प्रदेश २ : मुख्य न्यायधिवक्ताको काम, कर्तव्य सम्बन्धी विधेयक पारित

जनकपुर – प्रदेश नं. २ को मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा सर्त सम्बन्धी विधेयक २०७४ सर्वसम्मतिमा पारित भएको छ ।

संसदमा पेश गरिएको विधेयक माथि दफाबार छलफल गरी प्रतिवेदन पेश गर्न मुख्यमन्त्री मो. लालबाबु राउतको तर्फबाट आन्तरिक मामिला तथा कानुज मन्त्री ज्ञानेन्द्र यादवले संसदमा पेश गरेका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले प्रस्तुत गरेको मुख्य न्यायधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवा सर्त सम्बन्धी अध्ययन समिति गठन गर्ने बारेको प्रस्तावमा सांसदहरुले सहमति जनाएपछि सभामुख सरोज कुमार यादवले विधेयक पारित भएको घोषणा गरे ।

विधेयक दर्ता गराएका आन्तरिक मामिला तथा कानून मन्त्री यादवले अध्ययन समितिमा प्रत्येक राजनीतिक दलबाट एक÷एक जना रहने व्यवस्था अनुरुप ६ वटा पार्टीका तर्फबाट ६ जना सांसदलाई चयन गरेका छन् ।

यस्तै अध्ययन समितिमा एक जना संयोजक र बाँकी सदस्य रहने व्यवस्था छ । गठित समितिको आन्तरिक छलफलबाट संयोजक तथा सदस्य चयन गरि ६० दिन भित्र प्रतिवेदन पेश गर्न म्याद दिइएको संसद समक्ष कानुन मन्त्री यादवले जानकारी गराएका छन् ।

अध्ययन समितिमा संघीय समाजवादी फोरम नेपालको तर्फबाट संजय यादव, राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट रानी कुमारी तिवारी, नेकपा एमालेको तर्फबाट गोविन्द न्यौपाने, नेपाली काँग्रेसको तर्फबाट शिवचन्द्र चौधरी, नेकपा माओवादी केन्द्रको तर्फबाट रुवी कुमारी कर्ण र नेपाल संघीय समाजवादी पार्टीको तर्फबाट सविता देवी साहलाई चयन गरिएको छ ।

यता, प्रदेश नं २ को उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव बिरामी भएपछि उनको जिम्मेवारी तत्कालका लागि भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनललाई दिइएको छ । मन्त्री यादवलाई वैशाख १ गते राति हृदयघात भएकाले उपचारका लागि काठमाडौं लागिएको छ ।

प्रदेश २ को आगामी बैठक वैशाख ११ गते ३ बजे सम्मको लागि स्थगित गरिएको सभामुख सरोजकुमार यादवले जनाएका छन् ।

बैशाख ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्