बम विस्फोटबाट घाइते छोराको उपचार खर्च व्यहोर्न हैरानी

आइसियुमा उपाचारार्थ घाइते बालक सन्दीप राई। तस्बिरहरु: अभयकुमार राई

विराटनगर- हातमा सानो निलो रंगको झोला, घरि औषधी पसल, त घरि सिँढी मूनि विच्छाइएको राढीविस्तराको सहारा। गत चैत २९ गतेदेखि विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा उदयपुर गाइघाटकी पुष्पकुमारी राईको दैनिकी यस्तो बन्दै गएको छ।

चैत २९ गते अस्पताल भर्ना भएको त्योदिन उनको १४ वर्षे छोरा संदीप राई पारस जीवनमणरको दोसाँधमा थिए। राति १ बजे भर्ना गरिएका सन्दीपको अस्पतालले करिब ४ घण्टाको लामो शल्यक्रिया गर्‍यो। हाल सन्दीपको अवस्था केही सुदृढ हुदै गएको छ।

एकातिर छोरा अस्पतालको शैयामा उपचारार्थ छन्, अर्कोतर्फ परिवारमा उपचारखर्च कसरी फर्छ्यौट गर्ने चिन्ता बढ्दै गएको छ। यतिबेला उपचारार्थ सन्दीपलाई हेर्न मन्त्री, विभिन्न दलका नेतादेखि कार्यकर्ता पुगेका छन्। सबैले एक स्वर गरेका छन्, ‘चिन्ता नगर्नुस्, उपचारखर्चका लागि पहल गर्छौँ।’

बुधबारका दिन संघीय मामिला मन्त्री लालबाबु पण्डित पनि उपचारार्थ बालक हेर्न पुगे। उनले पनि आश्वासन दिए, सन्दीपको खर्च सरकारले ब्यहोर्नेछ। ‘तर सरकारले कसरी कहिले खर्च ब्यहोर्छ?’ आँखाभरि आँसु बनाएकी आमा पुष्पकुमारी भन्दै थिइन्।

चैत २८ गते साँझ ५ बजेको समय गाईघाटस्थित थारुहट रंगशाला नजिकैको घाँसेचौरमा ठूलो आवाजसहित बम विष्फोट भयो। त्यस क्रममा घरमा रहेको दुईवटा पाडाभैँसी चराउन हिँडेका सन्दीप विष्फोटमा परी घाइते भए। पाडो भैँसीलाई घास चराउन जानेक्रममा सडकमा भेटिएको कालो रंगको झोला उनले भेटे। उनले सोचे, ‘भैँसीले झोला खाला बरु झोला फल्दिनुपर्यो।’ उनले झोला टिपेर फ्याल्ने क्रममा ठूलो विष्फोट भयो। विष्फोटले सन्दीपको पेटमा ठूलो चोट लाग्यो। उनलाई तत्काल उपाचारका लागि नजिकैको उदयपुर जिल्ला अस्पताल पुर्‍याइयो।

सन्दीपको अवस्था गम्भीर भएकाले जिल्ला अस्पतालले तत्काल धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पुराउन भन्यो। सन्दीपको बुबा मणिकुमार राई र पुष्पकुमारी धरान पुगे, तर त्यहाँ उनको उपचारका लागि राख्ने अवस्था भएन। उनीहरु विराटनगरको नोबेल अस्पताल पुगे, नोबेलमा समेत भर्ना गर्ने अवस्था नभएपछि राति १ बजे लाइफ गार्ड अस्पतालमा पुगे।

अस्पतालका चिकित्सक एवं प्रमुख कैलाश श्रेष्ठका अनुसार, घाइते अवस्थामा ल्याइएका सन्दीपको अवस्था गम्भीर थियो। बमका छर्रा

प्रदेश नम्बर एकका कांग्रेस संसदीय दलका नेता राजीव कोइराला तथा उपनेता केदार कार्की घाइते परिवारलाई भेट्दै।

पेटमा र भित्रका अंग आन्द्रा बाहिर निस्किएको अवस्था थियो। उनले भने, ‘तत्कालै करिब ४ घण्टाको लामो शल्यक्रिया गर्‍यौँ र बच्चालाई जोगाउन सक्यौँ। अझै पनि उनको अवस्था गम्भीर नै हो। उनको शौचलाई पाइपबाट निकालिएको छ। पेटमा सिलाइ गरिएको हुनाले डिस्चार्ज भएको एक महिनापछि पुनः सन्दीपले उपचारका लागि अस्पताल आउनुपर्ने हुन्छ।’

उपचारका क्रममा इन्सेन्टिभ केयर युनिट आइसियूको शय्यामा रहेका सन्दीप अब थोरै बोल्न सक्ने भएका छन्। सन्दीपले झोला पाडोले खाला भन्ने डरले उठाएर फ्याल्न खोजेको अवस्थामा विष्फोट भएको बताएका थिए। त्यसपछि उनको पेट, हात, अनुहारमा रगत बगेको मात्र उनलाई सम्झना रहेछ।

