साफ च्याम्पियनसिप फुटबल : नेपाल समूह ‘ए’ मा

काठमाडौं – आउँदो सेप्टेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिप फुटबल २०१८ को ड्र बुधबार बंगलादेशको राजधानी ढाकामा भएको छ ।

सात देशको सहभागिता रहने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । यो समूहमा नेपालसहित आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान रहेको छन् ।

यस्तै साबिक विजेता भारत समूह ‘बी’ मा परेको छ । यो समूहमा माल्दिभ्स र श्रीलंका छन् ।

प्रतियोगिता ढाकामा आउँदो सेप्टेम्बर ४ देखि १५ सम्म हुनेछ । सार्कमा ८ देश रहे पनि अफगानिस्तान मध्य एसियामा गएकाले सात देशको मात्रै सहभागिता रहने छ ।

नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको सेमिफाइनल भन्दा अघि पुग्न सकेको छैन । पछिल्लो संस्करणमा समूह चरणबाटै बाहिरिएको नेपाल २०१३ मा सेमिफाइनलमा पराजित भएको थियो ।

समूह ए

बंलादेश, नेपाल, पाकिस्तान र भुटान

समूह बी

भारत, माल्दिभ्स र श्रीलंका

समूह चरणमा सबै टिमले एक अर्कासँग खेलेपछि समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । नेपालले समूह चरणमा तीन खेल खेल्नु पर्नेछ ।

यस्तै समूह बी मा तीन टोली मात्रै भएकाले त्यो समूहका टोलीले समूह चरणमा मात्रै दुई खेल खेल्नु पर्नेछ । दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने भएकाले समूह ‘ए’ बाट दुई तथा समूह ‘बी’ बाट एउटा मात्रै टोली समूह चरणकै खेलबाट घर फर्किने छन् ।

बंगलादेशमा यो प्रतियोगिता हुन लागेको तेस्रो पटक हो । यसअघि सन् २००३ र सन् २००९ मा बंगलादेशमा प्रतियोगिता भएको थियो ।

बंगलादेश सन् २००३ मा विजेता पनि बनेको थियो । विश्व फुटबलको प्रशासकीय निकाय फिफाको बरियतामा दक्षिण एसियामा शीर्ष स्थानमा रहेको टोली भारत साफमा सबै भन्दा सफल छ ।

उसले यसअघिको सहित सात पटक उपाधि जितेको छ । यस्तै माल्दिभ्सले सन् २००८ तथा श्रीलंकाले सन् १९९५ मा उपाधि उचालेका थिए । नेपाल पाकिस्तान र भुटानले अहिलेसम्म उपाधि चुमेका छैनन् ।

बैशाख ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्