अमेरिका–उत्तर कोरिया सम्बन्ध

किमसँगको वार्ता रद्द हुन सक्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँगको वार्ता उत्पादक नहुने देखिएमा आफूले रद्द गर्न सक्ने बताएका छन् । ट्रम्प र किमबिच आउँदो मे मा वार्ता हुने तयारी छ ।

यसको तयारी स्वरुप अमेरिकी गुप्तचर निकाय सिआइएका प्रमुख माइक पोम्पेओले केही समयअघि नेता किमलाई उत्तर कोरिया गएर गोप्य रुपमा भेटेको बुधबार मात्रै खुलेको छ ।

दुई देशले गोप्य रुपमा वार्ताको तयारी तीब्र बनाएका छन् । यहि बिचमा अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ता फलदायी हुने नदेखिएमा आफू त्यहाँबाट बाहिरिने बताएका हुन् ।

अमेरिका भ्रमणमा रहेको जापानका प्रधानमन्त्री शिन्जु आबेसँग भेटपछि भएको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले यस्तो बताएका हुन् ।

अमेरिकाको सहयोगी रहँदै आएको जापानका प्रधानमन्त्री आबे अमेरिका भ्रमणमा रहेको र दुई नेताबिच प्रस्तावित अमेरिका–उत्तर कोरिया वार्ताका बारेमा कुराकानी भएको उल्लेख गरिएको छ ।

जापानका प्रधानमन्त्री आबेले उत्तर कोरियामाथि परमाणु निशस्त्रिकरणका लागि उच्च दबाब दिनु पर्ने बताए । यसअघि ट्रम्पले सिआइए निर्देशक पोम्पेओले किमलाई भेटेको पुष्टि गर्दै उनले किमसँगको सम्बन्ध बिस्तार गरेको बताएका थिए ।

ट्रम्प र जापानका प्रधानमन्त्री आबेबिच फ्लोरिडामा भएको वार्तामा उत्तर कोरियालाई परमाणु हतियार त्याग्न उच्च दबाब दिने सहमति भएको छ ।

आउँदो मे महिनामा हुने भनिएको ट्रम्प–किम वार्ताको समय र स्थान तय भएको छैन । अहिलेसम्म पाँच स्थानका बारे चर्चा भएको छ । यसमा जापानको राजधानी टोकियो प्राथमिकतामा छ ।

जापान उत्तर कोरिया मामिलामा अमेरिकाको मुख्य सहयोगी हो । जापानका प्रधानमन्त्री आबेले अमेरिका–उत्तर कोरिया वार्ताले ठोस नतिजा निकाल्नेमा आशावादी रहेको बताएका छन् ।

अमेरिकी तथा उत्तर कोरियाली कुप्तचर अधिकारीबिच वार्ताको तयारीका सम्बन्धमा धेरै पटक कुराकानी भएको उल्लेख गरिएको छ । यो वार्ता कुनै पनि अमेरिकी राष्ट्रपतिले सत्तामा रहँदै उत्तर कोरियाका नेतासँग गरेको पहिलो वार्ता हुनेछ ।

यसअघि तनावपूर्ण सम्बन्ध रहँदै आएको उत्तर कोरिया र त्यहाँका नेता किम जोङ–उनसँग वार्ताको तयारी भएपछि अमेरिका र ट्रम्पको सम्बन्ध सुधारको संकेतमा छ ।

उत्तर कोरियाका नेता किम जोङ–उन । तस्बिर : एएफपी

उत्तर कोरियासँग यो वर्ष लागेसँगै चिसो सम्बन्ध न्यानो बन्ने संकेत मिलेको छ । यसको कडीको रुपमा अमेरिका र उत्तर कोरियाका नेताबिच आउँदो मे मा हुने भनिएको भेटवार्तालाई लिइएको छ ।

उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण सम्बन्धमा चिसो पसेको मानिँदै आएको छ । पछिल्लो समय उत्तर कोरिया आफूलाई परमाणु निशस्त्रिकरण गर्न तयार रहेको बताउने गरेको छ ।

बैशाख ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्