काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेकी छन् । विषेश केही नभए पनि सोमबारको दिन पारेर उनी पशुपतिनाथ मन्दिरमा पूजाको लागि गएको बताइएको छ ।

राष्ट्रपति भण्डारीले आधा घण्टा लगाएर पञ्चामृत पूजा गरेकी हुन् । भण्डारीले व्यक्तिगत रुपमा पूजा गरेकी हुन् । पहिलो पटक राष्ट्रपति भएपछि उनले यसरी नै पशुपतिमा पूजा गरेकी थिइन् ।

अहिले दोस्रो पटक राष्ट्रपति बनेपछि पनि उनले पशुपतिमा पूजा गरेकी हुन् । पूजा सकेर उनले पशुपति विकास कोषमा पनि गएकी थिइन् ।

कोषको कार्यालयमा कोषका पदाधिकारीले राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्रमा भएका काम, त्यसको प्रगति र आगामी योजनाका बरोमा जानकारी गराएका थिए ।

कोषका पदाधिकारीले ब्रिफिङ्गपछि राष्ट्रपति भण्डारीले पशुपति क्षेत्र विश्वका हिन्दुको आस्थाको केन्द्र र नेपालको ठूलो सम्पदा रहेकाले यसको महिमा अझ उचो हुने गरी काम गर्न आग्रह गरिन् । राष्ट्रपति कोषको कार्यालयमा झण्डै आधा घण्टा बसेकी थिइन।