वैदेशिक रोजगारमा जानेको संख्या घट्यो, गन्तव्य पनि फेरियो

काठमाडौँ– वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ। २०७३ सालमा भन्दा २०७४ सालमा ३५ हजार ५ सय ४० जना कम नेपाली वैदेशिक रोजगारीमा गएका हुन्। यस्तै यो वर्ष नेपालीको रोजाइको देश समेत फेरिएको छ।

अघिल्लो वर्ष तेस्रो गन्तव्यमा रहेको मलेसिया २०७४ सालमा पहिलो रोजाइ बनेको छ। २०७३ सालमा सबैभन्दा बढी कतार गएकोमा गत वर्ष (२०७४) मा मलेसिया जाने नेपालीको संख्या बढी छ।

२०७४ सालमा ३ लाख ४२ हजार ४३ जना नेपाली म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। २०७३ सालमा ३ लाख ७७ हजार ५ सय ८३ जना संस्थागत स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए।

२०७४ सालमा सबैभन्दा बढी १ लाख १६ हजार ५ सय ७२ जना नेपाली मलेसिया गएका हुन्। गत वर्ष मलेसिया तेस्रो नम्बरमा थियो। २०७३ सालमा मलेसिया ८२ हजार ४ सय ३५ जना गएका थिए।

अघिल्लो वर्ष सबैभन्दा बढी १ लाख २३ हजार ८ सय ४३ जना कतार गएका थिए। यस वर्ष कतार जानेको संख्या समेत घटेको छ। ९७ हजार ७ सय ५० जना मात्रै २०७४ सालमा कतार गएका छन्।

साउदी जाने नेपालीको संख्या २०७४ सालमा झण्डै आधाले घटेको छ। अघिल्लो वर्ष ९५ हजार ९ सय ४ जना पुगेको साउदीमा २०७४ सालमा ५४ हजार ३० जना मात्रै गएका छन्। गत वर्षभन्दा ४१ हजार ८ सय ७४ जना कमी हो।

खाडीका देश मलेसिया र साउदी जाने नेपालीको संख्यामा कमी आए पनि युएई जाने नेपालीको संख्या भने केही बढेको छ। अघिल्लो वर्ष ४८ हजार १ सय ३६ जना गएको युएईमा २०७४ मा ५२ हजार २ सय ६८ जना गएका छन्।

तर, पुनःश्रम स्वीकृति लिएर जाने नेपालीको संख्या भने सबैभन्दा बढी कतारमै छ। २०७४ सालमा ८० हजार ३ सय १४ जना नेपाली पुनः श्रमस्वीकृति लिएर कतार गएका छन्। यस वर्ष पहिलो रोजाइमा परेको मलेसिया पुनः श्रम स्वीकृति लिनेको संख्यामा भने चौथो स्थानमा छ। मलेसिया ३० हजार ७ सय ७१ जना मात्रै गएका छन्।

साउदी ६६ हजार १ सय ६७ जना र युएई ५४ हजार १ जना पुनःश्रमस्वीकृति लिएर गएका छन्। पुनः श्रमस्वीकृति लिएर जाने नेपालीको संख्या यो वर्ष २ लाख ५३ हजार ९ सय ३७ जना छ। यो पहिले गएका नेपालीले श्रम स्वीकृतिको म्याद सकिएपछि ऋण गर्नेको संख्या हो।

विगत ५ वर्षदेखि वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घटिरहेको छ। खाडीका देशमा देखिएको समस्यापछि विकल्पमा नेपालीको रोजाइ मलेसिया बन्न थालेको छ। पछिल्लो समय खाडीका देश साउदी र कतारमा समस्या देखिएपछि ती देश जाने नेपालीको संख्या घटेको छ।

यहाँका कतिपय अन्तर्राष्ट्रिय कम्पनी बन्द भएका छन् भने कतिपय बन्द हुने क्रममा छन्। उजुरीको अवस्था हेर्दा खाडीमा पछिल्लो समय समस्या थपिँदै गएको अनुमान गर्न सकिने वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले बताए।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले भने खाडीका देशमा देखिएको समस्या मात्रै गन्तव्य परिवर्तनको कारण नभएको बताए । नेपाली कामदार लैजाँदा अनेक झन्झट लाइदिएका कारण यो संख्या घटेको उनको भनाइ छ। फ्रि भिसा, फ्रि टिकटको निर्णय पछि वैदेशिक रोजगारीको क्षेत्रमा संकट देखिन थालेको गुरुङले बताए।

बैशाख ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्