एकताको सन्देश दिन आयोजित कार्यक्रमको सुरुमै विवाद

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको सन्देश दिन भन्दै आयोजना गरेको कार्यक्रममा विवाद भएको छ । राष्ट्रिय सभागृहमा आयोजना गरिएको संयुक्त कार्यक्रमको ब्यानरमा लेनिन र मार्क्सको तस्बिर नराखिएको भन्दै कार्यकर्ताले विरोध गरेका हुन् ।

कार्यकर्ताको विरोधपछि ब्यानर हटाइएको छ । माओवादी नेता वर्षमान पुनले विरोध गर्नेलाई संयम हुन भन्दा पनि नमानेपछि ब्यानर हटाइएको हो ।

एमाले र माओवादीले कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर पार्टी एकताको सन्देश दिन भन्दै संयुक्त कार्यक्रम गर्दै छन् । कुरो मिलेको भए आइतबार वाम एकता अर्थात देशका दुई ठूला कम्युनिष्ट पार्टी, नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकताको घोषणा हुने थियो ।

पार्टी एकताका लागि पूर्वनिर्धारित मिति हो, वैशाख ९ गते । दुवै पार्टीले केही कुरा मिल्न बाँकी रहेको भन्दै एकता घोषणाको मिती पछि सरेको बताएका छन् ।

तोकिएको मितीमा एकता घोषणा नहुने भएपछि राजनीतिक बृत्तमा एमाले–माओवादी एकता संकटमा परेको वा एकताले आकार लिनै नपाउने हो कि भन्ने आशंका उब्जिएका बेला आइतबार एमाले र माओवादीले एकताको सन्देश दिने तयारी गरेका छन् ।

बैशाख ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्