बारबरा एडम्स खोजी पत्रकारिता सम्मान नागरिक दैनिकका पौडेललाई

काठमाडौँ– बारबरा एडम्स खोजी पत्रकारिता सम्मान – सन् २०१७ नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई प्रदान गरिने भएको छ। पौडेललाई नगद राशि एक लाख एक रुपैँया पुरस्कार रकम सहित लोकतन्त्र दिवसको दिन पुरस्कृत गरिनेछ। बारबरा एडम्सको जन्मजयन्तीको अवसरमा पूर्व राष्ट्रपति डा. रामवरण यादवले पुरस्कार प्रदान गर्नेछन्।

पुरस्कारको लागि सन् २०१८ को मार्च ३१ सम्म ४५ ओटा आवेदनहरु परेका थिए। निर्णायक समितिको बैठकले तीन चरणमा छनौट गरेर पौडेललाई पुरस्कार प्रदान गर्न लागेको हो। पौडेलले नागरिक दैनिकमा नेपाल आयल निगमको नेतृत्वबाट भएको सिलसिलाबद्ध भ्रष्ट्राचार तथा अनियमितता सम्बन्धि रिपोर्टिङ गरेका थिए।

फाउन्डेसनले यो वर्ष बारबरा एडम्स खोजी पत्रकारिता सम्मान अन्तर्गत पाँच रिपोर्टहरुलाई प्रोत्साहन सम्मान गर्ने निर्णय गरेको छ। यसमा सन् २०१७ को लागि क्रसर डनको दबदबा शिर्षकको खोजी रिपोर्टका लागि कल्पना भट्टराईलाई १० हजार १ रुपैँयाले सम्मान गरिनेछ।

बारबरा फाउन्डेसन खोजी पत्रकारिताको सम्मान गर्ने गैरसरकारी संस्था हो। स्वर्गीय बारबरा एडम्स पेशाले पत्रकार तथा लेखिका थिइन्। नेपालमा खोजी पत्रकारीताको संस्थागत विकासको लागि बारबराले सन् २०१६ मा १० लाखको अक्षयकोष रहने गरी ‘बारबरा एडम्स खोजी पत्रकारीता सम्मान’ को स्थापना गरेकी थिइन्।

सन् १९३१ मा अमेरिकाको न्यूयोर्क शहरमा जन्मेकी बारबरा एडम्सले ५५ वर्ष नेपालमा बसेर काम गरिन्। २०७३ साल बैशाख १० गते निधन भएकी बारबरा बेलायती महारानी एलिजावेथ नेपालको राजकीय भ्रमणको रिपोर्टिङको लागि सन् १९६१ मा काठमाडौँ आएकी थिइन्।

बैशाख ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्