अलबिदा सुपरस्टार

जीवनको आधा बाटोमै हराए डिजे अविची

तस्बिर : गेट्टी इमेज

स्वीडिस डान्स म्युजिक सुपर स्टार डिजे अविचीको जीवन यात्रा शुक्रबार भौतिक रुपमा टुंगियो । २८ वर्षका अविचीले स्वास्थ्य समस्याका कारण सन् २०१६ देखि म्युजिक टुरबाट सन्यास लिएका थिए ।

तर उनले सिर्जना गरेका संगीत डान्स क्लबमा एन्थम जसरी नै बजिरहेका हुन्थे र बजिरहने छन् । स्वीडिस डिजे अविचीले आफ्नो अलौकिक कौशलले १० वर्षको करिअरमा आउने लामो समयसम्म सम्झिरहने सिर्जना दिएका छन् ।

स्वास्थ्य समस्यासँग जुधिरहेका अविचीको शुक्रबार ओमानको मस्कटमा निधन भएको हो । उनको निधनको खरबले विश्वभरका उनका फ्यान तथा संगीतकर्मीलाई शोकमा डुबाएको छ ।

सामान्य जीवन अवधिको पनि छोटो भागका लागि मात्रै आएका रहेछन् डिजे अविची, तर उनले यहि छोटो अवधिमा पनि लामो भन्दा लामो जीवन बाँच्नेले भन्दा धेरै आफ्ना कमाए । विश्वभरका रंगमञ्च, जहाँ पुगे पनि उनी आफ्नाहरुले घेरिए । यद्यपी जीवनको रंगमञ्चमा उनको भूमिका छोटो मात्रै बन्यो ।

उनले सिर्जिएका सिर्जना अर्बौँ पटक अनलाईनमा स्ट्रिम भए । विश्व संगीतका ठूला सर्जकसँग काम गरे । तर गम्भीर स्वास्थ्य समस्यासँगको उनको संघर्ष असफल भयो । जीवनको बाटोमा उनी आधा तिर नपुग्दै हराए ।

तस्बिर : एएफपी

टिम बर्गलिङ्ग, वास्तविक नाम । तर उनलाई अविचीले विश्वमा चिनायो । सन् १९८९ को सेप्टेम्बर ८ मा स्वीडेनको स्टकहोममा जन्मिएका अविची सुरुदेखि नै लाइमलाइटमा थिए । उनकी आमा एनकी लिडेनले ओस्कार मनोनयन पाएको चलचित्र माइ लाइफ एज ए डग अभिनय गरेकी थिइन् ।

आमा अभिनयमा भए पनि टिमलाई संगीतले तान्यो । उनले एकपटक आफूलाई स्वीडिस पप संगीतको संवेदनशीलताले आकारमा ल्याएको भनेका थिए ।

‘हामी उत्कृष्ट स्वीडिस लोक गीत सुन्दै हुर्कियौँ । जसको मेलोडी राम्रो थियो । हामीमा त्यो नै आएर बस्यो । मलाई लाग्छ यसले सबैलाई नयाँ सोचमा लग्यो होला’

अविचीले भनेका थिए,

‘त्यससँगै हुर्किने क्रममा एरिक प्रिडज (स्वीडिस डिजे तथा संगीतकर्मी) र स्वीडिस हाउस माफिया (स्वीडिस सांगीतिक तथा डीजे समूह) लाई पनि सुनेका थियौँ । त्यसले नै मलाई आफ्नो आकारमा ढाल्यो ।’

तर अविचीको करिअरले मोड लियो, डिजे पेटे टङसँगको भेटपछि । एक दशकअघि एक प्रतिस्पर्धामा सहभागी भएका बेला अविचीको भेट डिजे पेटेसँग भएको हो । त्यसपछि टङले आफ्नै लेवलमा म्यानम्यान सार्वजनिक गरे ।

