मोहमद सालहले जिते पिएफए वर्ष खेलाडी अवार्ड

लिभरपुलका मोहमद सालहले प्रोफेसनल फुटबलरस् एसोसिएसनले प्रदान गर्ने प्लेयर अफ दि इयर अर्थात वर्ष खेलाडी २०१७–१८ अवार्ड जितेका छन् । २५ वर्षका इजिप्टियन सालहलाई एसोसिएसनले पिएफए प्लेयर अफ दि इयर अवार्ड प्रदान गरेको हो ।

लिभरपुलका फरवाड सालहले म्यानचेस्टर सिटीका केविन डी ब्राउन, टोटनह्यामका ह्यारी केन, म्यानचेस्टर सिटीका लिरोय साने, म्यानचेस्टर सिटीकै डेविड सिल्भा र म्यानचेस्टर युनाइटेडका डेविड डी जियालाई पछि पार्दै अवार्ड जितेका हुन् ।

प्रिमियर लिगमा खेल्ने खेलाडीको मतका आधारमा सालहले अवार्ड पाएका हुन् ।

म्यानचेस्टर सिटीका लिरोय सानेले युवा वर्ष खेलाडी अवार्ड पाए । यस्तै चेल्सीकी फ्रान किर्बीले महिला वर्ष खेलाडीको अवार्ड जितेकी छन् ।

सालहले अवार्ड पाउँदा आफू निकै खुशी रहेको बताए । उनले भने, ‘यो ठूलो सम्मान हो र विशेषगरी साथी खेलाडीको मतका आधारमा अवार्ड पाउनु झन भव्य छ । म खुशी छु र सँगै गर्व पनि लागेको छ ।’

चेल्सीमा हुँदा आफूले केही देखाउने मौका नपाएको सालहले बताए । अहिलेको प्रदर्शन र उपलब्धीले आफू फेरि फर्किन सक्छु र सबैलाई आफ्नो खेल कौशल देखाउन सक्छु भन्ने प्रमाणित भएको उनको भनाई छ । चेल्सी छोड्दा र फेरि प्रिमियर लिगको अर्को क्लब लिभरपुल आउँदा आफू अर्कैै बनेर आएको सालहको भनाई छ ।

लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप्पले सालहको प्रशिक्षक हुन पाउँदा आफू निकै खुशी रहेको बताए । अहिलेसम्मको यात्रा रोमाञ्चक रहेको र अझै लामो बाटो हिँड्न भने बाँकी नै रहेको उनले बताए । सालहले यो सिजन अहिलेसम्म प्रिमियर लिगका ३३ खेलमा ३१ गोल गरिसकेका छन् ।

लण्डनमा भएको अवार्ड समारोशमा पिएफएले गएको जनवरीमा निधन भएका वेष्ट ब्रोम र इंग्ल्याण्डका पूर्व फरवाड सिरेल रिजेसलाई पिएफए मेरिट अवार्ड प्रदान गरेको थियो । यस्तै यहि वर्ष फुटबलबाट सन्यास लिएकी इंग्ल्याण्डको महिला टिमकी पूर्व कप्तान केसी स्टोनीले पिएफए स्पेशल अचिभमेन्ट अवार्ड पाइन् ।

बैशाख १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्