मान्छे अजम्बरी हुँदैन, तर पासाङले आफ्नो ज्यान फालेर अमर बनिन्।’

देउरालीकी आमालाई केही कुरा चित्त बुझेमा ट्वाक्क जिब्रो पड्काउने बानी थियो। पहिलो नेपाली महिला आरोहीले इतिहास रचेको खबरमा आमाको जिब्रो पड्किएपछि देउरालीको मनमा सगरमाथा चढ्ने रहरले बिउ रोपेको थियो। सात वर्ष अगाडि खर्चको हरहिसाब निकाल्दा आँट गरिहाल्ने खर्च निस्किएन र उनी चुप बसेकी थिइन्। यसरी मरेको रहरलाई ब्युँत्याउन आएको अवसरलाई उनले छाड्न चाहिनन्।

माइली दिदी र मामा बाहेक आफन्त र साथीले उनको रहरको विरोध गरेका छैनन्। उनले सुनाइन्, ‘माइली दिदीले आइतबार मात्र फोन गरेर तँ साँच्चै जाने हो भनेर सोधिन्, मामासँग खर्च माग्दा पहाड चढ्नलाई दिन्नँ, समथरमा जाने भएमात्रै भन्नुभयो।’ चामलिङलाई अब कसले के भन्छ भन्नेसँग भन्दा पनि कसरी पुग्ने भन्ने मात्रै ध्याउन्न छ।

कल्पना महर्जन

सगरमाथा आरोहण गर्ने महिला पत्रकारको समूहमा उनको प्रवेश अलि फरक तरिकाले भयो। उनीसँग अरु साथीहरु उनको हिमाल चढ्दाको अनुभव सुन्न गएका थिए। हो, उनीसँग हिमाल चढ्दाको अनुभव छ, जसले उनलाई ज्यान गुमाउने अवस्था नजिक पुर्‍याएको थियो। सन् २०१४ मा महर्जनले सगरमाथा चढ्ने रहरलाई पूरा गर्ने सोचिन् र तालिम लिन गइन्, तर दुर्भाग्य मनाङको एक हिमालमा प्रशिक्षण गर्दा उनी दुर्घटनामा परिन् र उनलाई हेलिकप्टरले उद्धार गर्नुपर्‍यो। सुमेरु अस्पतालमा उपचार गराएकी उनी ७ दिन कोमामा रहिन् र बल्ल होस् खुल्यो अनि विस्तारै आफ्नो दैनिकीमा फर्किइन्।

८ महिना अगाडि हिमाल चढ्न हौसिएका महिला टोलीले जाने इच्छा भए हामीसँग आउन सक्नुहुन्छ भनेपछि उनले श्रीमान् समेतलाई नभनी तालिम लिन थालिन्। बुहारी मान्छे, घरको धन्दा गरेर ७ बजे तालिममा सहभागी हुन जानु त्यति सहज त थिएन तर मनले आँटेपछि सबै सम्भव भयो। बीचबीचमा श्रीमानले सोधेका थिए, ‘सिकाउनलाई कति लागि परेको हो?’

त्यति बेला त कुरा छलेकै हो तर राष्ट्रपतिसँग फोटो सार्वजनिक भएपछि र मिडियाले प्रशारण गरेपछि सबै छर्लंग भयो। श्रीमानले नरुचाउँदा नरुचाउँदै महर्जन तालिममा गइन् र श्रीमानलाई मनाई छाडिन्। पहिला यसरी बिरामी भएको मान्छे फेरि जाने आँट गर्दै हुनुहुन्छ भन्दा उनी भन्छिन्, ‘हाइ अल्टिच्युटको समस्या यहाँ यतिबेला हुन्छ भन्न सकिँदैन, मैले त्यो बेला बिरामी हुँदा केही कुरा सिकेकी छु, जसले मलाई अहिले सघाउने छ।’

