सार्वजनिक यातायातबाट १२ बालकको उद्धार

काठमाडौँ-काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक यातायातबाट चालकको सहयोगीका रुपमा कार्यरत १२ बालकको उद्धार गरिएको छ।

श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाको सहकार्यमा काठमाडौँ उपत्यकामा गरेको अभियानअन्र्तगत आज १६ वर्ष मुनिका १२ जना बालकको उद्धार गरिएको हो।

बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ अनुसार ती बालकको उद्धार गरिएको हो।उक्त ऐनअनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउनु हुँदैन।

सार्वजनिक यातायात (बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधन) का साधनमा बालश्रमरहित बनाउने अभियानको आइतबार चौथो दिन स्वयम्भू चोकबाट १२ बालकको उद्धार गरिएको हो।

श्रम कार्यालय बागमतीका कार्यालय प्रमुख उदयकुमार गुप्ताको नेतृत्वमा सुरु गरिएको सो अभियानमा आइतबार १९१ गाडीको अनुगमन गरिएको थियो।

बैशाख ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्