नगर प्रमुख कुटेको भन्‍दै स्थानीय तहको काम ठप्प

भक्तपुर- मध्यपुरथिमि नगरपालिकाको प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको सांघातिक आक्रमणको विरोध गर्दै आज भक्तपुरका तीनवटा नगरपालिकाले काम ठप्प पारेका छन्।

मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले विज्ञप्ति जारी गर्दै प्रमुख श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै आज दिनभर नगरपालिका र वडा कार्यालयको काम ठप्प पारेका हुन्।

मध्यपुरथिमि नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले तीनवटै नगरपालिकाले आक्रमणको विरोध गर्दै कामकाज ठप्प पार्ने निर्णयअनुसार दिनभर काम बन्द गरेको बताए।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाउँदै नगरपालिकाले आक्रमणकारीलाई कारबाही गर्न, नगरपालिकामा सुरक्षा व्यवस्था गर्न र नगरप्रमुखको सुरक्षाको व्यवस्था गर्न समेत माग गरेको छ।

बैशाख ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्