
विश्व चर्चित स्वीडिस डिजे अविचीको निधन भएको छ । विश्व चर्चित डान्स म्युजिक स्टार डिजे अविची ओमानमा मृत अवस्थामा भेटिएका हुन् ।
२८ वर्षका अविचीका वेक मि अप, लेभल्स तथा लोन्ली टुगेदर जस्ता चर्चित गीत छन्, जसलाई डान्स क्लबको एन्थम अर्थात आधिकारिक गीतको रुपमा लिने गरिएको छ ।
अविचीका प्रतिनिधिले उनको निधनको पुष्टि गर्दै एक वक्तव्यमा भनेका छन्, ‘निकै दुःखका साथ भन्नु परेको छ कि अविचीको नामले चिनिएका टिम बर्गलिङ्गको निधन भएको छ । अब उनी हाम्रो माझमा रहेनन् ।’
परिवार अहिले गहिरो दुःख र अपसादमा रहेको र यो दुःखको क्षणमा उनीहरुको गोपनियता वा वैयक्तिक जीवनको सम्मान सबैले गर्नेमा आशावादी रहेको वक्तव्यमा उल्लेख गरिएको छ ।
निधनको कारण खुलाइएको छैन र अविचीका प्रतिनिधिले अर्को वक्तव्य पनि नआउने बताएका छन् ।
इलेक्ट्रोनिक डान्स म्युजिक (इडिएम) स्टार अविचीले टुरका बेला एक रातको २ लाख ५० हजार अमेरिकी डलर लिने गरेको थिए । उनमा विगतमा केही स्वास्थ्य समस्या देखिएका थिए ।
सन् २०१४ मा उनको गल ब्लाडर र एपेन्डिक्सको शल्यक्रिया गरिएको थियो । सन् २०१६ मा स्वास्थ्य समस्याकै कारण उनले आफ्नो टूर बन्द गरेका थिए ।
उनले त्यसबेला भनेका थिए, ‘निकै भाग्यमानी हुँ कि मैले विश्वभरको भ्रमण गरेँ र त्यहाँ प्रस्तुति दिने मौका पाएँ । तर अब मसँग आम मानिसको रुपमा बाँच्नका लागि निकै कम समय बाँकी छ ।’ सन् २००८ मा करिअर सुरु गरेका अविची त्यसयता विश्वका चर्चित डिजे हुन् ।
उनको ‘स्पोटिफाई’ ११ बिलियन भन्दा धेरै पटक स्ट्रिमिङ्ग भएको छ । उनी दुई पटक ग्रामी अवार्डका लागि मनोनयनमा परेका थिए । रक्सी धेरै पिएका कारण उनमा स्वास्थ्य समस्या देखिएको थियो ।