‘अविचीमा बलियो क्षमता थियो र त्यो छर्लङ्ग देखिन्थ्यो’ टङ सन् २०१४ मा इभिनिङ्ग स्ट्याण्डरसँग भनेका थिए, ‘उ निश्चल छ । मेरो एउटै मात्र दुःख यहि छ कि मैले उसँग लामो समय गाउन सकिन ।’

नयाँ उचाई


सन् २००८ मा सुरु भएको उनको यात्राले उनको नामलाई परिचित बनाएको थियो । तर जब सन् २०११ म लेभल्स गीत आयो अविचीको चर्चा विश्वभर छायो । उनी औपचारिक रुपमा सांगीतक दुनियामा प्रवेश गरेको यहि गीत थियो ।

त्यसपछि अविचीले वेक मि अप, लोन्ली टुगेदर, हेइ ब्रदर जस्ता चर्चित ल्याए, जसलाई डान्स क्लबको एन्थम अर्थात आधिकारिक गीतको रुपमा लिने गरिएको छ ।

सुपरस्टार डिजे


हिट गीत आउने क्रम रोकिएन, त्यसका माध्यम बने हेइ ब्रदर, यु मेक मी, द नाइट्स, वेइटिङ्ग फर लभ जस्ता गीत । अविची विश्वभरका फेस्टिभलमा पहिलो रोजाइमा पर्न थाले ।

उनी इलेक्ट्रोनिक डान्स म्युजिक (इडिएम) स्टार सुपरस्टार बने । फोर्ब्सका अनुसार उनले सन् २०१५ मा विश्वभर गरेका टुरबाट १९ मिलियन अमेरिकी डलर आय गरे ।

विश्व चर्चित स्वीडिस डिजे अविची, जसको वास्तविक नाम टिम टिम बर्गलिङ्ग हो, उनको शुक्रबार २८ वर्षको उमेरमा निधन भएको छ । तस्बिर : रोयटर्स

अविचीले कोल्डप्ले, रिटा ओरा, सिया, लेनी क्राविट्ज, लिओना लुइस र रोब्बी विलिएम्स जस्ता सुपरस्टारसँग कोल्याबोरेसन गरे । यस्तै गएको वर्ष उनले डिस्को लेजेण्ड निल रोड्गर्ससँग सहकार्य गरेको खबर पनि आएको थियो ।

डिजे अविचीले विश्वभर टुर मात्रै गरेनन्, विश्वकपदेखि स्वीडेनका राजकुमारको बिहेमा पनि आफ्नो कला देखाए । उनले विश्वकप फुटबल २०१४ को समापन समारोह तथा स्वीडेनका राजकुमार कार्ल फिलिपको बिहेमा आफ्नो कलामा धेरैलाई नचाए ।

सहयोगी हृदय


अविचीले व्यक्तिगत सुख वा आरामका लागि मात्रै काम गरेनन् । उनले सन् २०१२ मा युएस हाउस फर हंगर टुर गरे । त्यसबाट उनले अमेरिकामा रहेका भोकमरी प्रभावितहरुलाई सहयोग गर्नका लागि १० लाख अमेरिकी डलर जुटाए ।

‘जब मैले पैसा कमाउन थालेँ, त्यसपछि थाहा पाएँ मलाई यो आवश्यक नै छैन’

एकपटक उनले भनेका थिए,

‘पैसासँग जब मानिसको पहुँच पुग्छ त्यसपछि आवश्यक नै पर्दैन, सबैभन्दा संवेदनशील, मानवीय र पूर्णरुपले स्वीकार्य त्यो हुनेछ जब पैसा आवश्यक परेकालाई दिइन्छ वा उनीहरुका लागि खर्च गरिन्छ ।’

उनले भोकसँगै अरु समस्याका लागि पनि सहयोग गरेका छन् । सन् २०१५ मा अविचीले मानव तस्करी र ग्याङ्ग हिंसा पीडितका लागि पनि काम गरे । उनले आफ्ना गीत तथा भिडियो त्यस्ता कुरालाई समेटे । उनले भनेका थिए, ‘सबै गीतमा मैले भन्न चाहेका कथाहरु छन् ।’