रोजिता बुद्धाचार्य

आरोहणको सबै तयारी सकिएपछि रोजिता थोरै नर्भस् छिन् तर डराएको चाहिँ हैन। ‘आफूले धेरै इच्छाएको कुरा पुग्नै लागेको बेला यस्तै हुन्छ सायद,’ उनले सुनाइन्। उनी सानै हुदा आमाले संसार छोड्नुभयो।

आमाको आकृति प्रस्ट याद नभएकाले हजुरबुबालाई सोध्ने गर्थिन्, ‘मेरो आमा कस्तो हुनुहुन्थ्यो ?’ एक दिन हजुरबुबाले चन्द्रमालाई देखाएर आमाको आकृति बुझाइदिँदा उनले चन्द्रमा नजिक पुग्ने बाटो पहिल्याइन्, ठूलो हुन्छु, घरको छतबाट अर्को धुरीमा टेक्छु, अर्को अर्को घर हुदै डाँडा डाँडा उक्लन्छु र चन्द्रमालाई छुन्छु। ठूलो भएर विज्ञान पढिन्, एस्ट्रोनोमी। यहीसम्बन्धी पत्रकारिता गर्न पनि थालिन्।

सानोमा हजुरबुवाले चन्द्रमामा आमाले देखाएको आकृति भेट्ने यात्रा नगरेपनि आकाशको सबैभन्दा नजिक जाने चाह भने रहिरह्यो।

बुद्धाचार्य अभिनय पनि गर्छिन्, रोशासँग रोजिताको भेटको संयोग थिएटरले नै मिलाएको हो। नेपाल टेलिभिजनमा काम गर्ने भन्ने थाहा पाएपछि सगरमाथा चढ्ने प्रस्ताव रोजितासम्म पुग्यो, जसलाई रोजिताले सहर्ष स्विकारिन्। उनलाई हिमालले बोलाए झैँ लाग्यो, उत्साहित हुँदै उनले भनिन्, ‘आकाशलाई नजिकबाट हेर्छु।’

उद्देश्य: शिखर चुम्नु छ

यहाँ आउनुभन्दा अगाडि जे जस्तो परिस्थिति भए पनि अब फर्केर हेर्ने समय छैन। अहिले यी आरोहीको एक मात्र उद्देश्य छ, सगरमाथाको शिखर चुम्नु। सगरमाथा चढ्न सफल पनि हुनु छ, सकुशल फर्कनु पनि छ। गएको जुनबाट तयारी सुरु गरेका यी महिलाले यात्राको तयारीका लागि मेहनत गरिरहेका छन्, हरेक हप्ता हाइकिङ, २५ देखि ३० केजीसम्मको भारी बोकेर पैदल हिँड्ने अरु के के, के के। परिवार मनाउन, खर्च जुटाउन, आफूलाई यात्राको लागि तयार गर्न जति मेहेनत गरेका छन्, यसमा सम्बन्धित निकायहरुले पनि सहयोग गरिरहेको पत्रकार रोशा बस्नेतले बताइन् ।

मंगलबार फोनमा कुराकानी गर्दा स्वाँस्वाँ गर्दै उनी भन्दैथिइन्, ‘हामीले अरु तयारी सबै जसो गरिसक्यौँ, यो प्रयासलाई साकार बनाउन अब मौसमले साथ दिनुपर्छ।’

उनीहरुको यो यात्राको लागि एक करोड ७५ लाखभन्दा धेरै खर्च लाग्ने देखिएको छ। नेपाल सरकार, गैरसरकारी संस्थाहरुले सहयोग त गरेका छन् तर त्यो अपुग छ। सगरमाथा आरोहण गरेर फर्केपछि पनि यसको जोहो गर्ने उनीहरुको योजना छ। नेपाल टेलिभिजनसँग उनीहरुको सहकार्य छ, उनीहरुले सगरमाथा चढ्दै गर्दा संगालेका अनुभूतिलाई विभिन्न ठाउँबाट यसले प्रत्यक्ष प्रशारण गर्नेछ।

यी पाँच चेलीलाई सगरमाथा शिखर आरोहणको शुभकामना दिन कञ्जुस्याइँ गर्नु हुँदैन।

बैशाख ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्