राष्ट्रपति रनिङ शिल्ड राधिका माविलाई

विराटनगर- राष्ट्रिय खेलकुद परिषद्को खेलकुद कार्यक्रम अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिताको १० औं संस्करणको उपाधि मोरङको राधिका माविले जितेको छ। विराटनगरको सहिद रंगशालामा विहीबार भएको अन्तिम दिनको खेलमा उर्लाबारीको राधिका माविले कुल ७ स्वर्ण, ४ रजत र ४ कास्य गरि कुल १५ पदक हात पारेको छ।

५० वटा नीजि तथा सार्वजनिक विद्यालयको सहभागितामा सम्पन्न प्रतियोगितामा पहिलो भएको राधिका माविले शिल्डसहित नगद ५० हजार रुपैया हात पारेको छ। त्यसैगरि, इटहराको सरस्वती माविले ५ स्वर्ण, १ रजत र ३ कास्य गरि कुल ९ पदक हात पारेको छ। प्रतियोगितामा दोश्रो स्थानमा सिमीत बनेको सरस्वती माविले ३५ हजार रुपैया हात पार्‍यो। त्यसैगरि, मोरंगकै रतुवामाईस्थित सुनवर्षी माविले ४ स्वर्ण, र १ कास्यसहित पाच पदक पोल्टामा पारेको छ।

तीन दिनसम्म आयोजित प्रतियोगिताको तेश्रो स्थानमा सिमीत बनेको सुनवर्षी माविले ९ हजार रुपैया हात पार्‍यो। समापनका क्रममा प्रतियोगिताले नयाँ खेलाडीमा उत्साह प्रदान गरेको जिल्ला खेलकुद विकास समिति मोरंगका अध्यक्ष किशोरलाल अमात्यले बताए। उनले भने, ‘सधै बजेट अभावका कारण खेलकुद प्रतियोगिता गराउन सकिन्न तर, प्रतियोगिताका समय भने खेलाडी, विद्यालयको उपस्थिति बाक्लो रहेको छ।’

जिल्लास्तरीय खेलकुद प्रतियोगितामा मोरंग जिल्लाका ५० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागिता थियो । प्रतियोगितामा कराते, तेक्वान्दो, उसु, भलिबल, कबडी र एथलेटिक्समा गरि कुल ६ सय खेलाडी सहभागी भएको खेलकुद समिति मोरंगले जनाएको छ।

बैशाख ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्