रक्सीको लत र स्वास्थ्य समस्या


अविचीको स्वास्थ्यमा समस्या देखिन थालेको सन् २०१२ देखि हो । त्यसबेला उनले धेरै रक्सी पिएका कारण प्यान्क्रियाटाइटिसका कारण ११ दिन अस्पतालमा बिताउनु परेको थियो ।

‘रक्सी पिउनु मेरा लागि रुटिङ्ग जस्तै बन्यो, तर टुर र रक्सी पिउनु सँगै गर्न सकिन्नथ्यो’ उनले स्ट्याण्डरसँग भनेका थिए, ‘यस्तो अवस्थामा जब वर्षको ३२० शो गरिन्छ ।’

सन् २०१३ मा उनी फेरि अस्पताल भर्ना भए र गल ब्लाडर फाल्नु पर्छ भनेर डाक्टरले सल्लाह दिए । तर उनले अस्वीकार गरे र आफ्नो टुरलाई निरन्तरता दिए । तर सन् २०१४ मा उनी शल्यक्रिया गर्न बाध्य भए र उनको गल ब्लाडर र एपेन्डिक्स एकै साथ फालियो ।

‘मैले एक महिनाको बिदा लिएँ, तर त्यो बिदा जस्तो थिएन’, उनले बिलबोर्डसँग भनेका थिए, ‘म दिनको १२ घण्टा स्टुडियोमा हुन्थेँ र त्यसपछि टुरमा । यो उद्योगमा नाइँ भन्न गाह्रो छ । सबै चिज बजाउने मन हुन्छ र सबै ठाउँमा पुग्ने पनि ।’

अनि रोकियो,


सन् २०१६ मा स्वास्थ्य समस्याकै कारण उनले आफ्नो टूर बन्द गरेका थिए । उनले त्यसबेला भनेका थिए, ‘निकै भाग्यमानी हुँ कि मैले विश्वभरको भ्रमण गरेँ र त्यहाँ प्रस्तुति दिने मौका पाएँ । तर अब मसँग आम मानिसको रुपमा बाँच्नका लागि निकै कम समय बाँकी छ ।’

सन् २००८ मा करिअर सुरु गरेका अविची त्यसयता विश्वका चर्चित डिजे हुन् । उनको ‘स्पोटिफाई’ ११ बिलियन भन्दा धेरै पटक स्ट्रिमिङ्ग भएको छ । उनी दुई पटक ग्रामी अवार्डका लागि मनोनयनमा परेका थिए ।

इलेक्ट्रोनिक डान्स म्युजिक (इडिएम) स्टार अविचीले टुरका बेला एक रातको २ लाख ५० हजार अमेरिकी डलर लिने गरेको थिए ।

सन् २०१६ मा टुरको अन्त्य गर्ने निर्णय लिए पनि भनेका थिए, ‘मेरो व्यक्तिगत जीवन फेरि फर्किएको छ । धेरै समयपछि मैले आफैलाई केन्द्रमा राख्न सकेको छु । यो निर्णय मेरा लागि निकै आवश्यक तर कठिन थियो ।’

टिमले आफ्नो स्टेज नेमका रुपमा रोजेको अविची बुद्धिस्ट फिलोसोपीबाट प्रभावित छ । बुद्धिस्ट फिलोसोपीमा अविचीको अर्थ ‘द लोवेस्ट लेभल अफ हेल’ हुन्छ ।

तर उनको नामको अर्थ, हेलको लोवेस्ट लेभल रहे पनि उनले दिएको कर्म, यदि हुन्छ भने स्वर्ग, त्यसको माथिल्लो लेभलको छ ।

  • एजेन्सीहरुको सहयोगमा
बैशाख ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्