कामपाको प्रशासकीय प्रमुखमा सचिव कोइराला

काठमाडौँ-काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा नेपाल सरकारका सचिव यादवप्रसाद कोइरालाले पदबहाली गरेका छन्। यसअघि सरकारले सहसचिव स्तरका कर्मचारीलाई कामपाको यस पदमा पठाउने गरेको थियो।

१६ वर्ष सरकारी सेवामा काम गरिसक्नुभएका कोइरालाले गृह प्रशासन, सामान्य प्रशासनसँगै इलाम जिल्लाको तत्कालीन स्थानीय विकास अधिकारी भएर स्थानीय सेवाको अनुभव हासिल गरेका छन्।

पदबहाली पछि बोल्दै सचिव कोइरालाले कार्यालय समयमा इमान्दारिताका साथ काम गर्न, नागरिकलाई दुःख नदिन र महानगर म आफैँ बनाउँछु भनेर प्रतिबद्धता जनाउन अधिकारीलाई आग्रह गरे।

विविधतापूर्ण महानगरमा एकीकृत र योजनाबद्ध सेवा दिन र जनप्रतिनिधिले बनाएका नीति कार्यान्वयन गर्न सदैव तत्पर रहनुपर्नेमा पनि उनको जोड रहेको थियो । नेपाल सरकार मन्त्रीपरिषद्को चैत २० गते निर्णयअनुसार कोइरालाले गत सोमबार महानगरमा पदबहाली गरेका हुन।

कामपाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माको सरुवा भएसँगै कोइराला आएका छन्। गत भदौमा कामपा आएका शर्मा अर्थ मन्त्रालयअन्तर्गत ठूला करदाता कार्यालयको नेतृत्व समाल्दै छन्।

बैशाख ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्