फेरि स्थगित भयो कांग्रेस बैठक

नेपाली कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ-नेपाली काँग्रेसको शुक्रबारका लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भनिएको बैठक अधिकांश नेताहरु केन्द्रीय राजधानी बाहिर भएकाले स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिए।

अर्को बैठक वैशाख ९ गते बिहान ११ बजेका लागि तोकिएको उनले बताए। गत चैत ९ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक चैत १६ गते पार्टीका नेता खुमबहादुर खड्काको निधनमा स्थगित गरिएपछि सो बैठक शुक्रबार बिहान ११ बजेका लागि निर्धारण गरिएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवरोधले काठमाडौँ उपत्यका बाहिर रहेका नेताहरु आज राजधानी आउन नसकेपछि शुक्रबारको बैठक स्थगित गर्नुपरेको पार्टी कार्यालयले जनाएको छ।

त्रिभुवन विमानस्थलमा गएराति मालिन्दो एयरको विमान उडानका क्रममा चिप्लिएर धावनमार्गबाट बाहिर गएपछि विमानस्थल केही समयका लागि बन्द भएको थियो।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत केन्द्रीय सदस्यहरु पार्टीका विभिन्न कार्यक्रमका लागि उपत्यका बाहिर छन्। यसअघिको बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको सम्बन्धमा पक्ष विपक्षमा तर्क राखेका थिए।

गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसले नराम्रो हार व्यहोरेको थियो।

बैशाख ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्