अस्पतालका अनुसार, हाल सुधारोन्मुख अवस्थामा रहेका सन्दीपलाई आइसियुबाट सोमबारसम्ममा वार्डमा सार्ने तयारी गरिरहेको छ। त्यसको केहीदिनपछि विदा दिने अवस्था पुग्न सकिने चिकित्सक श्रेष्ठको भनाइ छ। अर्कोतर्फ, अस्पताल भर्नाका क्रममा १ हजार रुपैया जम्मा गरेको राई परिवारले औषधीका लागि २० हजार रुपैयाँ तिरेको छ। तर, हालसम्म औषधी खर्चमात्र कम्तीमा २ लाख रुपैया पुगेको आमा पुष्पकुमारी बताउँछिन्। गाईघाटमा बंगुरको मासु विक्री गर्दै परिवार धान्दै आएको राईपरिवारलाई अस्पतालको खर्चपनि त्यसैगरि बढेको हेक्का छ। तर, कसरी तिर्ने आमालाई पिरलो छ।

आमा पुष्पकुमारी राई र परिवारजन।

‘केहीदिन अघि मन्त्री लालबाबु पण्डित आउनु भएको थियो, सरकारले खर्च ब्यहोर्छ चिन्ता लिनुपर्दैन भन्नु भएको छ। तर, कहिले?’ पुष्पकुमारी राई सोध्छिन्। “हामीलाई छोरालाई अस्पतालबाट लैजानुपर्ने दिन नजिकिँदैछ तर, साथमा पैसा नहुदा के गरी खर्च टार्ने पिरलो छ”, उनी भक्कानिँदै पीडा पोख्छिन्।

उदयपुरबाट मोरङमा आयोजित एक कार्यक्रममा सहभागि हुन आएका कांग्रेस प्रतिनिधिसभा सदस्य नारायण खड्का पनि बिहीबार अस्पताल पुगे। ‘उहाँ पनि आउनु भएको थियो, सोध्नु भयो। प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमा कुरापनि गर्नुभयो। उहाँहरुले राम्रै सोच्नु भएको होला तर, थैलो रित्तो हुदाको पीडा अर्कै हुँदोरहेछ’, मलिन अनुहार बनाउँदै उनले गुनासो गरिन्।

यसैगरी प्रदेश नम्बर एक कांग्रेस संसदीय दलका नेता राजीव कोइराला तथा उपनेता केदार कार्की पनि सन्दीपको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार अस्पताल पुगे। खाजा खान केही रकम पुष्पकुमारीको हातमा राख्दै प्रोत्साहन दिए, ‘उनको खर्च प्रदेश सरकारले ब्यहोर्छ। चिन्ता नलिनुस्।’

कार्कीले देशसञ्चारसँग भने, ‘सन्दीपको खर्च पूर्णरुपमा प्रदेश सरकारले तिर्ने कुरामा हामी पहल गर्नेछौँ। हामीलाई आशा छ प्रदेश सरकारले सन्दीपको खर्च पूर्णरुपमा तिर्ने ब्यवस्था गर्नेछ।’

घाइते बालकको स्वास्थ्य अवस्था बुझ्न प्रदेशका मन्त्रीपनि अस्पताल पुगेका छन्। तर, सबैबाट आश्वासन नै मिलेको छ। आश्वासनले मात्र काम गर्न गाह्रो छ, चिकित्सक कैलाश श्रेष्ठ भन्छन्। ‘सन्दीपलाई हेर्न दिनहुँ मान्छे आउँछन् र आश्वासन दिन्छन्। अस्पतालले गर्ने काम गरिरहेको छ। तर घाइते परिवारलाई केही रकम उपलब्ध गराए, बस्न र खानको ब्यवस्था गरिदिएको भए केही सहज हुने थियो। तर, त्यो हुन सकेको छैन,’ चिकित्सक श्रेष्ठको गुनासो छ।

विपन्न परिवारमा परेको बज्रपात एकातिर त छँदैछ तर, विरामीसँग तस्बिर खिचेर समाजिक सञ्जालमा राख्दैमा औचित्य नहुने बुझेका चिकित्सक श्रेष्ठ भन्छन्, ‘राई परिवारलाई औषधीमा लागेको खर्च तिर्न गाह्रो छ। यहाँ बस्दा दैनिक खानपिनमा समेत समस्या छ। यसतर्फ सहयोग गरे हुन्थ्यो।’

त्यसैगरी, घरमा दिदी सुनिता र बहिनी सुजातापनि सन्दीपको घर आउने बाटो कुरिरहेकाछन्। स्थानीय लालीगुराँस स्कुलमा कक्षा ६ मा अध्ययनरत सन्दीप स्वयं पनि निद्रा खुलेसँगै घर कहिले जाने भनेर आमालाई सोध्ने गर्छन्। उच्चशिक्षा हासिल गर्ने सपना बुनेका सन्दीपको शरीरबाट बमका छर्रा हराउन केही समय लाग्नेछ। पूर्णरुपमा ठीक हुन उनलाई समय लाग्ने अस्पतालको भनाइ छ। बम कसले किन राख्यो प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको छ। उक्त विष्फोटको जिम्मा हालसम्म कसैले नलिएको गाईघाटस्थित माओवादी केन्द्रका स्थानीय नेता किरण राई भन्छन्।

तर, बम विष्फोटमा परी घाइते भएका सन्दीपको अवस्था जोखिमपूर्ण नै छ। यसतर्फ न केन्द्र सरकार, न प्रदेश सरकार कसैको गम्भीर चासो पुगेको देखिँदैन। सन्दीपको अवस्था बुझ्न आउनेको कमी पनि देखिँदैन अस्पतालमा तर, खर्च अभावमा रहेको परिवारलाई आश्वासनको सहयोग मात्र प्राप्त हुदै गएको छ।

बैशाख ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्