राप्रपा केन्द्रीय परिषद्को बैठक वीरगन्जमा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय परिषद्को बैठक आगामी जेठ पहिलो हप्ता वीरगन्जमा गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले परिषद्मा केन्द्रीय कार्यसमितिका सदस्य, सांसद, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, महानगरपालिका र उपमहानगरपालिकाका अध्यक्ष र भ्रातृ संगठनका केन्द्रीय अध्यक्ष गरी करिब ६ सयलाई सहभागी गराउने निर्णय गरिएको प्रवक्ता भुवन पाठकले जानकारी दिए।

परिषद् बैठकमा राजनीतिक तथा वैचारिक कार्यदिशासम्बन्धी कार्यपत्र अध्यक्ष थापा, संगठनात्मक सुदृढीकरण कार्ययोजना महामन्त्री एवं संगठन विभागका प्रमुख राजेन्द्र लिङ्देन र प्रशिक्षणसम्बन्धी कार्ययोजना प्रशिक्षण विभाग प्रमुख एवम् प्रवक्ता पाठकले प्रस्तुत गर्ने निर्णय भएको छ।

विधानमा समसामयिक र आवश्यक संशोधन गर्न पार्टीका केन्द्रीय सदस्य गोविन्द खनियाँको संयोजकत्वमा विधान संशोधन सुझाव समिति गठन गर्ने निर्णय गरिएको छ। उक्त समितिको सदस्यमा महामन्त्री डा धवलशम्शेर राणा, केन्द्रीय सदस्य रामबहादुर शाह, अम्बरबहादुर विष्ट र राजु बस्नेत हुन।

परिषद्मा विधान संशोधनसम्बन्धी प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक खनियाँले प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।निर्वाचन परिणामको समीक्षासम्बन्धी प्रतिवेदन केन्द्रीय सदस्य डा विष्णु भण्डारीले प्रस्तुत गर्नेछन्।

बैठकले मुलुकको वर्तमान परिस्थितिको गम्भिरता, राष्ट्रियता, प्रजातन्त्र र हिन्दूत्व माथिको सम्भावित खतरालाई दृष्टिगत गर्दै सम्पूर्ण राष्ट्रवादी, प्रजातन्त्रवादी शक्ति र विगतमा राप्रपा पृष्ठभूमिमा रहेका सबैलाई एकताबद्ध हुन आग्रह गरेको छ।

बैशाख ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्