इजरायलले लागत बढाउने भनेपछि अब नेपाली कामदार नपठाउने निर्णय

काठमाडौँ-परीक्षणमा रहेको इजरायलको रोजगारी थप अगाडि नबढ्ने भएको छ। इजरायलले थप कामदार लान सम्झौता गर्दा लागत बढ्ने बताएपछि श्रम सम्झौताको प्रक्रिया नै रोकिएको छ।

नेपालस्थित इजरायलका राजदूत र श्रम मन्त्रालयबीचमा भएको छलफलमा इजरायलले प्रतिव्यक्ति १ हजार डलर मागेपछि इजरायल कामदार नपठाउने मनसायमा मन्त्रालय पुगेको हो।

इजरायलले प्रश्ताव गरेर थप छलफल गर्ने बताएपनि लागत बढाउने पक्षमा श्रम मन्त्रालय नरहेको मन्त्रालयका अधिकारीले बताए। ‘हामीले कमाउन पठाउने हो, पहिल्यै पैसा बुझाएर पठाउन सकिंदैन, अब इजरायलसँग थप सम्झौता हुँदैन,’ ती अधिकारीले भने।

थप सम्झौता नभएपनि पाइलट फेजमा गएका कामदार भने ५ वर्ष काम गरेर फर्किन पाउनेछन्। एक हजार लागत तिरे २०० जना कामदार लिन सकिने इजरायलका प्रतिनिधिले बताएका छन्। तर लागत नबुझाउने पक्षमा मन्त्रालय रहेपछि थप छलफल अगाडी नबढेको हो।

अहिले इजरायल जाने कामदार हवाई टिकट बुझाएर मात्रै गएका छन्। इजरायलले पाइलट फेजमा १ सय २० जना कामदार लैजाने बताएपनि अझै २६ जना जान पाएका छैनन्। भाषा र तालिम सकेर सबै प्रक्रिया पूरा गरेपनि इजरायलले उनीहरुको भिसा पठाएको छैन।

पहिलो चरणमा ६० जना कामदार लगेको इजरायले दोश्रो चरणमा पनि ६० जना नै लाने बताएको थियो। तर गत भदौमा लानु पर्ने कामदार अझै जान पाएका छैनन्। यस्तै गत जनवरिमा नै इजरायलले नियमित कामदार लैजान सम्झौता गर्ने बताएपनि थप सम्झौता हुन नसकेको हो। इजरायलमा सरकार आफैंले कामदार पठाउँदै आएको छ।

सबै प्रक्रिया पूरा गरेर पनि इजरायल जान नपाएपछि कामदारले वैदेशिक रोजगार विभागमाथि आक्रोश पोख्न थालेको विभागका महानिर्देशक भुवन प्रसाद आचार्यले बताए। उनले भने, ‘कामदारले फोन गरेर गुनासो गर्छन्, भएको जागिर छाडियो, इजरायल जान पनि पाइएन, हाम्रो बिचल्ली भयो।’

परीक्षण चरणमा तीन सय जना कामदार केयर गिभर लैजाने भनेपनि दुई चरणमा एक सय २० जनाको मात्रै कोटा तोकेको थियो। पहिलो चरणमा ५९ जना इजरायल पुगेका थिए। झण्डै एक लाख रुपैयाँ खर्च गरेर इजरायल जाने कामदारले मासिक एक लाख रुपैयाँभन्दा बढी कमाउँछन्।

दोश्रो चरणमा ६० जनाको कोटा तोकेपछि वैदेशिक रोजगार विभागले गएको जेठमै सबै प्रक्रिया पूरा गरेको थियो। उनीहरूले हिब्रु र अंग्रेजी भाषा, त्यहाँ गर्नुपर्ने काम सिकिसिकेका थिए र स्वास्थ्य परीक्षण समेत सकिएको थियो। केयर गिभरमा इजरायल जाने नेपालीमध्ये अधिकांश महिला छन्। तीमध्ये धेरैले इजरायल जानकै भनेर लागि अनमी, नर्सको जागिर छाडको पाइएको छ।

तीन महिनाको केयर गिभरको तालिम लिएका वा नर्सिङ पढेकाहरूलाई इजरायलले लाने भनेको थियो। इजरायलमा विशेषगरी वृद्धवृद्धालाई स्याहारसुसार गर्ने कामका केयर गिभर लैजाने गरिएको छ।

कृषि र केयरगिभरमा नेपाली कामदार लैजाने इजरायले जनाएको थियो। तर, अहिले इजरायल र नेपालबीच थप कामदार लाने विषय अन्योलमा परेको छ।

यस्तै, इजरायलको रोजगारी संकटमा पार्न रोजगारदाता कम्पनी र नेपालका म्यानपावर कम्पनीले समेत चलखेल गरेको श्रोतले जनाएको छ। म्यानपावर व्यवसायीले बढी रकम असुलेको भन्दै सरकारले म्यानपावरलाई कामदार पठाउन रोक लगाएर आफैं पठाउन थालेपछि म्यानपावर व्यवसायी असन्तुष्ट थिए।

म्यानपवार कम्पनीले सरकारसँग सम्झौता नभए म्यानपवार कम्पनीले इजरायलले मागेजति रकम दिएर कामदार पठाउने भन्दै लभिङ गरेको ती अधिकारीले बताए।

म्यानपावर कम्पनीले कामदार पठाउँदा रोजगारदाता कम्पनीलाई पनि कमिसन दिने भएकाले त्यहाँका रोजगारदाता कम्पनीले सरकारलाई कामदारको माग नदिएपछि इजरायलले माग पत्र पठाउन नसकेको श्रम मन्त्रालयले जनाएको छ।

बैशाख ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्