अमेरिका–उत्तर कोरिया सम्बन्ध

उत्तर कोरियाका नेता किमसँग अमेरिकाको गोप्य वार्ता

उत्तर कोरियाका नेता किम जोङ–उन । तस्बिर : एएफपी

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग अमेरिकाको सीधा कुराकानी भएको बताउका छन् । तर ट्रम्पले अमेरिकाको तर्फबाट कसले किमसँग वार्ता गर्‍यो भन्ने खुलाएका छैनन् ।

विभिन्न स्रोतलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमले दिएको खबर अनुसार यसरी उत्तर कोरियाका नेता किमसँग वार्ता गर्ने व्यक्ति अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओ हुन् ।

पोम्पेओ नेता किमसँगको भेटका लागि गोप्य रुपमा उत्तर कोरियाको पोङयाङ गएको अमेरिकी सञ्चार माध्यमले बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किमबिच हुने भनिएको वार्ताको तयारी स्वरुप पोम्पेओ केही समयअघि पोङयाङ गएको नाम नखुलाइएका अधिकारीलाई उद्धृत गर्दै वासिङ्गटन पोस्ट र समाचार संस्था रोयटर्सले उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्रम्पले जापानका प्रधानमन्त्री शिन्जु आबेलाई फ्लोरिडामा स्वागत गर्दै अमेरिकाले उच्च स्तरमा उत्तर कोरियासँग छलफल गरेको बताएका थिए ।

आउँदो मे महिनामा हुने भनिएको ट्रम्प–किम वार्ताको समय र स्थान तय भएको छैन । अहिलेसम्म पाँच स्थानका बारे चर्चा भएको छ । यसमा जापानको राजधानी टोकियो प्राथमिकतामा छ ।

जापान उत्तर कोरिया मामिलामा अमेरिकाको मुख्य सहयोगी हो । जापानका प्रधानमन्त्री आबेले अमेरिका–उत्तर कोरिया वार्ताले ठोस नतिजा निकाल्नेमा आशावादी रहेको बताएका छन् ।

यसअघि उत्तर कोरियासँग सीधै कुरा गरेर प्रस्तावित वार्ताको तयारी गोप्य रुपमा भइरहेको ट्रम्प प्रशासनका अधिकारीले बताएका थिए ।

अमेरिकी तथा उत्तर कोरियाली कुप्तचर अधिकारीबिच वार्ताको तयारीका सम्बन्धमा धेरै पटक कुराकानी भएको उल्लेख गरिएको छ । यो वार्ता कुनै पनि अमेरिकी राष्ट्रपतिले सत्तामा रहँदै उत्तर कोरियाका नेतासँग गरेको पहिलो वार्ता हुनेछ ।

यसअघि तनावपूर्ण सम्बन्ध रहँदै आएको उत्तर कोरिया र त्यहाँका नेता किम जोङ–उनसँग वार्ताको तयारी भएपछि अमेरिका र ट्रम्पको सम्बन्ध सुधारको संकेतमा छ ।

उत्तर कोरियासँग भने यो वर्ष लागेसँगै चिसो सम्बन्ध न्यानो बन्ने संकेत मिलेको छ । यसको कडीको रुपमा अमेरिका र उत्तर कोरियाका नेताबिच आउँदो मे मा हुने भनिएको भेटवार्तालाई लिइएको छ ।

उत्तर कोरियाले छिमेकी दक्षिण कोरिया (जोसँग यो वर्ष लागेसँगै सम्बन्ध सुधार हुँदै गएको छ) को हातबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वार्ताका लागि निम्तो पठायो । ट्रम्पले त्यसलाई स्वीकार गरे ।

उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण सम्बन्धमा चिसो पसेको मानिँदै आएको छ । पछिल्लो समय उत्तर कोरिया आफूलाई परमाणु निशस्त्रिकरण गर्न तयार रहेको बताउने गरेको छ ।

चाहे त्यो दक्षिण कोरियाका अधिकारीसँगको भेटमा होस् वा आन्तरिक सम्बोधनका क्रममा उत्तरका नेता किमले यस्तो बताउने गरेको खबर आउने गरेका छन् ।

बैशाख ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्