प्रदेश १ मा सुरक्षा व्यवस्था किन फितलो भन्दै कड्किए सांसद

?

प्रदेश नम्बर एकमा शान्ति सुरक्षाको प्रत्याभूति जनतामाझ कायम राख्न नसकेको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालले प्रदेश सरकारको तीव्र आलोचना गरेको छ।

मङ्लबार विराटनगरमा सम्पन्न बैठकको विशेष समयमा प्रतिपक्षी दल कांग्रेसले पछिल्लो समय बढ्दै गएको सुरक्षा अवस्थाबारे प्रदेश सरकारसमक्ष जवाफ माग गरेको थियो।

गत चैत्रमा धर्मगुरु श्री निवासाचार्यमाथि भएको गोली काण्ड, उदयपुर नगरपालिकामा भएको विष्फोट, विराटनगरस्थित भारतीय दुतावासको सम्पर्क कार्यालयमा भएको बम विष्फोटका घटनाले आतंक फैलदै गएको प्रतिपक्षी दल कांग्रेसले जनाएको छ। कांग्रेस सचेतक केदार कार्कीले भने, ‘केन्द्र सरकारपनि बहुमतमा रहेको छ, यहाँ पनि दुइतिहाइ बहुमतमा सरकार छ। तर, जनतालाई सुरक्षा अवस्था प्रत्याभूति गराउन सरकार किन फितलो भएको हो? यसको जवाफ जनतालाई दिनुपर्‍यो।’

शान्ति सुरक्षाप्रति उदासिन सरकारको कडा आलोचना गर्दै उनले भने, ‘प्रदेशमा अस्वाभाविक रुपमा अपराधिक घटना बढेको छ। प्रदेश सरकार दोषीमाथि कार्वाही गर्न गृह प्रसाशन परिचालन गर्न सकिरहेको छैन।’

यसैक्रममा धर्मगुरु श्री निवासाचार्यमाथि गोली प्रहार गर्ने अपराधीको अझैपनि पहिचान गर्न नसक्नु सरकारको लाचारीपन भएको आरोप समाजवादी फोरम नेपालका प्रदेशसभासदस्य जयराम यादवले लगाए।

जवाफका क्रममा प्रदेश सरकारले घटनाको गम्भीर छानविन तथा अनुसन्धान भइरहेको जनाएको छ। आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले पछिल्लो समय भएका घटनाप्रति सरकार गम्भीर रहेको स्पस्ट पारेका थिए।

त्यसैगरि, राजधानीको सन्दर्भमा समेत बैठकमा बहस भएको छ। संसद बैठकको शुन्य समयमा सुनसरीका एमालेतर्फका सांसद सर्वध्वज साँवाले राजधानी इटहरीतर्फ सार्न माग गरे। उनले भने, यतिका समय टालटुलको अवस्था बैठक चल्यो, अब स्थायी रुपमा चलाउनका लागि राजधानी इटहरीतर्फ सार्नुपर्दछ।

अर्कोतर्फ, धनकुटाकी सांसद विनादेवी राईले भने राजधानी धनकुटातर्फ लैजानुपर्ने धारणा ब्यक्त गरिन्। उनले भनिन्, पूर्वाञ्चकको केन्द्रविन्दु धनकुटा भएको र भौगोलिक, हावापानीले समेत उपयुक्त रहेको छ। धनकुटामा राजधानी बनाउनका लागि विगतकै सरकारी भवनहरु समेत यथेष्ट रहेको छ।

बैशाख ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू