काठमाडौं- मच्छिन्द्रनाथको जात्रा विहीबार सुरु भएको छ। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ ललितपुरको पुल्चोकबाट तान्‍न सुरु गरिएको हो।

बुधबार राति रातो मछिन्द्रनाथलाई पुल्चोक रथमा पुर्‍याइएपछि रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको हो । रथ तान्ने पर्वभरि होम र गाईदान गर्ने गरिन्छ।

रातो मच्छिन्द्रनाथको रथयात्रा नेपालकाे सबैभन्दा लामो जात्रा हो। रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ। सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्छन्।

करिब १ हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ।

जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद बताउँछन् । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्रा हो यो।

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् ।

रथ तान्ने शुरु गर्ने दिन गुरुज्यूको पल्टनले विगुल बजाएर हर्षबढाई गर्ने चलन छ । रथारोहण गराउन मूर्तिलाई तःबहालस्थित मन्दिरबाट खटमा राखी पुल्चोक पुर्‍याउने चलन छ । त्यसै अवसरमा मत्स्येन्द्रनाथका बाबु भनिने मीननाथलाई पनि चक्रबहीबाट सानो रथमा राखेर गाःबहाल पुर्‍याइनेछ ।

पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको मत्स्येन्द्रनाथको जात्रा लगनखेलमा भोटो देखाई मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ । यो जात्रा मुलुकभरिमा मनाइनेमध्ये लामो मानिन्छ ।

जनश्रुतिअनुसार लिच्छविकालमा लामो समयसम्म वर्षा नभई अनिकाल फैलियो । गुरु गोरक्षनाथले नवनागलाई आशन बनाई नाग समाधिमा बसेकाले पानी नपरेको कुरा तान्त्रिक तथा गुरु बन्धुदत्तले राजा नरेन्द्रदेवलाई सुनाए । यसलाई समाधान गर्न रातो मच्छिन्द्रनाथ उपत्यकामा ल्याउनुपर्ने कुरा उठ्यो ।

त्यसपछि राजा, बन्धुदत्त आचार्य र रथचक्र -ललित ज्यापु)ले धार्मिक विधि र विविध कठिन परिस्थिति सामना गरेर परिश्रमका साथ रातो मच्छिन्द्रनाथ उपत्यकामा भित्र्याए । ऐतिहासिक भनाइअनुसार कलिगढ संवत् ३५८८, ईस्वी संवत् ६५९, सख् संवत् ५४४मा मच्छिन्द्रनाथ उपत्यकामा ल्याइएको हो ।

जब रातो मच्छिन्द्रनाथ बुंगमती ल्याइयो, तब गुरु गोरक्षनाथ उहाँको आदर स्वागतका लागि उठेपछि नागहरूले मुक्ति पाए । त्यसपछि घनघोर वर्षा भयो । रातो मच्छिन्द्रनाथबाट यस्तो लोकहित र लोककल्याणकारी कार्य सम्पन्न भएकोले रातो मच्छिन्द्रनाथलाई लोकेश्वर भनेर पुकारिनुको साथै प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथ जात्रा मनाउन थालिएको हो ।

लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी गर्‍यो ।

दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्‍यो । सो विवाद राजासमक्ष पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए ।

सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ । जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ ।

संस्कृतिविद् सत्यमोहन जोशी कालो मखमलको कपडामा मणिमाणिक, बहुमूल्य नवरत्नजडित सो भोटोको दर्शन गर्नाले मानसिक चिन्ता हट्ने, शान्ति मिल्ने र शुभफलदायी हुन्छ भन्ने सांस्कृतिक मान्यता रहेको बताउँछन् ।

काठ र बेतको कुशल संयोजनबाट रथ मजवुत हुने बताउने कालिगढ का अनुसार पाङ्ग्राले ओगटेको क्षेत्रको अनुपातमा अग्लो हुने रथ आधा ढल्कदा समेत पल्टिदैन । निकै अग्लो र सन्तुलित ढंगले निर्माण हुने रातो मच्छिन्द्रनाथको रथ विश्वको उत्कृष्ट कालीगढी नमुनामा पर्छ ।