पूर्वमा चढ्नु पर्दैन थोत्रा बस, रोजी रोजी नयाँ बस

सरकारले २० वर्षे पुराना सवारी साधन विस्थापित गर्ने र यातायात क्षेत्रमा सिन्डिकेट प्रणाली खारेज गर्ने निर्णय लिएसंगै पूर्वको यातायात क्षेत्रले काँचुली फेर्न थालेको छ ।
विशेषगरी लामो दूरीमा नयाँ र चिटिक्क परेका बसहरु सञ्चालनमा आउन थालेका छन् । विराटनगर तथा धरानदेखि पूर्वी नाका काँकडभिट्टासम्मको यात्राका लागि यातायात सेवा प्रा.लि. खुल्ने क्रम बढेको छ । त्यस्ता सुविधा सम्पन्न गाडीहरु यात्रुको रोजाइमा पर्न थालेका छन् ।
यातायात प्रालि खुलेसँगै यात्रुलाई भने सहज महसुस हुन थालेको छ । हाल विराटनगर तथा धरानदेखि काँकडभिट्टासम्मको यात्राका लागि आधा दर्जन भन्दा बढी यातायात प्रा. लि. खुलेका छन् ।
काँकरभिट्टासम्मको दूरीका लागि विगतमा ६ देखि ७ घण्टाको समय लाग्ने गरेकोमा हाल तीन घण्टामा यात्रा टुङ्गिने सूर्योदय यातायात प्रा. लि. विराटनगरका प्रमुख राजु धमलाले बताए ।
धमलाले विगत झैँ यात्रुले यात्राका क्रममा धेरै समय कुर्नुपर्ने अवस्था नरहेको बताए । यातायात प्रा.लि खुलेसँगै प्रतिस्पर्धापनि उत्तिकै बढेको धमलाको भनाई छ ।
तर सडकको अवस्था नाजुक रहेकाले भनेजस्तो सेवा दिन नसकिएको उनले बताए ।
यातायात प्रा.लि. खुले पनि सडक समस्याका कारण यातायात सेवा खर्चिलो बन्दै गएको व्यवसायीको भनाई छ । विराटनगरबाट पूर्व जानेक्रममा इटहरीसम्म ठाउँ ठाउँमा सडक खराब रहेको छ ।
हाल विराटनगरबाट कम्तिमा १ सय ५० वटा सवारी साधन चल्ने गरेका छ । जसमा सगरमाथा, सूर्योदय, नागरिक, हिमशिखर, जनसेवा, साझा लगायत यातायात प्रा.लि.ले गुणस्तरीय सेवा पुर्याइरहेका छन् ।
प्रा. लि. द्वारा सञ्चालित बसहरुमा यात्रुको सुरक्षालाई ध्यानमा राखी सिसिटिभी क्यामरासमेत जडान गरिएका छन् । फराकिला सिट तथा फोहोर फाल्नका लागि डस्टविनको समेत बसहरुमा व्यवस्था गरिएको नागरिक यातायात प्रालिका अध्यक्ष लक्ष्मी उप्रेतीले जानकारी दिए ।
नेपाल सरकारको नियम अनुसार आरक्षण सिटको समेत उक्त बसहरुमा व्यवस्था गरिएको छ । अशक्त तथा बृद्ध बृद्धाका लागि भनेर बसमा चड्नका लागि होचो सिँढीको व्यवस्था गरिएको व्यवसायीहरुले बताएका छन्।
यात्राका क्रममा यात्रुको ज्यान गए पाँच लाख रुपैयाँ र घाइतेका लागि तीन लाख रुपैयाँसम्मको विमा समेत गरिएको अर्का व्यवसायी राजेन्द्र रिजालले बताए । उनले भने, ‘समयको मागसँगै हामीले सुविधायुक्त बस भित्र्याएका हौं ।’