बाम एकता

‘प्रचण्डले कार्यकारी भूमिका नपाए एकता असम्भव’

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग असन्तुष्ट समूहसँगै नेकपा माओवादीका केन्द्रका पक्षधरहरु एमाले—माओवादी एकता लागि प्रचण्डलाई कार्यकारी भूमिका वा नेतृत्वसहित दुवै पार्टीको समान हैसियत कायम हुनुपर्ने पक्षमा उभिएका छन्।

यी विभिन्न खेमाका प्रवृद्ध व्यक्तिहरुसँग लिएको अन्तर्वार्ताको निष्कर्षअनुसार प्रचण्डलाई एकीकृत पार्टीको कार्यकारी भूमिका र नेकपा माओवादी केन्द्रलाई समान हैसियत नदिँदासम्म एकताको कुरा गर्नु अव्यवहारिक हो।

त्यस्तै वाम विचारधारा बोक्ने तर एमाले र माओवादी कसैसँग पनि आवद्ध नभएका प्राज्ञ चैतन्य मिश्र पार्टी एकता हुनेमा अहिलेसम्म आफू आशावादी नै भएको तर एकता नभएमा मुलुक फेरि ठूलो संकटमा धकलिने धारणा राख्छन्।

पार्टी एकताका लागि एमाले वा माओवादीका तर्फबाट राखिएका सर्तहरुबारे भने केही बोल्न चाहन्नन्। प्रधानमन्त्री ओलीसँग असन्तुष्ट राधाकृष्ण मैनालीले प्रचण्डलाई एकीकृत पार्टीको कार्यकारी भूमिका दिएपछि मात्रै वाम एकता सम्भव रहेको बताउँछन्।

राधाकृष्ण मैनाली।

‘अहिले केपी ओली प्रधानमन्त्री पनि आफैँ हुने र एकीकृत पार्टीको अध्यक्ष पनि आफैँ हुने रणनीतिमा उभिएको देखिन्छ। त्यसरी पार्टी एकता सम्भव छैन,’ मैनालीले भने, ‘एमाले र माओवादीको बराबरी हैसियत कायम भएपछि मात्रै एकता अघि बढ्छ।’

एकताका लागि प्रधानमन्त्री ओलीले दिलको ठूलो उदारता देखाउनु पर्ने र शक्ति बाँडफाँट पनि बराबरी गर्नुपर्ने पक्षमा मैनाली उभिएका छन्।
‘एमालेले माओवादीको चित्त बुझाउनु अहिलेको आवश्यकता हो। यी दुई पार्टीको एकता भएन भने सरकार ढल्छ अनि कि कांग्रेस — माओवादीको सरकार बन्छ कि मध्यावधि चुनावमा जानु पर्ने अवस्था आउँछ,’ मैनालीले भने, ‘त्यसो हुनु भनेको मुलुक फेरि संकटमा पर्नु हो।’

मैनालीले प्रधानमन्त्री ओली र दाहाल पार्टीको हितभन्दा धेरै आफ्नै व्यक्तिगत स्वार्थका लागि लडिरहेको पनि देखिने बताउँछन्।
‘ओलीलाई प्रधानमन्त्री मात्रै बनेर पुगेको छैन। उहाँ एकीकृत पार्टीको अध्यक्ष बन्ने दाउमा पनि भएको देखिन्छ’, मैनालीे भन्छन्, ‘प्रचण्डलाई पनि एकीकृत पार्टीको शक्तिशाली बन्नु छ।’

अर्का राजनीतिक विश्लेषक एवं माओवादी पक्षधर श्याम श्रेष्ठले विद्यमान समस्या व्यक्तिगत भन्दा पनि पार्टी हैसियत कहाँ पुग्छ भन्ने भएको बताउँछन्। एकतामा माओवादीले बराबरी हैसित खोजेको र त्यो उचित समेत भएको उनी बताउँछन्।

श्याम श्रेष्ठ।

‘एमाले र माओवादी उस्तै साइजका हुन्। विलय हुनलाई एकता गर्ने होइन भन्ने भावना माओवादीको छ। त्यसैले बराबरी हैसियतमा मात्रै एकता हुन्छ र त्यो दीगो पनि हुन्छ,’ श्रेष्ठले भने, ‘लोकप्रिय मतका आधारमा एकता गर्न मिल्दैन भन्ने माओवादीको भनाइ सार्थक छ।’

श्रेष्ठ पहिल्यै टुंग्याउनु पर्ने यो विषयमा अन्तिममा आएर विवाद उत्पन्न हुनु शुभ संकेत नभएको बताउँछन्।

मिश्रको पार्टी एकता नभए मुलुक फेरि अस्थीर राजनीतिकको दलदलमा फस्ने र त्यसले विकास र समृद्धिमा बाधा पुर्‍याउने निश्कर्ष छ।

एमाले र माओवादीद्धारा पार्टी एकताका लागि आधार तयार पार्न गठित गरेका राजनीतिक प्रतिवेदन र संगठन तथा विधान मस्यौदा कार्यदललका नेताहरुले गत फागुन २१ गते यही वैशाख ९ गते पार्टी एकतालाई औपचारिक रुप दिने घोषणा गरेका थिए ।

तर प्रधानमन्त्री ओलीले आफ्ना पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र प्रचण्ड दुवैलाई अलग अलगरुपमा ‘तपाई नै हो एकीकृत पार्टीको अध्यक्ष’ भन्ने आश्वासन दिएको भन्दै प्रचण्ड लगायत मओवादी केन्द्रका नेता सशंकित बनेका छन्। माओवादीले दुवै पार्टीका तर्फबाट ५०/५० प्रतिशतको अनुपातका आधारमा केन्द्रीय समिति गठन हुनु पर्ने अडान अघि सारेको छ।

चैतन्य।

जनयुद्ध र जनआन्दोलनको योगदानको बुझाइ एकै हुनु पर्ने र एकीकृत पार्टीको चुनाव चिन्हमा हयिसा हतौडा पनि सामेल गर्नु पर्ने अडान समेत माओवादीको छ। त्यसै कारण पछिल्ला दुई दिनमा भएका प्रधानमन्त्री ओली र प्रचण्डबीचको बार्ता र एकता संयोजन समितको बैठक निश्कर्ष विहिन बन्न पुगेको छ भने अवको एमाले र माओवादीबीचको एकताको छलफल अनिश्चित बनेको छ।

बैशाख ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्