पार्टी एकता सम्मानजनक रुपमा हुनुपर्छ : माओवादी केन्द्र

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरु । तस्बिर सौजन्य : माआवादी केन्द्रको सचिवालय

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा एमालेसँग हुने तयारी रहेको पार्टी एकताका बारेमा छलफल भएको छ ।

आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा प्रचण्डले दुवै पार्टीका कार्यादलले दुवै अध्यक्षलाई बुझाएको प्रतिवेदनमा भएको छलफलबारे बताएका थिए ।

बैठकमा सैद्धान्तिक, राजनीतिक, सांगठनीक विषयमा समझदारी कायम गर्ने कुरा सकारात्मक ढंगले अघि बढिरहेको अध्यक्षले बैठकमा जानकारी गराए । यसमा अझै थप छलफल जारी रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।

अहिलेको राष्ट्रको आवश्यकता, दुवै पार्टीका नेता, कार्यकर्ता र नेपाली जनताले अनुमोदन गरेको पार्टी एकता सम्पन्न गर्ने कुरा सुनिश्चित भएको बैठकको निश्कर्ष निकालेको नेताहरुले बताएका छन् ।

समानता, सम्मानजनक र न्यायोचित आधारमा पार्टी एकता सम्भव हुने अध्यक्ष प्रचण्डले बताएका एक नेताले जानकारी दिए ।

बैठकमा सहभागी नेताहरुले पार्टी एकता सम्मानजनक रुपमा हुनुपर्ने अध्यक्षलाई सुझाव दिएका थिए ।

बैशाख ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्