कर्णाली प्रदेश : नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

सुर्खेत – कर्णाली प्रदेश सरकारको दुई महिने नीति तथा कार्यक्रम सोमबार सार्वजनिक हुँदैछ । प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्न लागिएको हो ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले संसदमा नीति तथा कार्यक्रम पेश गर्नेछन् । सरकारको तर्फबाट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्रमुख खनाल समक्ष आइतबार नै नीति तथा कार्यक्रम पेश गरेका छन् । शनिबार बसेको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम संसदमा पेश हुन लागेको हो ।

मन्त्रीपरिषद बैठकद्धारा स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ । सोमबार बस्ने कर्णाली प्रदेशसभा बैठकमा प्रदेश प्रमुख खनालद्धारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसुचि रहेको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने सम्बन्धमा समेत मुख्यमन्त्री र प्रदेश प्रमुखबिच छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब बुढाथोकीले बताए ।

सरकारले बजेटको पर्याप्ततालाई मध्यनजर गरी कर्णालीका सम्भावना तथा समस्या समाधान गर्ने विषयलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएको छ ।

सरकारलाई संघीय सरकारले चालु आर्थिक वर्षमा खर्च गर्नका लागि १ अर्ब २ करोड ५ लाख रूपैयाँ उपलब्ध गराएको छ । त्यसकै आधारमा दुई महिनाका लागि नीति कार्यक्रम तयार गरिएको हो ।

स्रोतका अनुसार प्रदेश समृद्धिको मुख्य आधार मानिएको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, औद्यागिकरण लगायतका योजना नीति तथा कार्यक्रममा समावेस गरिएको छ ।

बैशाख १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्