४० वर्षपछि सुरु भयो बाग्मती तीर्थयात्रा

काठमाडौं – विश्व सम्पदा सूचिमा सूचिकृत पशुपतिनाथ मन्दिर परिसरबाट ४० वर्षपछि सोमबारदेखि बाग्मती तीर्थयात्रा सुरु भएको छ ।

नेमुनिको पालादेखि सुरु भएको विश्वास गरिने बाग्मती तीर्थयात्रा विसं २०३४ पछि हुन सकेको थिएन । सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पञ्चामृतसहित पूजा एवं रुद्रीपाठ गरेपछि यात्रा सुरु भएको हो ।

बाग्मतीको कटुवाल दहबाट बाग्द्वारसम्म हुने १७ दिने बाग्मती तीर्थयात्रा यस वर्ष सात दिनमात्र गरिनेछ । यसअघि पैदल हुने यात्रा यसपटक गाडीमा गरिँदैछ । कटुवाल दहबाट बाग्द्वारसम्मका १६५ तीर्थस्थलमा पैदल हिँडेर स्नान, पूजाआजा गर्ने विधिलाई बाग्मती तीर्थयात्रा भनिन्छ । तीर्थयात्रा वैदिक र तान्त्रिक मिश्रित विधिमा गरिन्छ ।

बाग्मती प्रदूषित बन्दै गएपछि बाग्मती तीर्थयात्रा रोकिएको थियो । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, गायत्री परिवारलगायत सामाजिक संस्थाको सक्रियतामा विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । महाअभियानले सफाइमा जागरण ल्याए पनि विसं २०३४ अघिको अवस्थामा बाग्मती पुग्न भने समय लाग्ने देखिन्छ ।

बाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिँदै जाने क्रममा यस वर्षदेखि पशुपति क्षेत्र विकास कोषले यात्रालाई पुनः सञ्चालन गरिएको सदस्य सचिव डा प्रदीप ढकालले बताए ।

विसं २०३४ सम्म वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म १७ दिन बाग्मती यात्रा गरिन्थ्यो । १७ दिने यात्राका क्रममा कटुवाल दहबाट वाग्द्वारसम्म १६५ तीर्थमा स्नान एवं पूजाआजा गर्ने विधि रहेको यात्राका मूल गुरु मदन भट्टले जानकारी दिए ।

पशुपति परिसरमा सुरु हुने यात्रा पहिलो दिन दक्षिणकालीको कटुवाल घाटमा पुग्ने छ। पहिलो दिन कटुवाल घाटमा पुजा पछि शेषनारायण रात्री बिश्राम गर्ने कार्यक्रम छ।

दोस्रो दिन बिहान शेषनारायणबाट सुरु भएको यात्रा शंखमूलघाटमा आएर रात्रि बिश्राम हुनेछ।

तेस्रो दिन शंखमूल घाटबाट सुरु भएको यात्रा पशुपति (आर्य तीर्थ) मा रात्रि बिश्राम हुनेछ।

चौथों दिन पशुपतिबाट सुरु भएको यात्रा सुन्दरीजल रात्री बिश्राम हुनेछ।

पाँचौं दिन सुन्दरीजलबाट सुरु हुने यात्रा नागमति, ग्याल्मति, हुँदै सुन्दरीमाईको दर्शन गरेर बागद्वारमा रात्री बिश्राम हुनेछ।

छैंठो दिन बागद्वार हुँदै बज्रयोगिनीमा बास बस्ने कार्यक्रम रहेको छ।

अन्तिम दिन बज्रयोगिनीबाट पशुपति पुग्दै यात्रा समापन हुनेछ।

बैशाख १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू