काँग्रेसको समीक्षा बैठक पुनः शुक्रबार बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ-नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक प्रतिनिधि र प्रदेश निर्वाचनको समीक्षा गर्न पुनः बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिए।

गत चैत ९ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठक चैत १६ गते पार्टीका नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगित गरिएको थियो।

यसअघि छ दिनसम्म चलेको बैठकमा ४४ जना केन्द्रीय सदस्यले निर्वाचनमा पार्टीको हारका सम्बन्धमा आफ्ना धारणा राखेका थिए।

बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको सम्बन्धमा पक्ष विपक्षमा तर्क राखेका थिए। गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसले नराम्रो हार व्यहोरेको थियो।

काँग्रेसको यस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान तोक्नुका साथै केन्द्रीय समितिमा रिक्त पदाधिकारी र सदस्यको नियुक्तिसमेतको निर्णय गर्ने बताइएको छ ।

बैशाख ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्